सत्ताको विवेक बन्धकसंगै विश्वविद्यालयमा ताला
रासंसा/चितवन, भाद्र २७,
मुलुकमा चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा दुई सातादेखि तालाबन्दी भएकाले पढाइ र नियमित अनुसन्धान मात्र होइन, प्रवेश परीक्षा र सेमेस्टर परीक्षा पनि रोकिएको छ । सत्तारूढ दुई ठूला दल कांग्रेस र एमालेका भ्रातृ संगठनको झडपले विश्वविद्यालय अशान्त बन्दा सरकार भने मूकदर्शक छ । रजिस्ट्रार थपलियाले विश्वविद्यालयमा दुई साताअघि भएको झडपपछिको तालाबन्दीबीच पठनपाठन र परीक्षा ठप्प भए पनि सिनेटको एजेन्डा फरक भएकाले यो विषयमा छलफल नभएको बताइन् । उनले भनिन्, ‘झडप र तालाबन्दीका विषयमा कुलपति, सहकुलपतिलाई पहिले नै ब्रिफिङ भइसकेको थियो, सिनेमा बजेटको कुरा मात्र भयो ।’ उनका अनुसार बैठकले गत वर्षको खर्च अनुमोदन गर्दै आगामी वर्षको नीति तथा कार्यक्रम पनि पारित गरेको छ । ‘गत वर्षको १ अर्ब १५ करोड ८४ लाख रुपैयाँ खर्च अनुमोदन भएको छ भने आगामी वर्षको १ अर्ब ७५ करोड ६३ लाख बजेट पारित भएको छ,’ उनले भनिन् । तालाबन्दीकै बीच बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा विश्वविद्यालयको १३ औं सभा (सिनेट) सम्पन्न गरिएको छ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओली, शिक्षामन्त्री एवं सहकुलपति विद्या भट्टराईको उपस्थितिमा बालुवाटारमा सिनेट बैठक भएको हो । सभाका लागि एक सातादेखि उपकुलपति पुण्यप्रसाद रेग्मी, रजिस्ट्रार शारदा थपलिया, डिनलगायत विश्वविद्यालयका प्रमुख पदाधिकारी काठमाडौं थिए । तर चार हजारभन्दा बढी विद्यार्थीको पढाइ र परीक्षा बिथोलिएको विषय भने सिनेटको एजेन्डा बनेन । विश्वविद्यालयले असहज परिस्थिति उत्पन्न भएका कारण देखाउँदै भदौ १५ मा कृषि, पशु विज्ञान, पशु चिकित्सा, मत्स्य विज्ञान, वन विज्ञान संकाय र त्यस संकायअन्तर्गत आंगिक तथा सम्बन्धन प्राप्त कलेजमा सञ्चालित विभिन्न सेमेस्टरमा अध्ययनरत विद्यार्थीको परीक्षा स्थगित गरेको थियो । निमित्त परीक्षा नियन्त्रक सहप्राध्यापक होमनाथ गिरीले अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि परीक्षा स्थगित गरिएको जनाएका छन् । क्याम्पसहरूमा कक्षा पनि सञ्चालन हुन सकेको छैन । वन विज्ञान संकायको स्नातक तहमा भर्नाका लागि अनलाइन आवेदन फाराम भरेका परीक्षार्थीको प्रवेश परीक्षासमेत हुन नसकेको डिन कार्यालयले जनाएको छ । रजिस्ट्रार कार्यालयले विज्ञप्ति जारी गरेर पठनपाठन तथा सबै परीक्षा अवरुद्ध भई उत्पन्न अत्यन्त असहज परिस्थितिलाई पुनः सहज तथा सामान्य परिस्थितिमा फर्काउन सहयोगको अपिल गरेको छ । यता, विश्वविद्यालयमा तालाबन्दीका बीच प्रधानमन्त्री निवासमा सिनेट बैठक गर्नु ‘अशोभनीय’ भएको सिनेट सदस्यहरूको धारणा छ । ‘प्रधानमन्त्रीले रामपुर आउन सक्दिनँ, भ्याउँदिन भनेपछि उनको निवासमै बैठक डाकिएको हो,’ सहभागी एक सदस्यले भने । प्रधानमन्त्री ओली त्रिभुवन र काठमाडौं विश्वविद्यालयबाहेक कुनै पनि विश्वविद्यालय तथा प्रतिष्ठानको सभामा सहभागी हुन गएका छैनन् । ललितपुर खुमलटारमा रहेको नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नास्ट) को सभासमेत मंगलबार बालुवाटारमै गरिएको थियो । अन्य विश्वविद्यालयको सभा पनि प्रधानमन्त्री निवासमै डाकिएको छ । भदौ १३ मा कृषि संकाय परिसरको पुरुष छात्रावास क्षेत्रमा कांग्रेस र एमालेनिकट विद्यार्थीबीचको झडपपछि विश्वविद्यालयको शैक्षिक र प्रशासनिकलगायतका गतिविधि अवरुद्ध बनेको हो । ‘बजेट पास गर्ने र खर्च अनुमोदन गर्ने काम भयो, विश्वविद्यालय बन्द भएका कारण ४ हजारभन्दा बढी विद्यार्थीको शैक्षिक भविष्यमा खेलबाड भइरहेको विषय नै बैठकमा उठेन,’ सिनेटमा सहभागी एक सदस्यले भने, ‘विश्वविद्यालयका कुलपति, सहकुलपति, उपकुलपति, रजिस्ट्रारलगायत पदाधिकारी यस्ता विषयमा संवेदनशील नै देखिएनन् ।’ प्रधानमन्त्रीकै आग्रहमा सभा बालुवाटारमा बस्ने गरेको विश्वविद्यालयका पदाधिकारीको भनाइ छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको सभामा प्रधानमन्त्री ओलीले कृषिको उत्पादन दोब्बर बनाउनुपर्ने बताएका थिए । त्यसका लागि विश्वविद्यालयले कृषि वैज्ञानिक र इन्जिनियर उत्पादनमा जोड दिनुपर्ने धारणा पनि राखे । उता, झडपपछि दुवै संगठनले एकअर्कालाई दोष दिँदै आएका छन् भने नेविसंघले दोषीलाई विश्वविद्यालयबाट निष्कासनको माग राख्दै तालाबन्दी गरेको छ । नेविसंघका अध्यक्ष दुर्जाङ शेर्पाले दोषीलाई कारबाही र घाइतेको उपचारमा विश्वविद्यालयले चासो नदिएको आरोप लगाए । ‘हाम्रा दुई साथी गम्भीर घाइते छन्, आँखा र टाउकामा चोट लागेर काठमाडौंमा उपचार गराइराखेका छन्,’ उनले भने, ‘यो राजनीतिकभन्दा पनि आपराधिक घटना हो, दोषीलाई कारबाही हुने सुनिश्चितता भए मात्र ताला खोल्नेछौं ।’ अनेरास्ववियु समर्थकले नेविसंघका निवर्तमान इकाइ अध्यक्ष शुभमसिंह ठकुरी, निवर्तमान उपाध्यक्ष अभिषेक ओली, सुशील क्षेत्री, इकाइ सचिव प्रितम भण्डारी, कोषाध्यक्ष कमन दाहाल, नरेश बस्नेत, जेनिश लामालाई आक्रमण गरेर घाइते बनाएको नेविसंघको आरोप छ । नेविसंघ र अनेरास्ववियुबीच भएको झडपका विषयमा अध्ययन गर्न गठित छानबिन समितिले प्रतिवेदन बुझाएपछि वार्ता र छलफल थालिने रजिस्ट्रार थपलियाको भनाइ छ । ‘घाइते विद्यार्थीको उपचार हुँदै छ, अस्पतालबाट डिस्चार्ज भएपछि वातावरण अलि सामान्य बन्दै जान्छ होला,’ उनले भनिन्, ‘छानबिनका क्रममा दोषी देखिएकामाथि कारबाही हुन्छ ।’ जिल्ला प्रहरी कार्यालय चितवनले घटनामा संलग्न ३ जनालाई पक्राउ गरी ज्यानसम्बन्धी मुद्दा चलाउने प्रक्रियामा रहेको जनाएको छ । पक्राउ परेकाहरू एमालेनिकट अनेरास्ववियु कार्यकर्ता हुन् । अनेरास्ववियु अध्यक्ष समिक बडालले प्रहरीले घटनामा संलग्न नभएका विद्यार्थीलाई विज्ञप्तिकै आधारमा पक्राउ गरेको दाबी गरे । नेविसंघले अनावश्यक रूपमा तालाबन्दी गरेर शैक्षिक वातावरण बिगारेको उनको आरोप छ । ‘घटनामा संलग्नलाई कानुनअनुसार कारबाही गर्नुपर्छ, नेविसंघले ताला खोल्नुपर्छ,’ उनले भने, ‘गृहमन्त्रीसँग पनि समय लिएर शैक्षिक वातावरण कायम गर्न पहल भइरहेको छ ।’ विश्वविद्यालयका अध्यापकहरूले भने तालाबन्दी खुलाएर पठनपाठन र परीक्षा सञ्चालन गर्नतर्फ नलागी पदाधिकारीहरू सिनेट बैठक भन्दै काठमाडौं हिँडेपछि समस्या लम्बिएको बताएका छन् । सत्तारूढ दलहरूकै विद्यार्थीको झगडाले विश्वविद्यालय अशान्त बने पनि सहज वातावरण बनाउन सरकारबाट पहल नभएको उनीहरूको गुनासो छ । सुरक्षाका लागि भने रामपुरस्थित विश्वविद्यालय परिसरमा प्रहरीले पहरा दिइरहेको छ । घटना छानबिन गर्न विश्वविद्यालयले प्राध्यापक भूमिनन्द देवकोटाको संयोजकत्वमा समिति गठन गरेको छ । छानबिनसँगै तालाबन्दी खुलाएर विश्वविद्यालयलाई सामान्य अवस्थामा फर्काउने प्रयास भइरहेको उपकुलपति रेग्मीको दाबी छ । ‘सम्बन्धन प्राप्त र आंगिक क्याम्पस खुलिसकेका छन्,’ उनले भने, ‘वार्ता, संवाद भइरहेको छ, केन्द्रीय क्याम्पस पनि छिट्टै खुल्छ ।’