लोसपाले संविधान संशोधनका लागि सहकार्य गर्ने

Share to:

रासंसा/काठमाण्डौ, भाद्र २४,

मुलुकमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले संविधान संशोधनको एजेन्डा तय गर्न कार्यदल गठन गरेको छ । सो कार्यदलले अरू दलहरूसँग समेत सहकार्य गर्दै सहजीकरण गर्ने बताइएको छ । लोसपा वरिष्ठ नेता लक्ष्मणलाल कर्णको संयोजकत्वमा गठन भएको सो कार्यदलमा परमेश्वर साह र दानबहादुर विश्वकर्मा सदस्य रहेका छन् । यस कार्यदलले विगतमा उठाउँदै आएको मुद्दा, मधेस आन्दोलनका क्रममा सरकारसँग भएको सहमति, सम्झौताको संकलन गर्दै मधेसी, थारूसहित अन्य उत्पीडित जनताको अधिकार कायम गराऊँ अन्य दलसँग सहजीकरण समेत गर्नेछ । लोसपा अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधनका लागि विगतमा उठाउँदै आएको मुद्दा संकलन र सहकार्यका लागि कार्यदल गठन गरिएको बताएका छन् । लोसपाको सम्पन्न पदाधिकारी बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो । नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)बीच भएको सात बुँदे सहमतिमा संविधान संशोधन गर्ने विषयसमेत उल्लेख गरिएको छ । लोसपा अहिले यही गठबन्धनमा रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा लोसपा सहभागीसमेत भएको छ । बैठकमा नेताहरूले नेतृत्वको आलोचना गर्दै पार्टीको गतिविधि क्रियाशील नभएको, प्रदेश, जिल्ला, पालिकाको समेत अधिवेशन नभएको र सुस्त गतिमा पार्टीको कार्य भएको भन्दै पार्टीलाई क्रियाशील बनाउँन सुझाव दिएका थिए । सोही आधारमा पार्टीको केन्द्रीय कमिटीलाई महाधिवेशन तयारी मूल समितिमा परिणत गरिएको छ । कात्तिक मसान्तभित्रमा जिल्ला तहमा साधारण सदस्यता वितरण अभियान चलाउने निर्णयसमेत बैठकले गरेको छ । यसैगरी, बैठकले पार्टीको महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ । जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट विभाजन भएर लोसपा गठन भएको करिब तीन वर्ष बित्नै लाग्दा महाधिवेशन गर्ने निर्णय भएको छ । जसपाले हालै आफ्नो महाधिवेशन जनकपुरमा सम्पन्न गरिसकेको छ । ‘बैठकमा अध्यक्ष महन्थ ठाकुरको आलोचना गर्दै पार्टी गतिविधि शून्य भएको नेताहरूले आरोप लगाए । पार्टीमा परिवारवाद, नातावाद, कृपावाद हाबी भएकाले पार्टीको अवस्था सुस्त भयो’ एक पदाधिकारीले राजधानीसँग भने, ‘सधैं सत्ताको वरिपरि घुम्ने, पार्टीको कार्यक्रम केही पनि नहुने, अधिवेशनहरू नहुने, संगठन निर्माण लथालिङ हुनुमा पार्टी अध्यक्ष नै जिम्मेवारी हो, भ्रातृसंगठनको हालत झन् लथालिङ छ, यसरी पार्टी चल्दैन, कमाइ खाने भाँडोका रूपमा पार्टीलाई राख्नु ठीक होइन ।’ पार्टीको निर्णय सार्वजनिक गर्दै ठाकुरले भनेका छन्, ‘बृहत् राजनीतिक शक्ति अभियान निर्माणमा सहकार्य गरेका सबै व्यक्ति र शक्तिलाई घर वापसीका लागि बैठकले सर्वसम्मत निर्णय गर्दछ ।’ बैठकले बृहत् राजनीतिक शाक्ति अभियान निर्माणमा सहकार्य गरेका सबै व्यक्ति र शाक्तिलाई पार्टीमा गोलबन्द हुन आह्वानसमेत गरेको छ । पार्टीबाट विद्रोह गरेका वरिष्ठ नेता राजेन्द्र महतोसहितका अरू नेतालाई पार्टीमा फर्किन आग्रहसमेत गरिएको छ । ठाकुरको कार्यशैलीप्रति आपत्ति जनाउँदै महतोले पार्टीबाट विद्रोह गर्दै नयाँ शक्ति निर्माणको अभियानमा लागेका छन् । गत फागुनमा पार्टीबाट विद्रोह गरेका महतो अहिले राष्ट्रिय मुक्तिक्रान्ति अभियानको नामले देश दौडाहा गर्दै नयाँ दल गठन गर्ने आन्तरिक तयारीमा जुटेका छन् । ‘सरकारले यथाशीघ्र विषयगत शिक्षकको नियुक्ति गरी समयसापेक्ष सीपमूलक पाठ्यक्रमको निर्माण गरोस्’ लोसपाले गरेको निर्णयमा उल्लेख गरिएको छ । यसैगरी, बैठकले माध्यामिक शिक्षा परीक्षा (एसइई)को परिणाम खस्किँदै गइरहेकामा चिन्ता व्यक्त गर्दै विषयगत शिक्षकको आभाव र समयसापेक्ष पाठ्यक्रम नभएका कारण नतिजा खस्केको निष्कर्ष निकालेको छ । पार्टीले विषयगत शिक्षकको नियुक्ति तथा समयसापेक्ष सीपमूलक पाठ्यक्रमको निर्माण गर्न सरकारसँग मागसमेत गरेको छ । मधेस प्रदेशलगायत अन्य जिल्लामा बालिनाली सुक्खाग्रस्त भएकाले किसानलाई अल्पकालीन र दीर्घकालीन व्यवस्थापन गर्न सरकारसँग माग गर्ने निर्णय गरिएको अध्यक्ष ठाकुरले जनाएका छन् । लोसपाले ऊखु किसानले हालसम्म नेपाल सरकारबाट पाउनुपर्ने अनुदान प्राप्त गर्न नसकेकाले तत्काल अनुदानको रकम निकासका लागि माग गरेको छ ।

Like