आज इन्द्रजात्रा, विश्वकर्मा पूजा, पूर्णिमा व्रत, वास्तु दिवस, कन्या संक्रान्ति, अनन्त चतुर्दशी व्रत, राष्ट्रिय चलचित्र दिवस, राष्ट्रिय विज्ञान दिवस, विश्व बिरामी सुरक्षा दिवस
रासंसा/काठमाण्डौ, आश्विन ०१,
इन्द्रजात्रा
मुलुकमा परम्परा अनुसार भाद्र शुक्ल पक्ष ‘यँलाथ्व द्वादशी’को दिन मनाइने इन्द्र ध्वजोत्थानबाट प्रारम्भ भएर ‘यँलागाः चौथी’ अर्थात् इन्द्र ध्वज पतनसम्म आठ दिन विभिन्न देवी देवतासङ सम्बन्धित नाच, गान र रथयात्रा (विशेषतः कुमारी, भैरव र गणेश) गरेर सम्पन्न गरिने यो जात्रालाई मुख्यतः दुई प्रकारले मनाउने चलन रही आएको छ । अनुहारमा विभिन्न देवी देउताका ‘ख्वापाः’ (अर्थात् मुखौटा) लगाएर नेवा: समुदायका विभिन्न गुठी र समूहहरू मिली नाचगान गर्ने गरिन्छ । किम्बदन्ती बाट जसका अनुसार स्वर्ग लोकका भगवान् इन्द्र आफ्नी आमालाई वसुन्धरादेवीको व्रतका निम्ति आवश्यक पारिजातको फूल र कर्कलो चोर्न मानव रूप धारण गरी काठमाडौँ सहरमा आएर बगैँचाको माली लाई सोध्दै नसोधी चोर्न लाग्दा स्थानीयले आफ्नो तन्त्र शक्तिको प्रयोग गरी इन्द्रलाई पाता कसी बिच सडकमा बाँधेर ढाले पछिको दृश्य सहितको मूर्ति प्रदर्शन गरिएको लोक कथन छ। काठमाडौँको इन्द्रचोक, किलागल र नरदेवीमा पनि बाँधिएका इन्द्रको मूर्तिलाई त्यसरी नै अग्लो डबलीमा प्रदर्शन गर्ने गरिन्छ । काठमाडौँ एउटा इतिहासै इतिहासको सहर हो, देवाधिदेव महादेवको पवित्र पाशुपत क्षेत्रको इतिहास कुनै काव्य या इतिहासका ताम्र पत्र या शिलालेखमा उल्लेख छैन तथापि यस सहर बासीको सहिष्णुता, संस्कार, सभ्यता अनि सांस्कृतिक धरोहरहरू आज विश्वका लागि नै एउटा अनमोल प्राचीन सम्पत्ति भएको छ । काठमाडौँको माटो र आव हवामा सभ्यता र शान्तिको एउटा स्वाद छ अनि काठमाडौँ देवता र मन्दिरको मात्र सहर नभई विविधता सहितका अनेक चाडबाड र प्राचीन सभ्यताको सहर पनि हो । इन्द्रजात्रा अर्थात् नेपाल भाषामा ‘येँया पुन्हि’, काठमाडौँ सहरको प्राचीन बस्ती वसन्तपुरमा मनाइने सबैभन्दा ठुलो चाडहरुमध्य एक हो । यसरी आफ्नो खातिर काठमाडौंवासी ले बन्धनमा पारेका छोरा इन्द्रलाई त्यस बन्धनबाट मुक्त गराउन उनकी आमा स्वयं काठ्माण्डौ आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर लग्छिन् । यस मौसममा लाग्ने त्यही विशेष कुहिरोका कारण धान बाली समयमै हुर्किएर पाक्छ भन्ने किम्बदन्ती अझै पनि जनजिब्रोमा जीवितै छ। इन्द्रजात्राको प्रमुख कार्य नै लिङ्गो (ध्वजा) स्थापना गर्नु र उल्लासपूर्ण माहौलमा रथयात्राको आयोजन गर्नु हो ।
