६२ वर्षीय वृद्ध नातिसँगै गुल्मीका बाजे एसईई दिंदै
रासना/गुल्मी, चित्र १६,
मुलुकमा गुल्मीमा एकजना पुरुषले ६२ वर्षको उमेरमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका छन् । जिल्लाको मदाने गाउँपालिका–६ फुर्कोट दहका टीकाबहादुर कुँवरले गाउँकै एक परीक्षा केन्द्रबाट एसईईको बिहीबार पहिलो पत्रको परीक्षा दिएका हुन् । पढ्ने चाहाना हुँदाहुँदै विशेष परिस्थितिले पढाइ रोकिएको परीक्षार्थी कुँवरले बताए । ‘मेरो सानैदेखि पढ्ने चाहाना थियो तर केही कारणले सानैमा छोड्नु पर्यो’, उनले भने, ‘मैले त्यही सानै उमेरमा देखेको सपना पूरा गर्न नातिसँगै परीक्षा दिन आएको हुँ ।’ कुँवरले गाउँपालिकामै अवस्थित म्यालपोखरी माध्यमिक विद्यालयको केन्द्रबाट परीक्षा दिएको केन्द्राध्यक्ष प्रेमबहादुर बोहोराले जानकारी दिए । कुँवर पृथ्वी माध्यमिक विद्यालयबाट नियमिततर्फका विद्यार्थी हुन् । उनका आफ्नै नाति पनि यसपालि हजुरबुवासँगै एसईईको परीक्षा दिंदै छन्। उनका नाति अंकित कुँवर गाउँकै पृथ्वी माध्यमिक विद्यालयका कक्षा १० मा अध्यनरत नियमित विद्यार्थी हुन् । हजुरबुबा नातिसँगै गएर एसईईको परीक्षा दिएका उनीहरु समाजमा उदाहरण बनेका छन् । उनले आफूमा इच्छाशक्ति भए पढ्न उमेरको बन्देज नलाग्ने शिक्षा दिएका छन्।