अन्य थपअर्थतन्त्रदेशप्रदेश-४ [गण्डकी]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

रविका साझेदार छबिलाल जोशीलाई पक्राउ गरेर कास्की ल्याइयो

Share to:

मिनबहादुर कुँवर/कास्कीम, आश्विन ७, सहकारी ठगी प्रकरणमा गोर्खा मिडियाका रवि लामिछानेका साझेदार पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी पक्राउ परेका छन् । जोशीलाई पक्राउ गरेलगतै कास्की ल्याइएको छ । कास्की प्रहरीका अनुसार जोशीलाई आज (सोमबार) अदालतमा उपस्थित गराउने तयारी छ । कास्कीमा गोर्खा मिडियाविरुद्ध जाहेरी परेको र त्यही मिडियामा सेयर रहेका प्रमुख जोशीलाई पक्राउ गरी थप अनुसन्धानका लागि पोखरा ल्याइएको हो । सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन गरेको केही घण्टामै गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालकसमेत रहेका जोशीलाई पोखरा प्रहरीले आइतबार पक्राउ गरेको हो । समितिले ९९ दिन लगाएर तयार पारेको प्रतिवेदन ३१ भदौमा समितिले संसद्लाई बुझाएको थियो । गत वर्ष २४ माघमा नेचर हब इन्टरनेसनल प्रालि कार्यालय रहेको घरमा छापा मारेर ल्याइएको सफ्टवेयरमा सूर्यदर्शनसहित विभिन्न सहकारीका विवरण फेला परेका थिए । सूर्यदर्शनसहित विभिन्न सहकारीसँग सम्बन्धित सर्भर पोखरा ल्याएर वित्तीय विश्लेषणसहित अनुसन्धान गरिएको थियो । त्यसलाई समेत आधार मानेर पोखरा महानगरपालिकाले नियुक्त गरेका वित्तीय विश्लेषकले तयार गरेको करिब ३४ सय पेजको सूर्यदर्शन सहकारीको प्रतिवेदन प्रहरीलाई बुझाइएको थियो । सूर्यदर्शन सहकारीको वित्तीय विश्लेषण प्रतिवेदनमा पनि जोशीको नाममा पेस्की बाँकी रहेको देखिएको छ । जोशीले आफू गोर्खा मिडियामा पनि सुरुदेखि नै आबद्ध भएको बताएका थिए । सुरुमा गोर्खा मिडिया नेटवर्कमा जोशी र गितेन्द्रबाबु (जीबी) राईको ५०–५० प्रतिशत सेयर राखेर दर्ता गरिएको थियो । २०७७ सालमा दर्ता भएको सो कम्पनीको पुँजी २०७८ चैतमा १२ करोड पु¥याउने निर्णय भएको थियो । सो प्रक्रिया गर्नुअघि नै उनीसँग भएको ५० प्रतिशत सेयरमध्ये १५ प्रतिशत सेयर रवि लामिछानेलाई बिक्री गरिएको थियो । माधव खनालमार्फत जोशीले भुक्तानी लिएको चेकको प्रतिलिपि प्राप्त भएको र १० लाख रुपैयाँ पेस्की फस्र्योट बाँकी देखिएको प्रतिवेदनमा उल्लेख छ । जोशीलाई पोखरा ल्याएसँगै आजै अदालतमा उपस्थित गराएर अनुसन्धान अगाडि बढाउने प्रहरीले जानकारी दिएको छ । अर्घाखाँचीका जोशी पूर्वडीआईजीसमेत हुन् । ५९ वर्षीय जोशीलाई गोर्खा मिडिया नेटवर्कमा सहकारीको रकम लगेको र हिनामिना गरेको आरोप लागेको छ । उनीमाथि सुप्रिम बचत तथा ऋण सहकारी संस्था बुटवलको सदस्य भई रकम गोर्खा मिडियामा ल्याएको देखिएको संसदीय छानबिन विशेष समितिले गरेको अनुसन्धानले देखाएको थियो । जोशी पक्राउ परेसँगै तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई समेत प्रहरीले निगरानीमा राखेको छ । लामिछानेले आफूलाई प्रहरीले पक्राउ गर्ने सम्भावना देखेलगतै पार्टी कार्यालय वनस्थलीमा कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गरेका छन् । लामिछाने र जोशी एउटै मिडियाका सञ्चालकहरू हुन् । गोर्खा मिडिया नेटवर्कमा जोशीको ३५ प्रतिशत सेयर थियो भने लामिछानेको १५ प्रतिशत