हाम्रो संविधानको शिरोधार्य

Share to:

रासंसा/काठमाण्डौ, आश्विन ३,

मुलुकमा आज संविधान दिवस। नेपालको राष्ट्रिय दिवस। पछिल्लो दसक अरू दिवसभन्दा विशेष हुँदै आएको छ संविधान दिवस। सहिद दिवस, लोकतन्त्र दिवस, प्रजातन्त्र दिवस आदि–आदिको समग्रता खासमा संविधान दिवसमा आएर संग्रहित भएको छ, त्यो यो राष्ट्रिय दिवस हो। सहिदले अर्पण गरेको बलिदान, लोकतन्त्रका लागि भएको संघर्षको प्रतिफल नै संविधान हो। यही संविधानले नै ७० वर्षदेखि नेपालीले गरेको संघर्षका माग सम्बोधन गरेको छ। नेपाली जनतालाई इतिहासमै सबैभन्दा शक्तिशाली र सार्वभौम सत्ता सम्पन्न बनाएको छ। त्यसैले यो विशेष छ। लोकतान्त्रिक, संघीय गणतन्त्रतात्मक धर्मनिरपेक्षता र समावेशिता यो संविधानको सबैभन्दा महत्वपूर्ण विशेषता हुन्। र, मौलिकता पनि। ठूलो त्याग र बलिदानबाट प्राप्त अधिकार प्रयोग गरी जनताले आफ्ना प्रतिनिधिमार्फत लेखेको संविधान पनि हो यो। निर्वाचन प्रणाली लगायतमा सुधार संशोधन आवश्यक हुनसक्छ। त्यसैको छिद्रमा केही नेता र दलहरूले गरेका कमजोरीको दोष व्यवस्था र संविधानलाई लगाउन मिल्दैन। संविधान आफैंमा गतिशील हुन्छ, परिवर्तनशील हुन्छ र संशोधनीय पनि हुन्छ। संशोधनचाहिँ प्रगतिशीलताका लागि हुनुपर्छ। अग्रगमनका लागि हुनुपर्छ। संविधान आफैंले धारा २७४ को उपधारा १ मा संशोधनको व्यवस्था गरेको छ। संशोधन गर्नु आफैंमा यही संविधानलाई दीर्घायु बनाउने उपचार पद्धति हो। हतार र संसदीय अंकगणितका आधारमा संविधान संशोधन गर्ने होइन, लामो बहस र अभ्यासको अनुभवका आधारमा गर्नुपर्छ। मूलत यो संविधानको भावनालाई रक्षा गर्दै संशोधन गर्दा नै मुलुकलाई हित हुन्छ। न कि सस्तो लोकप्रियता र लहडबाजीमा। यही संविधानलाई शिरोधार्य गरी मुलुकलाई आर्थिक प्रगतिको बाटोमा लैजान सके मुलुकका तमाम समस्या सम्बोधन हुनेछन्। संविधान सम्झौताको दस्तावेज हो भनिन्छ। शक्ति बाँडफाँट र सन्तुलनको दस्तावेज पनि हो भनिन्छ। शक्तिको संघर्ष र सम्झौताहरू इतिहासमा यसअघि पनि भए, संविधानहरू पनि बदलिए। तर, तिनले २०७२ सालमा आएको नेपालको संविधानले जस्तो जनतालाई प्रधानता दिएका थिएनन्। हालैका दिनमा संविधान संशोधनको बहस पनि उठेको छ। तर, यो संविधानका मौलिकता विशेषबाहेकमा मात्रै त्यो सम्भव हुन सक्छ। यो संविधान जारी भएपछि मुलुकले राजनीति व्यवस्थाको स्थिरता मुलुकले पाएको छ। हो, सरकार फेरिएको फेरियै गर्दा राजनीतिक अस्थिरताको आभास कतिपयलाई भएको छ। सारमा चाहिँ राजनीतिक व्यवस्थामा स्थिरता छ। र, शान्तिपूर्ण आमनिर्वाचनका माध्यमबाट सत्ता हस्तान्तरणको अभ्यासले जरा गाडिसकेको छ। तसर्थ यो संविधानले अस्थिरता दिएको छैन, स्थिरता दिएको छ।

Like