ट्रायल पास गरेपछि अब लाइसेन्स बोक्न नपर्ने, नागरिक एपमा देखाए पुग्ने
रासंसा/काठमाण्डौ, कार्तिक ०३,
मुलुकमा सरकारले सवारी चालक अनुमतिको लागि ट्रायल पास गरेपछि लाइसेन्स कार्ड नबोक्दा पनि हुने व्यवस्था गरेको छ। नागरिक एपमार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी गराएका छन्। ‘सवारी चालक अनुमतिको लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको छ। नागरिक एपमार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने छ।’ आज सामाजिक सञ्जालमार्फत ओलीले भनेका छन्, ‘सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था गरिएको छ। यसले सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ भने सवारी नियम उल्लंघनमा जरिवाना तिर्दा हुने झन्झट हटेको छ।’ उनले सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था गरिएको जानकारी गराए। ओलीका अनुसार आइतबारबाट बागमती प्रदेश यातायात व्यवस्था कार्यालयबाट परीक्षणका रूपमा यो व्यवस्था सुरु हुने जानकारी दिए। ओलीले भनेका छन्, ‘नागरिक एपमा अरु सेवा पनि थप्ने तयारी गरिएको छ। कुनै पनि कामको लागि लाइन बस्नु पर्ने समस्याबाट मुक्त गर्ने तयारीमा हामी लागेका छौं। राज्यले नागरिकलाई छिटो सेवा प्रवाहमा यसले सहयोग पुग्नेछ भन्ने हामीले आशा राखेका छौँ।’