घरपरिवारबाटै न्याय स्थापित गर्न सोच परिवर्तन गर्नुपर्छ – राष्ट्रपति पौडेल
रासंसा/काठमाण्डौ, फाल्गुण २५,
मुलुकमा राष्ट्रपति रामचन्द्र पौडेलले लामो संघर्ष र लडाइँबाट प्राप्त अधिकारलाई व्यवहारमा उतारेर समानता र न्याय स्थापित गर्न घरपरिवारबाटै संस्कार र सोच परिवर्तन गर्नुपर्ने बताएका छन्। राष्ट्रपति पौडेलले नेपालमा सबैभन्दा बढी श्रम गर्ने वर्ग अपमानित भएकोमा चिन्ता प्रकट गर्दै श्रमको सम्मान गर्ने संस्कारको विकास जरुरी रहेको पनि बताए। ११४औँ अन्तर्राष्ट्रीय महिला दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा शुक्रबार यहाँ आयोजित समारोहमा बोल्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन्। राष्ट्रपति पौडेलले जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिलाको आर्थिक, सामाजिक, राजनीतिकलगायत विकासका विविध आयाममा समान र अर्थपूर्ण सहभागिताविना आर्थिक सशक्तीकरणका राष्ट्रिय आकांक्षा पूरा हुन असम्भवजस्तै भएको बताए। महिलाको जीवनस्तरमा सारभूत परिवर्तन नहुँदासम्म समृद्ध राष्ट्र निर्माणको गन्तव्यमा पुग्न सकिँदैन भन्दै उनले जसलाई पूरा गर्न तीनै तहका सरकारले नीति, योजना र कार्यक्रम तय गरी लागू गर्नेमा आफू विश्वस्त रहेको बताए। उनले वर्तमान अवस्थामा राजनीतिक, आर्थिक एवं सामाजिक क्षेत्रमा महिलाको प्रतिनिधित्व क्रमशः वृद्धि भएको उल्लेख गरे। नेपालको संविधानले महिलाउपर हुने सबै प्रकारका भेदभावको अन्त्य गर्दै समानुपातिक‚ समावेशी एवं समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको उनको भनाइ थियो।