अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

सुदूरपश्चिमको तरंग माओवादी केन्द्रसम्म

Share to:

रासंसा/कैलाली, फाल्गुण १८,

मुलुकमा गत महिना नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेताबाट र अस्ति (१५ फागुन) प्रदेश इन्चार्जबाट स्थायी कमिटी सदस्य खगराज भट्टलाई हटाइएपछि पार्टीको आन्तरिक कलह प्रदेशदेखि केन्द्रसम्म तरंगित भएको छ । तर, माओवादी केन्द्रको गत मंगलबार बसेको स्थायी कमिटी बैठकले खगराजलाई संसदीय दलको नेताबाट हटाउने दलका बहुमत सदस्यको निर्णयलाई अनुमोदन गरेको छ । डडेल्धुराबाट गत निर्वाचनमा माओवादी केन्द्रको उम्मेदवार भएर प्रदेशसभा सदस्य निर्वाचित खगराजलाई गत माघ दोस्रो साता संसदीय दलको बैठकबाट बहुमत सदस्यले हटाएर मानबहादुर धामीलाई संसदीय दलको नेता चुनेको थियो । माओवादी केन्द्रको प्रदेश कमिटीले भने सो निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको थियो । त्यस्तै, जनप्रतिनिधिलाई इन्चार्जको जिम्मेवारी नदिने पार्टीको निर्णयानुसार उनलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीबाट समेत हटाइएको छ । स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश (सेती महाकाली)को इन्चार्जमा उपमहासचिव गिरिराजमणि पोखरेल र सहइन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य बिना मगरलाई दिएको छ । सहइन्चार्ज बिना माओवादी केन्द्र अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी हुन् । स्थायी कमिटीको सो निर्णयमा उपमहासचिव जनार्दन शर्मा प्रभाकरले लिखित रूपमै असहमति उल्लेख गरेका छन् । बैठकमै लिखित असहमति दर्ता गराएका माओवादी केन्द्रका प्रभावशाली नेता प्रभाकरले भनेका छन्– ‘सेती–महाकालीमा केही समयदेखि इन्चार्ज बनाउन अध्यक्षसमेतको संलग्नतामा गरिएका गतिविधिहरूका आधारमा दर्जनबढी कमरेडहरूलाई बेवास्ता गर्दै, स्थायी समिति सदस्य खगराज भट्टलाई दलको नेता र इन्चार्ज दुवैबाट पदच्यूत गरी विकल्प नदिई अपमानित गरिएको छ, सो प्रदेशमा हाललाई बिना मगरलाई सहइन्चार्ज बनाउनुले सेती–महाकालीमा पार्टीलाई अस्तव्यस्त पार्ने मात्र नभई कतिपय कामरेडलाई यस पार्टीमा स्थान नै छैन भन्ने सन्देश दिन गरिएको निर्णय आफैंमा गम्भीर छ, खगराज भट्टलाई यो वा त्यो जिम्मेवारीबाट सन्तुलन नगरी राजनीतिक रूपबाट विस्थापित र अपमानित गर्ने कार्यप्रति आपत्ति प्रकट गर्दछु ।’ स्थायी कमिटीको निर्णयप्रति लिखित रूपमै असहमति व्यक्त गरेका खगराजले बुधबार (१६ गते) सामाजिक सञ्जालमा पोस्ट गरेका छन्– ‘सुदूरपश्चिमको पार्टी सिध्याउने र मेरो ३४ वर्षको राजनीतिक जीवन समाप्त पार्ने डिजाइन अस्वीकार्य छ ।’ स्थायी समिति सदस्य खगराज कुनै बेला माओवादी केन्द्रमा डा. बाबुराम भट्टराईनजिक रहेका थिए । माओवादी पार्टीका तत्कालीन नेता लेखराज भट्ट माओवादी केन्द्रको सुदूरपश्चिम इन्चार्ज हुँदा खगराज सहइन्चार्ज थिए । सर्वोच्च अदालतको आदेशबाट तत्कालीन नेकपा विघटन भएपछि लेखराज एमालेमा समाहित भए । त्यसपछि खगराज माओवादी केन्द्रको सुदूरपश्चिम इन्चार्ज बनेका थिए । गत मंगलबारको माओवादी केन्द्रको स्थायी समिति बैठकले खगराजलाई संसदीय दलको नेताबाट हटाउने प्रदेश संसदीय दलको निर्णयलाई अनुमोदन गर्नुका साथै नयाँ प्रदेश इन्चार्ज र सहइन्चार्ज तोकेपछि कुँडिएका खगराजले प्रदेशसभा सदस्यबाट राजीनामा दिनुका साथै पार्टी नै परित्याग गर्ने मुडमा पुगेको चर्चा चलेको थियो । राजनीतिक वृत्तमा चलेको चर्चानुसार उनी नेकपा एमालेमा प्रवेश गर्न तयार भएका छन् ।
