लाभग्राही पहिचान भएर आएको तीन दिनभित्र अस्थायी आवास बनाउन रकम उपलब्ध गराउँछौं : गृहमन्त्री
रासंसा/काठमाण्डौ, आश्विन १९,
मुलुकमा गृहमन्त्री रमेश लेखकले बाढी, पहिरो र डुबानलगायत प्रभावित जिल्ला-पालिकाहरूलाई चाँडोभन्दा चाँडो लाभग्राही पहिचान गरी पठाउन आग्रह गरेका छन्। मृतकका परिवारलाई दुई लाख राहत दिने निर्णय गरेर सम्बन्धित जिल्लामा रकम पठाएर घरमै पुगेर वितरण गरिरहेको र घाइतेहरूको पनि अस्पतालमा निःशुल्क उपचार अघि बढेको उनले बताए। बाढी पहिरो प्रभावित पालिकाहरूलाई सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिसकेकाले त्यसमा राज्यले सम्पूर्ण ध्यान केन्द्रित गरेको जानकारी दिए। शनिबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले लाभग्राही पहिचान भएर आएको तीन दिनभित्र अस्थायी आवास बनाउन रकम उपलब्ध गराउनसक्ने बताए। उनले विपद्मा ठूलो जनधनको क्षति भएकोमा सरकारको गम्भीर रूपले ध्यानाकर्षण भएको बताए। गृहमन्त्री लेखकले ग्रामीण भेगमा नागरिकहरूको स्वास्थ्य उपचारका लागि आपतकालीन हेली उद्धार तथा संरक्षणको मागसहित एक महिनाअघि आमरण अनसन बसेका तेह्रथुमका ४२ वर्षीय दीपक सिलवालसँग सहमति गर्दै जुस खुवाएर अनशन अन्त्य गराएका थिए। गृहमन्त्री लेखकले अनशनरत सिलवालले उठाएका विषय सरकारले गम्भीररूपमा लिएको बताए।
