९ जना नोबेल पुरस्कार विजेता आउने, लुम्बिनीमा ‘शिखर सम्मेलन’ हुँदै
रासंसा/दाङ, फाल्गुण ०६,
मुलुकमा लुम्बिनीमा शिखर सम्मेलनको तयारी तिव्र पारिएको छ। लुम्बिनी प्रदेश सरकारको आयोजनामा बुद्धस्थल लुम्बिनीमा फागुन २८ र २९ गते चौथो अन्तर्राष्ट्रिय बालबालिका, विकास र शान्तिका लागि लरिएट्स एन्ड लिडर्स शिखर सम्मेलनको तयारी तिव्र पारिएको हो। नेपालमा पहिलोपटक हुन लागेको सम्मेलनको तयारी तीव्र बनाएको आयोजक समितिले जनाएको छ। अमेरिकामा सचिवालय रहेको लिडर्सको स्टेरिङ कमिटीमा सन् २०१४ का नोबेल पुरस्कार विजेता भारतका कैलाश सत्यार्थीले सम्मेलनको संयोजन गरिरहेका छन्। शिखर सम्मेलनमा विभिन्न राष्ट्रका ९ जना नोबेल पुरस्कार विजेताको सहभागिता हुने निश्चित प्रायः भएको छ। ९ जना नोवेल पुरस्कार विजेतासँगै ३ सय बढी उच्चतहका विशिष्ट प्रतिनिधिहरूको सहभागितामा लुम्बिनी सरकारले शिखर सम्मेलन गर्न लागेको मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताए। संघीय सरकारको स्वीकृति र मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेश सरकारको आयोजना र व्यवस्थापनमा फागुन २८ र २९ गतेसम्म लुम्बिनीमा शिखर सम्मेलन हुन लागेको लुम्बिनी मुख्यमन्त्री कार्यालयका सचिव सुमन घिमिरेले जानकारी दिए। सम्मेलनको तयारीका लागि आवश्यक परामर्श गर्न मुख्यमन्त्रीसहितको टोलीले केही दिन अघि संघीय सरकार र राजनीतिक नेतृत्वसँग छलफल गरिसकेको छ। कैदाश सत्यार्र्थीको सहभागितामा काठमाडौंँमा छलफल भएको हो। परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित १३ सदस्यीय व्यवस्थापन समिति र प्रदेश सरकारका मन्त्रीहरू सहभागी विभिन्न उपसमितिको जिम्मेवारीमा छन्। प्रदेशका कार्यक्रम संयोजक एवं मुख्यमन्त्री कार्यालयका सचिव सुमन घिमिरेका अनुसार ती पाहुनाहरूको टिकट, आवास र सुरक्षाका लागि समन्वयनको काम भइरहेको छ। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपालमा पहिलोपटक हुन लागेको सम्मेलन सफल पार्न चुनौतीपूर्ण भएकाले व्यवस्थापनमा विशेष ध्यान दिनुपरेकाले विशेष संवाद र छलफल भइरहेको बताए। ‘भारतमा प्रवीण मुखर्जीले राष्ट्रपति भवनमा यो सम्मेलन गर्नुभएको थियो। नेपालमा हामीले काठमाडौंँबाहिर गरिरहेका छौं। त्यसैले सम्मेलन सफल पार्न धेरै विषयमा ध्यान दिनुपर्ने हुन्छ’, मुख्यमन्त्री चौधरीले भने, ‘यसकारण पनि संघीय सरकारसँग समन्वयन गरेर काम गरिरहेका छौं।’ सम्मेलन सम्पन्न गर्न प्रदेश सरकारले ६ करोड ५० लाख रुपैयाँँ बजेट विनियोजन गरेको छ। सम्मेलनका क्रममा लुम्बिनी प्रदेशको विकास, सम्भावना र स्रोतको व्यवस्थापनबारे विकासोन्मुख राष्ट्रका प्रतिनिधिहरूसँग प्रदेश सरकारको छुट्टै नीतिगत छलफल गर्नेछ। लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सम्मेलनस्थल लुम्बिनी छनोट गर्नुमा विश्वमै शान्तिस्थल भनेर चिनिएकाले यसको महत्व बढाउन सम्मेलनको आयोजना गरिएको बताए। शान्ति र करुणाको सन्देश दिने ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक स्थल लुम्बिनीको ब्रान्डिङ गर्न यो सम्मेलन साधक हुने मुख्यमन्त्री चौधरीले बताए। सम्मेलनबाट लुम्बिनीलाई विश्वले फरक रूपमा चिन्ने र शान्तिको सन्देश दिने विश्वास गरिएको छ। लुम्बिनीमा हुने शिखर सम्मेलनमा ९ जना नोबेल पुरस्कार विजेता सहभागिता हुने तय भएको छ। विश्वकै प्रतिष्ठित नोबेल शान्ति पुरस्कार विजेता सन् २०१५ का अब्देससतार वेन मौसा र विदेद बुसामाबुई, २०१४ का भारतका कैलाश सत्यार्थी, २०१३ का विजेता एरी वार्सल, २०११ का विजेताद्वय लेहम बोवी र टवाको कम्र्यान, सन् १९९७ का जोडी विलियम्स, १९९६ का जोजे रामोस ओर्टा र १९९३ का नोबेल शान्ति पुरस्कार विजेता रिचर्ड रोबर्ट्स सहभागी हुनेछन्।