जजिरा र फ्लाई दुबईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्तिकबाट उडान गर्ने, थाइ एयर एशियाको उडान सुरु हुने मिति टुंगो लाग्न बाँकी

Share to:

रासंसा/रुपन्देही, आश्विन २८,

मुलुकमा रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा,फ्लाई दुबई र थाइ एयर एशियाले अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने भएका छन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले कुवेतको जजिरा, दुवईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबई र थाइल्याण्ड मुख्यालय रहेको थाइ एयर एशियाले गौतमबुद्ध विमानस्थलमा व्यावसायिक उडान गर्न लागेको जानकारी दिए। तिवारीका अनुसार तीन वटै एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिइसकेका छन्। जजिराको विमान बिहान ७ बजेर ३० मिनेटमा भैरहवा आएर ८:३० बजे कुवेत उड्ने तालिका प्राधिकरणबाट अनुमति पाएको विमानस्थलले जनाएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएसँगै जजिराले भैरहवामा २०७९ जेठ २ गते उडान थालेको थियो। सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको छ। सोही योजना अनुरुप अन्तर्राष्ट्रिय एयरलाइन्सले धमाधम उडान गर्न लागेका हुन्। अन्य एयरलाइन्सले पनि उडानका लागि चासो देखाउन थालेका छन्। पोखरा र भैरहवा विमानस्थल सञ्चालनका लागि सरकारले विभिन्न सेवामा एयरलाइन्सलाई सहुलियतलगायतका आकर्षक प्याकेज घोषणा गरेको छ। फ्लाई दुबईको विमान दुबईबाट दिउँसो १:४५ बजे भैरहवा आएर ३:३० मिनेटमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दुबई जाने उडान तालिका प्राधिकरणबाट अनुमति पाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका सह प्रवक्ता ज्ञानेन्द्र भूलले फ्लाई दुबईले कात्तिकदेखि दुबई–भैरहवा र भैरहवा–काठमाडौँ हुँदै दुबई उडान गर्न लागेको जानकारी दिए। उनका अनुसार फ्लाई दुवईले कात्तिक २४ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्नेछ। हप्ताको सातै दिन फलाई दुबईले दुबई–भैरहवा र भैरहवा–काठमाडौँ–दुबई उडान गर्न लागेको हो।
त्यसैगरी थाई एयर एसियाका प्राविधिक टोलीले केही दिनअघि गौतमबुद्ध विमानस्थलको भ्रमण गरेर जानकारी लिएको थियो। यो एयरलाइन्सले कहिलेबाट उडान सुरु गर्ने भन्ने टुंगो लाग्न भने बाँकी रहेको तिवारीको भनाई छ। गत असोज १६ गते नेपालमा सिधा हवाई उडान सुरु गएको थाई एयर एसियाले गौतमबुद्ध विमानस्थलमा पनि उडान सञ्चालन गर्न लागेको हो। अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने अध्यागमन, भन्सार, सुरक्षालगायतका व्यवस्थापकीय काम दुरुस्त अवस्थामा रहेको विमानस्थलले जनाएको छ। दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्णक्षमतामा सञ्चालन गर्ने सरकारको कार्ययोजना अनुरुप गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न लागिएको महाप्रबन्धक तिवारीले बताए। लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेका ती पोखरा र भैरहवा विमानस्थल सञ्चालनका लागि सरकारले विभिन्न सेवामा एयरलाइन्सलाई सहुलियतलगायतका आकर्षक प्याकेज घोषणा गरेको छ। अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न हवाई इन्धनदेखि टिकट सहुलियत दिने सरकारको योजना छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार दुवै विमानस्थल प्रभावकारी सञ्चालनमा ल्याउन हवाई टिकट, ग्राउण्ड ह्यान्डलिङ, हवाई इन्धनमा आगामी २०८३ साल भदौसम्म सहुलियत दिने कार्ययोजना बनाइएको छ। पर्यटन बोर्डले प्रतिटिकट लिने शुल्क पनि उक्त समयभर दुई विमानस्थलको हकमा नलिने गरी सहुलियत दिने र हवाई टिकटमा लगाइएको भ्याट पनि वि.सं. २०८३ भदौसम्म नलिने जनाइएको छ। उद्योग वाणिज्य मन्त्रालयसँगको समन्वयमा काठमाडौँको विमानस्थलमा उपलब्ध हुने इन्धनको मूल्यभन्दा भैरहवामा सस्तोमा लिने गरी कार्ययोजना बनाइएको छ।

Like