तान्त्रिक विधिद्वारा पूजाआजा गरी एउटा विशेष प्रक्रियाको लागि तयार पारिएको कालो बोकोलाई काभ्रे जिल्लाको उग्र चण्डी नालास्थित जङ्गलमा छाडिएपछि उक्त बोकोले त्यस जङ्गलमा सर्वप्रथम छोएको रूखलाई काटेर एकादशीका दिन विधिपूर्वक इन्द्र ध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ। यसरी तयार भएको लिङ्गोलाई स्थानीय नेपाल भाषामा ‘योंसी’ समेत भनिन्छ । उक्त लिङ्गोलाई वसन्तपुर दरबार स्क्वायरस्थित हनुमान ढोकामा अवस्थित विशाल काल भैरवको मूर्ति अगाडि तान्त्रिक विधिअनुसार विशेष पूजाआजाको प्रक्रिया पश्चात् लिङ्गो ठड्याइएपछि ‘इन्द्र ध्वजोत्थान’ सम्पन्न हुन्छ र प्रारम्भ हुन्छ विधिवत् रूपमा इन्द्रजात्राको चहलपहल । यसरी तयार पारिने विशेष लिङ्गोमा विभिन्न चिह्न अङ्कित ध्वजा पताकाहरू सजाएर राखिएको हुन्छ। लिङ्गोको फेदमा सुनको जलप पोतिएको इन्द्र विराजमान हात्तीको प्रतिमा राखेर पूजा अर्चना गर्ने गरिन्छ । लिङ्गो ठड्याउने परम्परा पनि एकदमै विशेष सांस्कृतिक प्रक्रिया अनुसार सम्पन्न गर्ने गरिन्छ । यस क्रममा नेपाली सेनाको ब्यान्डको टुकडी, गुर्जुको पल्टन र पञ्चेबाजा समूहले मंगलधुन बजाएर यस महत्त्वपूर्ण प्रक्रियामा संलग्न हुन्छन्। इन्द्रजात्रामा इन्द्र ध्वजा उत्थान गर्ने परम्परा तत्कालीन राजा प्रतापसिंह शाहले चलाएको इतिहासमा उल्लेख छ। यस अवसरमा वर्षमा एक पटक हनुमान ढोका दरबार क्षेत्रस्थित श्वेत भैरवको मन्दिर सर्वसाधारण कालागि दर्शन, पूजाहेतू खुला गर्ने गरिएको छ । सनातन र पुरातात्त्विक महत्त्वमा समेत इन्द्रजात्राको व्याख्या गरेको पाइन्छ । यस जात्राको सम्बन्धमा वाल्मीकि रामायण, महाभारत, कालिका पुराण, देवी पुराण, विष्णु धर्मोत्तर पुराण, हरिवंश पुराण, बृहत् संहिता र भविष्य पुराणमा समेत विस्तृत वर्णन गरेको पाइन्छ । काठमाडौँ, भक्तपुर, ललितपुर, धुलिखेल र दोलखा समेतमा वर्षा र सहकालका देवता इन्द्रको पूजाआजा गर्ने गरिएको छ । काठमाडौँमा दसौँ शताब्दीका लिच्छविकालिन् राजा गुणकामदेवले इन्द्रजात्राको चलन चलाएको मानिन्छ भने कुमारी जात्रा भने अठारौँ शताब्दीको मध्यमा सुरुवात भएको मान्यता रहिआएको छ । यस दिन काठमाडौँका बुद्ध मार्गी नेवार समुदाय र हिन्दु मान्यताका नेवार समुदायहरूको अभूतपूर्व सहिष्णु सम्बन्धको मेल काठमाडौँको वसन्तपुर दरबार स्क्वायरमा देख्न सकिन्छ । पुराणमा उल्लेख भएअनुसार प्राचीन कालमा देवता र असुरहरू ठुलो युद्धको तयारीमा लागे । त्रिदेव र सम्पूर्ण देवगणले देवराज इन्द्रलाई विजयी गराउन ध्वजा बनाएर त्यसलाई पूजाआजा गरी इन्द्रलाई हस्तान्तरण गरे । यसरी विभिन्न देवगणले हस्तान्तरण गरेको ध्वजा इन्द्रले समातेकाले त्यस ध्वजालाई ‘इन्द्र ध्वजा’ भनियो । देवासुर सङ्ग्राममा देवताहरूको विजय भएपछि इन्द्र ध्वज पूजा र समारोहले निरन्तरता पायो ।
