भूकम्पपछिको पुनर्निर्माणमा जाजरकोटमा जनशक्ति अभाव

Share to:

टिकाराम सिङ/जाजरकोट, बैशाख

मुलुकमा भूकम्पका कारण घरबास गुमाएर अस्थायी टहरामा गुजारा चलाइरहेका भूकम्पपीडित मापदण्ड अनुसार भूकम्प प्रतिरोधी घर निर्माण गर्न दक्ष सिकर्मी तथा डकर्मी (मिस्त्री) खोज्ने तनावमा छन् । जिल्लामा सिकर्मी र डकर्मीसम्बन्धी राम्रो ज्ञान नभएका दक्ष तथा अदक्ष जनशक्तिकै अभाव र अलिअलि सिकेका जनशक्ति बिदेसिने क्रम बढेकाले पुनर्निर्माणमा ढिलाइ हुने देखिएको रेडक्रस कर्णाली प्रदेशका महासचिव नरबहादुर नेपालीले बताए । ‘अहिलेसम्म यहाँ जोजति सिकर्मी र डकर्मीले काम गरिरहेका छन्, उनीहरूले परम्परागत तरिकाबाटै घर बनाइरहेका छन्,’ उनले भने, ‘दक्ष जनशक्ति स्थानीयस्तरमा छैनन्, जसका कारण मापदण्डअनुरुप र भूकम्पप्रतिरोधी घर निर्माण गर्न ठूलो चुनौती छ ।’ जाजरकोटका केही पालिकाले आफ्नै तर्फबाट पुनर्निर्माणको काम सुरु गर्न खोजे पनि जनशक्ति अभावले समस्या भएको छ । आफ्नै लगानीमा घर बनाउन खोज्ने भूकम्पपीडितलाई पनि कामदार नहुँदा समस्या भएको छ । बारेकोट गाउँपालिकाका पूर्वअध्यक्ष महेन्द्र शाहले सदरमुकाम खलंगास्थित थाप्लेमा घर भत्किएपछि आफैं मापदण्डअनुरूपकै निर्माण गर्न खोजेका थिए । जसका लागि २ महिनाअघि त्यसको सुरुवात पनि गरे । तर अझै पहिलो तलाको काम पनि पूरा हुन सकेको छैन । ‘पछि कामदार पाइन्नन् कि भनेर पहिल्यै घर बनाउन खोजेको,’ उनले भने, ‘अहिले पनि कामदार नपाउँदा घर कहिले पूरा हुने हो थाहा छैन ।’ गत कात्तिक १७ को भूकम्पले सबैभन्दा बढी मानवीय तथा भौतिक क्षति व्यहोरेको भेरी नगरपालिका–३ पिपेका कमल रानाले अहिलेको अवस्थामा घर निर्माण गर्ने दक्ष सिकर्मी र डकर्मी (मिस्त्री) पाउनै छाडिएको जनाए । उनले पनि सरकारी अनुदान नलिएरै घर निर्माण गर्न खोजे पनि कामदार अभावका कारण सुरु गर्न नसकेका हुन् । ‘यहाँ काम सिकेपछि विदेश गइहाल्छन्,’ उनले भने, ‘अस्थायी टहरा निर्माणमा पनि जनशक्ति अभावकै समस्या भोग्यौ, अब पनि नयाँ घर बनाउन कामदारकै समस्या देखियो ।’ अहिले पनि स्थानीय बजारमा भारतीय मिस्त्रीबाट काम चलाउनु परिरहेको उनको भनाइ छ । भूकम्प प्रभावित पालिकाहरूमा पूर्वाधार निर्माण तथा भूकम्पप्रतिरोधी आवास निर्माणका लागी कर्णाली प्रदेश सरकारको भैतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय दक्ष जनशक्ति तयार गर्न जुटेको छ । भूकम्पमा सहयोग गर्न आएका विभिन्न अन्तर्राष्ट्रिय र स्थानीय गैरसरकारी संघसंस्थासँग समन्वय गरेर आगामी २ महिनामा ५ सय दक्ष जनशक्ति उत्पादन गर्ने योजना बनाएको मन्त्रालयका कानुन अधिकृत विकास डीसीको भनाइ छ । पुनर्निर्माणका लागि अर्धदक्ष कामदारसमेत अभाव भएको भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले बताए । अस्थायी आवास पनि सिकारु मिस्त्रीले नै बनाएको उनले जनाए । ‘जिल्लामा अहिले निर्माण मजदुरले दैनिक ८ सयदेखि ९ सय रुपैयाँसम्म ज्याला पाउँदै आएका छन्, यस हिसाबले मजदुरले यहाँ मासिक २५ हजारसम्म आम्दानी गर्न सक्छन्,’ उनले भने, ‘तर विदेश जाँदा मासिक ४० देखि ५० हजारसम्म कमाउन सकिने लोभले धेरै अदक्ष मजदुरसमेत बिदेसिएका छन् ।’ उनका अनुसार जिल्लाभरि घर निर्माणका लागि कम्तीमा १० हजार कामदार चाहिने अवस्था छ । जनशक्ति अभावको समस्या समाधान गर्न हेल्भेटासले बढी भौतिक क्षति भएका जाजरकोटको भेरी र नलगाड नगरपालिका तथा रुकुम पश्चिमको आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा झन्डै ५ सय युवालाई भूकम्पप्रतिरोधी घर निर्माणको ‘ए लेभल’को तालिम दिन थालेको छ । भूकम्प प्रभावित पालिकामा पूर्वाधार निर्माण गर्न उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटले पनि जनशक्ति तयार गरिरहेको छ । जिल्लाका सबै ठाउँमा निर्माण हुने सुरक्षित तथा अस्थायी आवास निर्माण गर्न १२ क्लस्टरमा तालिम दिएर जनशक्ति तयार पार्ने काम जारी रहेको कार्यालयका प्रमुख महेन्द्रकुमार भडेलले बताए । पहिलो चरणमा भेरी नगरपालिका–१ र ३ लाई लक्षित गरी तालिम सुरु गरिएको हेल्भेटासका सीप तथा पुनर्निर्माण परियोजना संयोजक दिनेश पाण्डेले बताए । बुधबारदेखि सुरु भएको ५० दिने तालिमले पुनर्निर्माणमा जनशक्ति अभावको समस्या समाधान गर्न केही सहयोग पुग्नेछ । भूकम्प प्रतिरोधी घर निर्माण गर्दा डकर्मीको अभाव हुन नदिन र पुनर्निर्माण गर्दा देखिन सक्ने समस्या समाधानका लागि प्रदेश सरकारसँग मिलेर काम गरिने पाण्डेले जानकारी दिए । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ७३ हजार ८ घर भत्किएकामा अहिलेसम्म झन्डै ६८ हजार अस्थायी आवास बनेको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ । अस्थायी आवास बनाउन सरकारले २ किस्तामा गरी २५/२५ हजार रुपैयाँ दिने निर्णय गरेको थियो । तर अस्थायी टहरा निर्माण गरेका भूकम्पपीडितले अझै दोस्रो किस्ताको रकम पाउन सकेका छैनन् ।

Like