गत वर्ष प्रदेशसभाको निर्वाचनपछि एमालेको नेतृत्वमा प्रदेश सरकार बनेपछि खगराज माओवादी केन्द्रबाट बिनाविभागीयमन्त्री बनेका थिए । तर, केही दिनमै राजनीतिक समीकरण बदलियो । केन्द्रमा पुनः नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भयो । सुदूरपश्चिम प्रदेशमा पनि सोही समीकरणनुसार नयाँ गठबन्धन बन्यो । सुदूरपश्चिम प्रदेशसभामा माओवादी केन्द्रका ११ सदस्य रहेका छन् । १२ माघमा बसेको माओवादी केन्द्र संसदीय दलको बैठकमा खगराजलाई बहुमतबाट हटाइएको थियो । यसअघि प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीसमेत बहुमत प्रदेशसभा सदस्यहरूले अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड र अन्य शीर्ष नेताहरूसँग भेट गरी संसदीय दलको नेतृत्व परिवर्तन गर्न ‘आग्रह’ गरेको चर्चा बाहिरिएको थियो ।तर, उनले सो चर्चाको ठाडै खारेज गरे । काठमाडौंमा रहेका नेता खगराजले भने, ‘पार्टी छोड्नेहरूले सपना देख्न पाउँछन्, तर जीवनका उर्वर कालखण्ड पार्टीका लागि रगत पसिना बगाएको, असाध्य दुःख कष्टसहित पार्टी निर्माणमा काम गरेको मजस्तो व्यक्तिले पार्टी छोड्दैन, यहीभित्र रहेर अन्तरसंघर्ष गर्छ ।’ नेकपा माओवादी केन्द्रभित्र सुरुदेखि नै दुईवटा गुट रहँदै आएका थिए । गुटबन्दीका कारण नै ५ वर्षसम्म मुख्यमन्त्री रहेका त्रिलोचन भट्टले गत निर्वाचन (२०७९साल) मा प्रदेशसभाको टिकट पाएनन् । उनको निर्वाचन क्षेत्रबाट उनकै स्वकीय शिवसिंह ओलीले टिकट पाए । पछिल्लो निर्वाचनमा केन्द्रीय सदस्य बिना मगर प्रतिनिधिसभा सदस्यमा पराजित भइन् । उनको पराजयमा समेत पार्टीभित्रको आन्तरिक गुटबन्दीको असर परेको चर्चा चल्दै आएको थियो । उनले नम्बरी जग्गामा लफडा प¥यो भनेर सल्लेरीको ऐलानी जग्गामा घर बनाउन जाने कुरा नभएको भन्दै व्यंग गरे । उनले आफूमाथि पार्टीभित्र अन्याय भएको दाबी गरे । खगराजले भने, ‘यो (पार्टी) कोही कसैको व्यक्तिगत पेवा होइन, यो पार्टी निर्माणमा लाखौंको रगत पसिना बगेको छ, ममाथि अन्याय भएको छ, तर मैले व्यक्तिगत रूपमा के पाउने वा गुमाउने भन्ने होइन, हामी लाखौं संघर्षशील कार्यकर्ताहरूको संघर्षको उपादेयता र इतिहासमाथि नै प्रश्न उठाइएको छ, पार्टीको पछिल्लो महाधिवेशन र विधान अधिवेशनले दिएको ऐतिहासिक कार्यभारको मर्मनुसार नेतृत्व जान नचाहेर यथास्थिति र परम्परागत रूपमा अघि बढ्न खोजेको छ ।’ गत माघमा खगराजलाई संसदीय दलको नेताबाट हटाउने बहुमत सदस्यमध्येका एक प्रदेशसभा सदस्य अक्कलबहादुर रावल भने ‘संसदीय दलभित्र र पार्टी नेतृत्वलाई विश्वासमा लिन नसक्नु उनको (खगराज) कमजोरी’का रूपमा चित्रण गर्छन् । प्रदेशसभा सदस्य रावलले भने, ‘उहाँ (खगराज)ले पार्टी छोड्ने कुरा गर्नुुहँुदैन होला, बरु यो अवस्था किन आयो भनेर आत्ममन्थन गर्नुहुन्छ होला ।’ माओवादी केन्द्रका नेताहरू स्थायी कमिटीको पछिल्लो निर्णयपछि प्रदेशमा पार्टीभित्र गुटबन्दी बढ्ने नभइ पुराना गुटहरू समाप्त हुने दाबी गर्छन् । प्रदेशसभा सदस्य रावल पनि भन्छन्, ‘स्वयं खगराजजी नै सहइन्चार्ज बिनालाई इन्जार्च बनाउनेमा सहमत हुनुहुन्थ्यो, त्यसैले अब पार्टीभित्र पुराना गुटहरूको अन्त्य भएर नयाँ समीकरण र ध्रुवीकरण सुरु हुने देखिन्छ ।’ रावलले नेता खगराजले संसदीय दलमा सबैलाई मिलाएर साथमा लिन असमर्थ बनेको टिप्पणी गरे । उनले भने, ‘उहाँले न त संसदीय दलमा सबैलाई विश्वासमा लिन सक्नुभयो, न पार्टी हेडक्वार्टरलाई नै कन्भिन्स गर्न सक्नुभयो, यो अवस्था सिर्जना हुनुमा उहाँ (खगराज) आफैं जिम्मेवार हुनुहुन्छ ।’

Like