अमेरिकी सदनबाट टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक पारित

Share to:

एजेन्सी,

विश्वमा टिकटकले उसको चिनियाँ मूल कम्पनीसँग सम्बन्ध विच्छेद गर्ने वा संयुक्त राज्य अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने विधेयक अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट बुधबार पारित भएको छ । टिकटकले विश्वभर लोकप्रियतामा वृद्धि गरेको छ तर यसको चिनियाँ स्वामित्व र बेइजिङमा कम्युनिस्ट पार्टीको सम्भावित अधीनले विश्वसामु चिन्ता पैदा गरेको छ । भिडियो शेयरिङ गर्न मिल्ने र १७ करोड अमेरिकी प्रयोगकर्ताहरूले प्रयोग गर्दै आएको चिनियाँ एप टिकटकका लागि यो कानुनले ठूलो धक्का दिने विश्लेषकहरूले बताएका छन् । टिकटकका विषयमा राजनीतिक रूपमा विभाजित वासिङ्टनमा एकताको दुर्लभ क्षण सिर्जना भएको छ । सांसदहरूले प्रस्तावित कानूनको पक्षमा ३५२ र विपक्षमा ६५ मत दिएका छन् । अमेरिकी प्रतिनिधि सभाका सभामुख माइक जोनसनले मतदानपछि भने, ‘आजको मतदानमा संसद्भित्रका दलहरूबीचको एकताले चीनले अमेरिकीहरूमाथि जासुसी गर्ने र छलछाम गर्ने प्रयासको विरोध गरेको देखाउँछ र हाम्रा शत्रुहरूलाई रोक्ने हाम्रो सङ्कल्पलाई सङ्केत गर्दछ ।’ रिपब्लिकन र डेमोक्र्याट दुवैले चुनावी वर्षमा टिकटकका भावुक युवा प्रयोगकर्ताहरूको क्रोधको जोखिम उठाएपछि एप प्रयोगको विपक्षमा आएको चेतावनीले धेरैलाई आश्चर्यचकित पारेको छ । अमेरिकी निर्वाचनमा युवाहरूको भावना र भूमिकालाई महत्वपूर्ण मानिन्छ । उनले भने, ‘म सिनेटलाई पनि यो विधेयक पारित गर्न र राष्ट्रपतिलाई पठाउन आग्रह गर्दछु ताकि उहाँले यसलाई कानूनको रूपमा मान्यता दिन हस्ताक्षर गर्न सक्नुहुनेछ ।’ मतदानपछि टिकटकका प्रमुख कार्यकारी अधिकृत शो जी च्यूले सामाजिक सञ्जाल एक्समा पोस्ट गरिएको एक भिडियो भनेका छन्, ‘हामी यो अद्भुत प्लेटफर्मको सुरक्षाका लागि हाम्रो कानुनी अधिकारको प्रयोगसहित सबै कार्य जारी राख्नेछौं । हामीलाई विश्वास छ हामी (टिकटक र यसका प्रयोगकर्ता) मिलेर यस अवरोधको अवस्थालाई पार गर्न सक्छौं । आफ्नो संवैधानिक अधिकारको रक्षा गर्नुहोस् । तपाईहरू आफ्ना आवाजहरूलाई अमेरिकी जनता र विश्वसामु सुनाउन कानुनी सङ्घर्ष जारी राख्नुहोस् ।’ यो विधेयकको विषय सिनेटबाट अनुमोदन हुन अझै बाँकी छ । अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त विधेयक संसद्बाट पारित भएर आए त्यसमा हस्ताक्षर गर्ने बताएका ह्वाइट हाउसले जनाएको छ । सिनेटमा विधेयकलाई पारित गर्न सिनेट नेता चक शुमरको समर्थन आवश्यक रहेको छ । उनले विधेयक सदनबाट पारित भएपछि मात्र सिनेटले कानूनको ‘समीक्षा’ गर्नेछ बताएका छन्।

Like