सेयर रहेको थियो । आफ्ना साझेदार पक्राउ परेलगतै लामिछाने सशंकित बनेर पार्टी कार्यकर्तालाई कार्यालय आउन आह्वान गरेका हुन् । साथै, रास्वपाले आफ्ना सभापति लामिछानेलाई पक्राउ गर्ने सरकारी निर्णयको प्रतिवाद गर्ने जनाएको छ । सूर्यदर्शन सहकारीकोसंस्थापक अध्यक्ष जीबी राई र पूर्वगृहमन्त्री लामिछानेसँग मिलेर जोशीले पनि रकम अपचलन गरेको संसदीय विशेष छानबिन समितिको निष्कर्ष छ । उनीहरू तीनै जना व्यापारिक साझेदार हुन् । उनीहरूले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँचवटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको संसदीय छानबिन समितिको निष्कर्ष छ । गोर्खा मिडियाका अध्यक्ष जीबी राईले गरेको लगानीमा आफूहरूको संलग्नता नभएको भन्दै दाबी गर्दै आइरहेका बेला सहकारी विशेष छानबिन समितिको प्रतिवेदनले केही दिनअघि मात्रै जीबी राई, छविलाल जोशी, रवि लामिछाने सहकारी ठगी प्रकरणमा कारबाही गर्नयोग्य भएका भनी प्रतिवेदन सार्वजनिक गरेको थियो । कारबाही सिफारिसमा परेकामध्ये राईविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)मा समेत रेड नोटिस जारी छ भने रम्तेल पुर्पक्षका लागि थुनामा छन् । बाँकी रहेका जोशी र लामिछानेविरुद्ध प्रहरीले सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा चलाउने तयारी गरेको छ । सहकारीको प्रतिवेदन सार्वजनिक भएलगतै गृहमन्त्रीलाई सो प्रतिवेदन कार्यान्वयन गर्न दबाब परेको थियो । लगतै गृहमन्त्रीले सहकारी प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीलाई निर्देशन दिएको केही घण्टामै जोशीलाई जरुरी पक्राउ पुर्जी थमाएर समातिएको थियो । दुईमध्ये जोशीलाई प्रहरीले जरुरी पक्राउ पुर्जी थमाएर नियन्त्रणमा लिइसकेको छ भने लामिछाने’bout कागजातहरू जुटाउने काम भइरहेको प्रहरीले बताएको छ । लामिछानेमाथि कास्की प्रहरीले पूरक निवेदन लिएर गत साता मात्रै काठमाडौंमा आएर सोधपुछसमेत गरिसकेको छ । प्रतिवेदनले ओखलढुंगाका जीबीले सञ्चालन गरेका पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौैंको स्वर्णलक्ष्मी, चितवनको सहारा, वीरगन्जको सानोपाइला सहकारीको रकम अपचलन भएको खुलाएको थियो । सहकारीमार्फत सिधै लामिछानेले रकम अपचलन नगरे पनि जीबी राईले नै नेतृत्व गरेको गोर्खा मिडिया नेटवर्कमार्फत लामिछाने र पूर्वडीआईजी जोशीको समेत संलग्नता देखिएपछि उनीहरू दुवै जनालाई कारबाही सिफारिस गरेको थियो । जोशीले संसदीय समितिमा दिएको बयानअनुसार ग्यालेक्सी टिभीमा रवि लामिछाने सेयरहोल्डर भएपछि सर्वेसर्वा भएको र यो त्यहाँ ल्याइएको रकम कुन प्रयोजनका लागि कसरी आयो भन्ने विषयमा बोर्डको मिटिङ, माइन्युट र सरसल्लाह केही नभएको बताएका थिए । २०७५ सालमा डीआईजीबाट सेवानिवृत्त भएका जोशी २०७७ सालमा नेचर हब्र्सको १० प्रतिशत सेयर लिएर डाइरेक्टर भएका थिए । उनले कम्पनीका लागि ऋण लिन नेपाल बैंक न्युरोड शाखामा आफू, रवि लामिछाने र लेखा प्रतिनिधि गएको स्वीकार गरेका छन् । उनले आफू २०७८ सालमै त्यहाँबाट बिदा भएको दाबी गरेका छन् । आफू काठमाडौं परिसरमा रहेका बेला जीबी राई, दीपेश पुनलगायतका व्यक्तिहरू काम लिएर आएको र त्यहीँबाट सम्पर्क अघि बढेको बताएका छन् ।

Like