आज दिउँसो साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरिँदै

Share to:

रासंसा/काठमाण्डौ, चैत्र ६,

मुलुकमा सत्तारूढ दलको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार आज दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयबाट साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्न लागिएको हो । कार्यदलमा एमाले उपाध्यक्ष पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादी केन्द्रबाट उपमहासचिव एवम् अर्थमन्त्री वर्षमान पुन र जनार्दन शर्मा, रास्वपाबाट उपसभापति स्वर्णिम वाग्ले र महामन्त्री डा. मुकुल ढकाल तथा जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यद्वय मनीष सुमन, राजेन्द्र श्रेष्ठ, एसका उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल सहभागी थिए। फागुन २१ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी, नेपालबीच ८ बुँदे सहमति गर्दै नयाँ सत्ता समिकरण बनेको हो। नयाँ सत्ता गठबन्धन निर्माण भएपछि दलहरूले न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन गरेका हुन्। यस अगाडि सत्तारूढ दलले निर्माण गरेको न्यूनतम साझा नीति तथा कार्यक्रमको कार्यदल संयोजक एवं एमाले उपाध्यक्ष विष्णु पौडेलले शनिबार बालुवाटारमा माओवादीका अध्यक्षसमेत रहेका प्रचण्ड, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली लगायतका नेतालाई हस्तान्तरण गरेका थिए। उक्त कार्यदलको मस्यौदा शीर्ष नेताबीच छलफल गरेर आज सिंहदरबारबाट प्रधानमन्त्री प्रचण्डले सार्वजनिक गर्ने सचिवालयले जनाएको छ। गत पुष १० मा एमाले, माओवादी,रास्वपा र जसपा सरकारमा सामेल हुँदा बनेको नीति तथा कार्यक्रम सम्पादन गरेर ल्याइएको छ। नयाँ सत्ता समीकरण परिवर्तन भएसँगै फागुन २१ मा नीति तथा कार्यक्रमका लागि कार्यदल बनाइएको थियो। एस गठबन्धनमा सामेल भएपछि हमाल र भुसाल थपिएका हुन्।

Like