मनी ट्रान्सफर सञ्चालकमाथि राैतहटमा गोली प्रहार, तीन भारतीय पक्राउ

Share to:

रासंसा/रौतहट, चैत्र २,

मुलुकमा रौतहटको परोहा नगरपालिका– ९ खापचोकमा मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार भएको छ। खापचोकस्थित शिवम् मनी ट्रान्सफरमा लुटपाटका क्रममा लुटेराहरूले सञ्चालक २६ वर्षीय नितेश साहलाई गोली प्रहार गरेका हुन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डिएसपी एलिजा गिरीले घाइतेलाई उपचारका लागि वीरगन्ज पठाइएको बताइन्। लुटपाटमा संलग्नलाई तीनजना पक्राउ परेका प्रवक्ता तथा डिएसपी गिरिले जानकारी दिइन्। शुक्रबार दिउँसो हतियारसहित मोटरसाइकलमा आएको तीनजनाको समूहले मनी ट्रान्सफर सञ्चालक साहलाई धम्क्याउँदै लुटपाट गर्‍याे। सो क्रममा लुटेरा समूहले साहलाई गोली प्रहार गरेको हो। गोली साहको कान छेडेर बाहिर निस्केको प्रहरीले जनाएको छ। पक्राउ पर्ने तीनैजना भारतीय नागरिक हुन्। भारत मोतीहारीका मुनिशकुमार यादव, राजनकुमार पासवान र चन्द्रभान सिंहलाई प्रहरीले पक्राउ गरेको छ। रकम लुटपाट गरेर भागेका उनीहरूलाई प्रहरीले एक थान पेस्तोलसहित घटनाको केहीबेरमै नियन्त्रणमा लिएको हो। प्रहरीले घटनामा प्रयोग भएको मोटरसाइकल पनि बरामद गरेको छ।

Like