विश्वकर्मा पूजा
असोज महिनाको १ गते अर्थात कन्या संक्रान्तिलाई निर्माण तथा प्रविधि उत्पादन तथा अध्ययनका विद्वान श्री विश्वकर्मा बाबाको पूजाका रुपमा पनि मनाउने गरिन्छ । आजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्विहरू यिनै विश्वकर्मा बाबाको सम्मानमा पूजाआजा गर्ने गर्दछन् ।विश्वकर्मा बाबा देवताहरुकालागि शिल्प विशेषज्ञ र हरेक देवताका भवनहरुको निर्माता, हतियार शिल्पकार र यानहरुका रचयिता तथा निर्माता हुन । शास्त्रहरुका अनुसार विश्वकर्मा ब्रह्माका पुत्र हुन, यिनका ५ छोराहरु र एकमात्र छोरी थिइन् । उनको एकमात्र छोरी सन्ध्याको विवाह वैश्विक उर्जा तथा तापका प्राकृतिक श्रोतका मालिक भगवान सूर्यसंग भएको थियो । विश्वकर्मा बाबाको पूजामा विश्वकर्मा बाबाको मुर्ती स्थापित गरि उक्त दिन पुजा गर्ने र भोलिपल्ट रितिपूर्वक नदी, ताल, तलैयामा मुर्ती सेलाउने चलन छ । आजको दिन यातायातका साधनहरुको विशेष पुजा गरिन्छ तसर्थ आजको दिन सार्वजनिक यातायातका साधनहरु सहज उपलब्ध नहुन सक्दछन । मानव जीवनका हरेक यन्त्र तथा यान्त्रीक उपलब्धि हामीलाई सधैं फापोस अनि दूर्घटनाबाट सुरक्षा मिलोस ।
पूर्णिमा व्रत
वैज्ञानीक हिसाबले हेर्दा पूर्णिमाको दिन पृथ्वीमा गुरुत्ववलको प्रभाव धेरै रहने र यस दिन व्रत बसेर भगवानको नाम सुमरण गर्दा आत्मशुद्धि हुने बताइन्छ । यस दिन व्रत बस्नाले मेटावोलीक प्रक्रिया सुदृढ रहने, ग्याष्ट्रिक समस्याहरु हल भएर जाने र शरीरमा सकारात्मक उर्जा बढ्ने हुन्छ । यस दिनको व्रत बिहान सूर्योदयको समयवाट साँझमा चन्द्रोदय भएसम्म गरिन्छ । कसै कसै ले निराहार र निर्जल बसेर यस व्रत लिन्छन् भने कसै कसैले एक छाक मात्र खाएर, अलिनो आहार ग्रहण गरेर व्रत बस्दछन् । साँझमा चन्द्रोदय पछि चन्द्रमाको दर्शनसंगै व्रत समापन हुन्छ । शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । यस तिथीमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रुपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असिम कृपा प्राप्त हुने र स्वास्थ, समृद्धि र शान्ति प्राप्त हुने विश्वास छ । पूर्णिमाको दिन विशेषगरि भगवान शिव र विष्णुको आराधना गरिन्छ । भगवान विष्णुलाई गरिने विशेष अर्चनालाई सत्य नारायण पुजाको स्वरुपमा गरिन्छ । सामान्यतया सत्य नारायण पुजा जहिले गरे पनि हुने कार्य हो यद्धपि पूर्णिमाको दिनमा गरिने यस पुजाको फल निकै धेरै पाइन्छ ।
