खाद्यान्न र राजमार्गका होटल केन्द्रित बजार अनुगमन, अनुगमनसंगै अर्को अनुगमन आवश्यकता
रासंसा/काठमाण्डौ, आश्विन ३,
मुलुकमा सरकारले चाडपर्वलक्षित बजार अनुगमन सुरु गरेको छ । चाडपर्वको अवसरमा हुने गरेको कृत्रिम अभाव, कालोबजारी, अस्वाभाविक मूल्य वृद्धि लगायत गतिविधि रोक्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको निकाय वाणिज्य विभागले दुई दिनअघि अनुगमन थालेको हो । ‘बुधबारबाट नेपाल आयल निगमले पनि फिल्डमा पठाउन २ वटा गाडी सहयोग गरेको छ,’ निर्देशक पौडेलले भने, ‘क्रमशः थप्दै दैनिक १२ वटा टोली खटाउने तयारी छ ।’ विभागका महानिर्देशक राजन पौडेलले सुरुको दुई दिनमा बजार अनुगमनका लागि ६ वटा टोली परिचालन गरिएको बताए । बुधबारदेखि ८ वटा टोली फिल्डमा पठाइएको पौडेलको भनाइ छ । अनुगमनका लागि प्रत्येक टोलीमा ३ देखि ४ जना जनशक्ति छन् । टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका १ जना पोषण अधिकृत, १ जना सुरक्षाकर्मी अनिवार्य गरिएको छ । यसका साथै नियामक निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर तथा नापतौल विभाग, राजस्व अनुसन्धान विभाग, आन्तरिक राजस्व विभाग, कृषि, पशुलगायत विभागका विज्ञ समेतको उपस्थितिमा बजार अनुगमन भइरहेको छ । चाडपर्व अघिका दिनमा विभागले दैनिक ३ वटा टोली परिचालन गर्दै आएको थियो । यी टोलीमार्फत काठमाडौँ उपत्यकाभित्र मात्रै दैनिक २० देखि २२ वटा अनुगमन गरेको विभागको तथ्याङ्कमा उल्लेख छ । विभाग मातहतका अन्य निकायले काठमाडौँ उपत्यका बाहिर पनि दैनिक अनुगमन गरिरहेको पौडेलले बताए । चाडबाड आएसँगै विभागले अनुगमनको दायरा बढाएको छ । विभागले असोज ४ गतेदेखि सार्वजनिक बिदाको दिनमा पनि अनुगमन गर्ने तयारी गरेको छ । विभागका महानिर्देशक पौडेलका अनुसार लत्ताकपडा, मिठाइ पसल, खाद्यान्न पसल, राजमार्गका होटल, प्रशोधित पानी फ्याक्ट्री लगायत क्षेत्रमा बढी अनुगमन गरिने छ । यसमा पनि खाद्यान्न र राजमार्गका होटलमा अनुगमन बढी गर्ने पौडेलले बताए । ‘अहिले ठगिने भनेको खाद्यान्न, माछामासु, लत्ताकपडा, फलफूल, पेय पदार्थ, दुग्धजन्य पदार्थ लगायतका पसलमा बढी हो,’ महानिर्देशक पौडेलले भने, ‘यी क्षेत्रमा अनुगमन केन्द्रित गरेर बढी मूल्य लिने, म्याद नाघेका सामग्री बिक्री गर्ने, उपभोक्ता ठग्ने लगायतलाई कारबाहीको दायरामा ल्याउँछौँ ।’ सरकारले यो वर्ष बजारमा खाद्यान्न अभाव हुन नदिने र मूल्य वृद्धि रोक्नका लागि देशका ६१ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको छ । सहुलियत मूल्य पसलमा सबै प्रकारका चामल, चिनी, चिउरा, दाल तथा गेडागुडी, तेल घ्यू, कर्णालीको रैथाने उत्पादन विशेष छुटमा खरिद गर्न पाइने विभागले जनाएको छ । विभागले अघिल्ला वर्षहरुमा भन्दा यो वर्ष बजार अनुगमन कडाइका साथ गर्ने दाबी गरेको छ । अनुगमन गरी बजारको नीति नियममा रहेर व्यवसाय गर्नेलाई प्रोत्साहन तथा बजार प्रवर्द्धनसमेत गर्ने विभागको भनाइ छ । देशैभरका बजार प्रभावकारी बनाउन सहायक प्रमुख जिल्ला अधिकारी र सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई बजार निरीक्षणको अधिकार प्रत्यायोजन गरिएको महानिर्देशक पौडेलले बताए । विभागको टोल फ्री नम्बर ११३७ मा कल गरी गुनासो गर्न सकिने अथवा वेबसाइटमा राखिएको सूचना अधिकारीको मोबाइल नम्बरमा सम्पर्क गरेर गुनासो गर्न सकिने विभागले जनाएको छ । यसका साथै कुनै नागरिकलाई अखाद्य वस्तु तथा म्याद गुज्रेका वस्तु बिक्री गरेको अथवा कालोबजारी गरेको लागेमा विभागमा उजुरी गर्न आग्रह पनि गरिएको छ । आम उपभोक्ताले गरेको गुनासो तत्काल सुनुवाइ हुने र उक्त कैफियत देखिएको स्थानमा विभागको टोली गएर अनुगमन गरिने भएको छ । उक्त खाद्यान्नहरूमा प्रतिकिलो ५ रुपैयाँदेखि १० रुपैयाँसम्म छुटको व्यवस्था रहेको छ । यसका साथै सरकारले यो वर्ष बजारमा खाद्यान्न अभाव हुन नदिने र मूल्य वृद्धि रोक्नका लागि देशका ६१ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको छ । सहुलियत मूल्य पसलमा सबै प्रकारका चामल, चिनी, चिउरा, दाल तथा गेडागुडी, तेल घ्यू, कर्णालीको रैथाने उत्पादन (जुम्ली मार्सी, कागुनो, चिनो, तिते फापर, उवा) जस्ता सामग्री विशेष छुटमा खरिद गर्न पाइने विभागले जनाएको छ ।