नयाँ सरकार गठनको संविधानको धारा १६८ (५) अनुसार आह्वान
रासंसा/मोरङ, बैशाख २७,
मुलुकमा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसार नयाँ सरकार गठनको आव्हान गरेका छन् । बुधबार एमाले र माओवादीले दिएको निवेदनका आधारमा प्रदेश प्रमुख खापुङले राती साढे १० बज्न लाग्दा २८ गते शुक्रबार अपरान्ह ५ बजेसम्मको समय दिएर सरकार गठनको आह्वान गरेका हुन् । उनले गरेको आव्हानमा अनुसार भोलि बिहान दाबी प्रस्तुत गर्ने एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । उनका अनुसार दिउँसो प्रदेश प्रमुखले सांसदहरुलाई सनाखत गराउने छन् । मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिएपछि बुधबार दिनभर एमाले र माओवादी नयाँ सरकार गठनको आह्वान गराउन सक्रिय भएका थिए । सोही अनुसार प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आह्वान गरेका हुन् । प्रदेशसभामा बहुमत जुटाउनसक्ने कुनै पनि सदस्यलाई मुख्यमन्त्रीको दाबी पेश गर्न प्रदेश प्रमुखले आव्हान गरेका हुन् । मुख्यमन्त्री केदार कार्की पनि संविधानको सोही उपधारा अनुसार नियुक्त भएका हुन् ।