वास्तु दिवस
दिशा र कोणहरू निर्धारण गरेर, पञ्चतत्वको अवस्थिति अनि जमिनको आकारलाई आधार मानेर तय गरिने वास्तुसीप अनुरूपको ढाँचा बनाइएमा उक्त संरचनामा सदैव सुख, समृद्धि अनि ऐश्वर्यको बास रहन्छ भन्ने विश्वास पाइन्छ । वास्तुशास्त्र अनुसार विश्वमा बनाइएको एकमात्र शहर भने सिंगापुर रहेको बताइन्छ । प्राचीनतम् वास्तुशास्त्रको आधुनिक अवलम्बन अनुरूप सिंगापुरको वास्तु आत्मसात् आजको विश्वका लागि ज्वलन्त उदहारण हो । विश्वकर्मा पूजाकै दिन हरेक वर्ष असोज महिनाको १ गते, कन्या संक्रान्ति पारेर वास्तु दिवस मनाइने चलन छ । हरेक निर्माण संरचनाहरूको ढाँचा तयार गर्दा वास्तुलाई प्राथमिकतामा राखिन्छ । आजभोखि यो चलन पूर्वीय सभ्यतामा मात्र नभई पश्चिमाहरूमा पनि निकै प्रचलित छ । वास्तुविधा पनि एउटा प्राचीनतम् विज्ञान, वेद र खोजको धार हो । विश्वकर्मा बाबा निर्माणका पर्याय हुन् । यिनी वास्तुविधाका पनि जानकार थिए । यसै कुरालाई मध्यनजर राख्दै एकै दिन विश्वकर्मा पूजा र वास्तु दिवस मनाइन्छ । वास्तुविधा र वास्तुशास्त्रको महत्व विश्वभरि फैलियोस्, कल्याण होस् ।
कन्या संक्रान्ति
आजका दिन बिहानै उठेर जलकुण्डमा स्नान गर्ने र बिष्णुको आराधना गर्ने चलन छ । पितृ कर्मका लागि असोज महिनाको महत्व असाध्यै धेरै छ र आजवाट यस महिनाको सुरुवात हुँदै छ । अहिले यस वर्ष त झन कन्या संक्रान्ति का दिन सोह्र श्राद्धका पावन तिथिहरु चलिरहेका छन । पितृ कर्मका लागि प्रसिद्ध यस असोज महिना ले महान पर्व वडा दशैंको पनि सुरुवात गराँउछ । रौनक महिना असोजमा सबैलाई स्वागत छ । वर्षमा १२ वटा महिना र १२ वटै संक्रान्ति हुन्छन्, यी १२ वटा संक्रान्तिहरुलाई ४ वटा वर्गमा वर्गिकरण गरिएको हुन्छ, आयन, विष्णुभा, विष्णुपादी र सदसितामुखी संक्रान्तिहरु। सम्पूर्ण संक्रान्तिहरु दान पूण्य क्रियाकलापकालागि अत्यन्त महत्वपूर्ण हुन्छन । हिन्दूहरुको सौर्य पात्रो अनुसार छैठौं महिनाको शुरुको दिन कन्या संक्रान्ति हो । आजका दिन सुर्य सिंह राशीवाट कन्या राशीमा प्रवेश गर्दछन, यसकारण पनि आज कन्या संक्रान्ति भनिएको हो ।
अनन्त चतुर्दशी व्रत
ॐ अनन्ताय नम:
