रौतहटको गरुडाका मेयरसहित कर्मचारी नगरपालिकानै सुनसान पारेर भारत भ्रमणमा

Share to:

रासंसा/काठमाण्डौ, बैशाख ०५,

मुलुकमा जिल्लाको गरुडा नगरपालिकाका मेयरसहित ३० जनाको टोली भारत भ्रमणमा हिँडेपछि नगरपालिकाको दैनिक कामकाजमा समस्या उत्पन्न भएको स्थानीयको गुनासो रहेको छ । मेयर कन्थमणी प्रसाद कलवार, उपप्रमुख पुनम कुमारी चौधरी, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगर परिषद सदस्यहरुसहितका तीन दर्जनको जम्बो टोली भ्रमण हिँडेपछि दैनिक कामकाजमा समस्या भएको गरुडाका सेवाग्राही दीनानाथ सहनीले गुनासो गरे । अहिले नगरपालिकाका सबै जनप्रतिनिधि धार्मिक भ्रमणको नाममा झोलितुम्बा बोकेर भारततिर लागेपछि अहिले गरुडा नगरपालिकाको कार्यालय सुनसान देखिएको छ । यहाँका जनप्रतिनिधि र कर्मचारी भ्रमणका लागि जिल्ला बाहिर मात्र नभइ छिमेकी मुलुक भारतमा पुगेका छन् । उनीहरु तिर्थयात्रा भनि भारतको हरीद्धार, अयोध्यालगायतका ठाउमा तिर्थ भ्रमणमा पुग्ने योजना रहेको भ्रमण दलका एक सदस्यले बताए । जनप्रतिनिधिहरुनै नगरपालिका र वडा कार्यालयमा नभएपछि सेवा प्रवाहमा समस्या भएको उनको भनाइ छ । रोचक कुरा त के छ भने सो नगरपालिकाका मेयरविरुद्ध आन्दोलनमा उत्रेकी उपमेयरसमेत हिसावकिताव मिलेपछि मेयरसँगै भ्रमणमा निस्केकी हुन् । उपमेयर पुनम कुमारी चौकरी मेयरले नगरपालिकाको रकम हिनामिना गरेको भन्दै केही समय पहिला नगरपालिकाको मुल गेटमा ताला लगाएर धर्नामा बसेकी थिइन् । नगरपालिकाका जनप्रतिनिधिसहित कर्मचारी र सदस्यहरुको टोली भ्रमणमा गएको हो । टोलीनै एकैपटक भ्रमणमा निस्किएपछि नगरपालिकाको दैनिक काम प्रभावित भएको छ । नगरपालिकामा विभिन्न कामले आउने सेवाग्राही यतीबेला नगरपालिकाबाट रित्तो हात फर्कन बाध्य छन् । जनप्रतिनिधि नभएपछि नगरपालिकाको प्राविधिक, स्वास्थ्य, कृषि, पशु, सामाजिक सुरक्षा, महिला विकासलगायत शाखाका कर्मचारीहरुसमेत मोबाइल चलाएर दिन बिताउँदै देखिन्छन् । अहिले नगर प्रमुख कलवारसहितका टोली भारत पुगेका छन्। गरुडा नगरपालिका प्रमुख कन्थमणी कलवारसहित नगरको टोली भारतको विभिन्न धार्मिक तिर्थस्थल भ्रमणका लागि ६ लाख खर्च गरेर भारतको अयोध्यासम्म पुग्न लागेको स्रोतको भनाइ छ । राम नवमी पर्व परेर नगरप्रमुख कलवारले कार्यपलिकाका असन्तुष्ट पक्षलाई तिर्थस्थलको भ्रमण गराएर खुशी पार्न खोजेको आरोप स्थानीयको छ ।

Like