पार्टी जिम्मेवारीबाट राष्ट्रियसभा उपाध्यक्ष घिमिरे अलग
रासंसा/काठमाण्डौ, बैशाख १०,
मुलुकमा राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले पार्टीको सबै जिम्मेवारीबाट अलग भएकी छन्। आइतबार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रियसभा उपाध्यक्षको जिम्मेवारीका कारण पार्टीको सबै जिम्मेवारीबाट अलग भएको जानकारी गराएकी हुन्। उनले राष्ट्रियसभाको उपाध्यक्ष पदमा रहेर संविधान, प्रचलित कानून र राष्ट्रियसभा नियमावली बमोजिमका कामहरू तटस्थ र निष्पक्षताका साथ निर्वाह गर्ने प्रतिबद्धता समेत जनाएकी छन्। सत्ता समीकरणको सहमति बमोजिम उपाध्यक्षबाट उर्मिला अर्यालले राजीनामा दिएपछि गत चैत २८ गतेको निर्वाचनमा घिमिरे राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन्। उनी एमालेबाट राष्ट्रियसभा सांसद थिइन्। उपाध्यक्ष पदमा बहाल रहेसम्म कुनै पनि राजनीतिक पार्टीको जिम्मेवारी लिन नमिल्ने भएका करण उनले पार्टीको जिम्मेवारीबाट अलग भएको जानकारी गराएकी हुन्। उनले उपसभामुख, राष्ट्रियसभा उपाध्यक्ष तथा स्थानीय तहको उपप्रमुखको पद महिलाकै लागि हो भन्ने मानसिकता बनेको भन्दै त्यसलाई चिर्नुपर्ने चुनौती रहेको बताइन्। आइतबार आफ्नो कार्यकक्षमा सञ्चारकर्मीसँग कुराकानी गर्दै घिमिरेले राष्ट्रियसभा उपाध्यक्षको आफ्नै अधिकारहरू रहेको र सो पद अध्यक्षको छायाँको रूपमा नरहेको समेत दाबी गरिन्। महिला सांसदहरूले संसद्मा बोलेको कुरालाई लिएर २०६४ सालको संविधानसभादेखि नै टिका–टिप्पणी गरिने गरेको उनले बताइन्। ऐतिहासिक रूपमा पछाडि पारिएका महिलाहरू एक्कासि राजनीतिमा आएर सांसद हुँदा उनीहरूको बोल्ने क्षमता नहुनु स्वभाविक भएको भन्दै त्यही कमजोरीलाई लिएर उनीहरूको उछितो काट्नु गलत भएको उनको भनाइ थियो। महिला सांसदहरूले बोलेको कुराको आसयलाई हेर्नुपर्नेमा बोल्दा गर्ने अभिनयलाई लिएर टिकाटिप्पणी हुने गरेको उनले बताइन्। महिलाले बोलेको कुराको भाव के थियो भन्ने कुरातर्फ ध्यान दिई कसरी बोलीन भन्ने कुराले उनीहरूलाई होच्याउने किसिमले टिकाटिप्पणी गर्ने मानसिकतालाई त्याग्नुपर्ने उनको भनाइ छ।