श्रावण शुक्ल पूर्णिमाका दिन अर्थात् जनपूर्णिमाको दिन कुनै कारणवश जनै (यज्ञोपवीत) मन्त्रन नपाएकाले आजै मन्त्रने गरेका छन्। आज चोखो धागोमा अनन्त मन्त्रणा गरी बाँध्नाले वर्षभर शुभ फल प्राप्त हुने धार्मिक विश्वास रहेको छ। यसरी बाँधिने धागोलाई “अनन्त सूत्र” भनिने गरिन्छ। यस सूत्रमा हुने चौध वटा गाँठोलाई चौध वटा लोकको प्रतीक मानिन्छ। यो सूत्र पुरुषहरूले दाहिने हातमा बाँध्ने गरेका छन् भने महिलाहरूले यसलाई बायाँ हातमा बाँध्ने गर्दछन्। हिन्दु धर्म अनुसार आजको दिन कुनै पनि शुभ कार्यको थालनी गर्नलाई उत्तम मानिन्छ। भगवान् अनन्तनाथ (भगवान् विष्णु) को पूजा, आराधना गरेर श्रद्धापूर्वक व्रत बस्ने आजको दिनलाई अनन्त चतुर्दशी भनिन्छ। भाद्र शुक्ल पक्षको चतुर्दशीलाई अनन्त चतुर्दशी भनिन्छ । धार्मिक मान्यता अनुसार जब पाण्डवहरूले जुवामा आफ्ना सारा सम्पत्ति र सम्मान हारेपछि उनीहरू जङ्गलमा श्रीमती द्रौपदीसँग कष्टकर जीवन बिताउँदै थिए। त्यस बेला भगवान् श्रीकृष्णले युधिष्ठिरलाई आजको दिन श्रद्धापूर्वक व्रत बस्न आग्रह गरेका थिए। भगवान् श्रीकृष्णको सल्लाह मान्दै पाँच पाण्डवले विधिपूर्वक अनन्त चतुर्दशीको व्रत बसे र यसै व्रतको प्रभावले पाण्डवहरूले आफ्नो कष्टकर जीवनबाट मुक्ति पाएका थिए। आज प्रात:कालमा स्नान आदि नित्यकर्म गरेर शुद्ध चित्त भई पूजन सामग्री तयार गर्नु पर्दछ। सर्वप्रथम कलश स्थापना गरी त्यसमा अष्ट दल बनाएर राख्ने अनि कुशको अनन्त भगवान् बनाएर स्थापना गर्नुपर्दछ। कलश समक्ष चौध गाँठो भएको अनन्त सूत्र राखेर कुश लिएर भगवान् अनन्तनाथ (भगवान् विष्णु) को सुद्ध चित्तले पूजा आराधना गर्नुपर्दछ। तत्पश्चात् धूप, दीप, नैवेद्य र अक्षता लिएर भगवान् अनन्तको पूजा गर्नुपर्दछ। अन्त्यमा आफूले चिताएको मागेर आफ्नो गक्ष अनुसार ब्राह्मणलाई दान दिनु शुभ हुन्छ। पूजा पछि कलश समक्ष राखेको अनन्त सूत्र आफूले बाँध्नाले अनन्त भगवान् प्रसन्न भई शुभ फल प्रदान गर्ने मान्यता छ। खास गरी अनन्त चतुर्दशीको पूजा दिउसोको समयमा गर्नुलाई उत्तम मानिन्छ।पुत्रको चाहना राख्ने या आर्थिक अभावमा गुजारा गरिरहेका मानिसहरूलाई आजको दिन व्रत विशेष फलदायी रहने गरेको छ।
राष्ट्रिय चलचित्र दिव
सन् १९५१ मा नेपाली भाषाको तर कोलकातामा उत्पादन गरिएको चलचित्र सत्य हरिशचन्द्र जसलाई डि बी पराजुली ले निर्माण गरेका हुन् । त्यपछि नेपालमै उत्पादित चलचित्र आमा सन् १९६४ अक्टोबर ७ मा प्रदर्शन गरिएको हो । सुस्तरि बिभिन्न आरोह अवरोह पार गर्दे अब नेपाली सिने जगत बिश्व मानचित्रमै आफ्नो छवी उभ्याउन सफल हुँदै गएको छ । चलचित्र बिकास बोर्डले सन् २०१२ मा हरेक बर्षो असोज १ गतेका दिन बिभिन्न कार्यक्रमहरु गर्दै यस दिवस मनाउने क्रम चलाएको हो । शुरुवाती दिवसहरुमा एक सप्ताह नै यस चलचित्र सप्ताह अनि दिवसका रुपमा मनाउने अवधारणा रहे तापनि सुस्तरि असोज १ मा मात्र बिभिन्न कार्यक्रमहरु गरेर मनाउन थालियो । चलचित्र बिकास बोर्ड भने सन् २००० को ३० जूनमा स्थापीत संस्था हो जसको मुल उदेश्य चलचित्रको प्रर्वधन अनि चलचित्रकर्मीहरुको संस्थागत बिकास पनि रहेको छ । बिसं २०२१ मा चलचित्र आमा मा तत्कालिन रेडियो गायक र संगीतकार शिब शंकर मानन्धर अनि रंगमञ्च अभिनेता सुश्रि भुवन चन्दले नायक नायिकाका रुपमा कार्य गरेका हुन् । त्यसपछि बिसं २०२३ मा अर्को बहुप्रतिक्षीत नेपाली चलचित्र माईतीघर प्रदर्शनमा आयो, अहिलेसम्म पनि काठमाडौको माईतीघर मण्डला उतिबेला त्यही चलचित्रको उत्पादन समुहको कार्यलय रहेका कारणले माईतीघर नामाकरण गरिएको छ । भारतीय अभिनेता माला सिन्हा र नेपाली सिपी लोहनी अभिनीत माईतीघरको जोडी पछि गएर बास्तविक जीवनका पनि जोडी बन्न गए ।यस वर्ष अभिनेता लोहनीे संसारबाट बिदा हुनु भएको छ यद्धपि चलचित्रमा वहाँको योगदान सदैव स्मरण गरिनेछ ।
राष्ट्रिय विज्ञान दिवस
संस्कृति मानिसलाई अनुशासित र मर्यादित बनाउने जीवित कला हो । आधारभूत शिक्षाले दिन नसकेका कतिपय प्रकृतिप्रदत्त शिक्षण विधि संस्कृतिले सिकाइरहेको हुन्छ । संस्कृतिभित्रको विज्ञानको पाटो वा वैज्ञानिकता केलाउन नसक्नु अलग कुरा हो । आधुनिक विज्ञानले प्राविधिक पाटोलाई इंगित गराइरहेको हुन्छ । विज्ञानले मानिसलाई उपकरण वा यन्त्रजनित त बनाउला संस्कृतिले बराबर मूल्य र पहिचान दिन चाँहि सक्दैन । अतः हाम्रो संस्कृति सापेक्ष मूल्य र पहिचान खोज्न र त्यसका लागि भूमिका निर्वाह गर्नु यो अभियानको एउटा अंश हो । विज्ञान सिद्धान्तसहितको यन्त्र हो । यसले मानिसको दैनिक जीवन सरल बनाइरहेको हुन्छ । तर संस्कृति जीवन हो । यसले मानिस र समाजलाई जीवन्त तुल्याइरहेको हुन्छ । यसकारण मुलुकको समृद्धिका लागि विज्ञान र संस्कृति साथ साथ लैजान जरुरी छ । पूर्खाले आज्र्याको धरोहर मात्रै होइन मौलिक विज्ञान, प्रविधि र संस्कृति बचाईराख्न आवश्यक छ ।
विस २०७० असोज १ देखि सरकारले राष्ट्रिय विज्ञान दिवस मनाउन थाल्यो । तात्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा गठित संयुक्त सरकारले विसं २०६९ मा निर्णय गरेर विसं २०७० देखि राष्ट्रिय विज्ञान दिवस मनाउन थालिएको हो । यसका केही उद्देश्य निर्दिष्ट छन् । जस्तै, देशका सबै वर्ग, समुदाय तथा पेशागत क्षेत्रका व्यक्ति तथा संस्थालाई विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान पुर्याउने गरी परिचालन गर्ने तथा विज्ञान तथा प्रविधि विषयमा जनचेतना बढाउने । यस्तै नीति निर्मातादेखि तल्लो तहका जनतासम्म यो प्रकृयामा सक्रिय भूमिका निभाउने अवस्था सिर्जना गर्ने र यसका लागि सचेतनामूलक र अभियानमुखी काम गर्ने । यही सन्दर्भमा ‘समृद्धिका लागि विज्ञान–संस्कृति’ कार्यक्रम परिकल्पना गरिएको हो । नेपालमा विज्ञान शिक्षामा अग्रणी अमृत साइन्स क्याम्पसको स्थापना दिवसको अवसर पारेर विज्ञान दिवस मनाउन लागिएको हो ।
विश्व बैंकका अनुसार चीनले सन् १९९६ मा कूल लगानीको शून्य दशमलव ५६ प्रतिशत लगानी गरेको थियो । सन् २०१५ आइपुग्दा यो लगानी बढेर २ दशमलव ०७ प्रतिशत भयो । तथ्यांक भन्छ, चीनका दश लाख मानिसमा १ हजार १ सय १३ जनशक्ति अनुसन्धानकर्ता छन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’ नेपाल सरकारले तय गरेको नारा हो । यही सुन्दर लक्ष्य पूरा गर्न सरकार लागिपरेको देखिन्छ । त्यो समृद्दि हासिल गर्न सरकारले विज्ञान तथा प्रविधिको क्षेत्रमा कम्तीमा कूल ग्राहस्थ उत्पादनको १ प्रतिशत लगानी गर्नपर्ने देखिन्छ । भलै यो लक्ष्यमा सरकारको यात्रा सहज देखिदैन तर केही ठोस पहलकदमी उपेक्षा गरिहाल्न मिल्ने छैनन् । भारतले १९९६ देखि २०१५ मा लगानी अनुपातलाई कम्तीमा शून्य दशमलव ६३ प्रतिशत कायम राख्न सफल भयो । युनेस्कोका अनुसार पछिल्लो समय भारतले कुल ग्राहस्थ्य उत्पादनको ० दशमलव ८ प्रतिशत सम्म कायम गरेको छ । भारतमा १० लाखमा १ सय ५६ जना अनुसन्धानकर्मी छन् । नेपालले पनि समग्र देशको बिकासका लागि बिज्ञानमालगानी गर्नैपर्ने तथ्यलाई आत्मसाथ गर्न जरुरी छ । बिसं २०८१ सालको यस बिज्ञान दिवसको १२औंं संस्करणमा अनेक शुभकामना ।
विश्व बिरामी सुरक्षा दिवस
प्रत्येक वर्ष सेप्टेम्बर १७ मा मनाइने विश्व रोगी सुरक्षा दिवस, बिरामी सुरक्षाको बारेमा विश्वव्यापी चेतना जगाउने र बिरामीको हानि कम गर्न सबै देशहरू र अन्तर्राष्ट्रिय साझेदारहरूद्वारा ऐक्यबद्धता र एकताबद्ध कार्यको लागि आह्वान गर्ने उद्देश्य राखिएको छ।विश्व बिरामी सुरक्षा दिवस स्वास्थ्य सेवा प्रणालीका सबै सरोकारवालाहरूका लागि सँगै काम गर्न र बिरामी सुरक्षा सुधार गर्न संलग्नता साझेदारी गर्ने अभियान पनि हो।
सन् २०२४ नारा “Improving diagnosis for patient safety” अर्थात् बिरामीहरुको सुरक्षाका लागि डायग्नोसीस भन्ने अर्थ लाग्दछ ।