आन्दोलनका बाँकी काम पनि पूरासंगै हामी फेरि शक्तिशाली बन्नेछौं, – प्रधानमन्त्री
रासंसा/काठमाण्डौ, माघ २७,
मुलुकमा प्रधानमन्त्री पुष्पकमल दाहालले पहिचान र अधिकारको पक्षमा संघर्षरत राजनीतिक शक्ति र नेतृत्वमा गोलबन्द हुनुपर्ने बताएका छन्। आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा ७५३ स्थानीय तहको निर्धारण, स्थानीय तहको निर्वाचन, संघीयताअनुरूप कार्यालयहरूको स्थापनामा महत्त्वपूर्ण कामहरू भएको स्मरण गर्दै प्रधानमन्त्री दाहालले तेस्रो कार्यकालमा संघीयता कार्यान्वयनलाई उच्च प्राथमिकतामा रहेर काम गरिरहेको स्पष्ट पारे। सोनाम ल्होछारका अवसरमा टुडीखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले पहिचान र अधिकारका पक्षधर वर्ग, जाति र समुदायको सहयोगमा संघीयता कार्यान्वयनले गुणात्मक फड्को मार्न सकिने बताए। ‘म यसै मञ्चबाट विशेष अनुरोध गर्दछु, पहिचान र अधिकारको पक्षमा संघर्षरत राजनीतिक शक्ति र नेतृत्वलाई तपाईंहरूले राम्रोसँग चिन्नुस्, यसको वरिपरि गोलबन्द हुनुस्,’ उनले भने, ‘फेरि हामी शक्तिशाली हुनेछौं, आन्दोलनका बाँकी कार्यभारहरू पूरा हुनेछन्।’यही अवधिमा राष्ट्रिय समन्वय परिषद्का दुई बैठक सम्पन्न भएको बताउँदै उनले कार्यविस्तृतीकरण प्रतिवेदन परिमार्जनको अन्तिम प्रक्रियामा रहेको बताए। ‘मुख्यतः संघीय निजामती सेवा ऐन, संघीय शिक्षा ऐन, संघीय प्रहरी ऐनलगायतका संघीय ऐनहरू पारित गर्न मैले उच्च महत्त्व दिएको छु। प्रहरी समायोजनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ,’ उनले भने। उनले राष्ट्रिय सोनाम ल्होछार-२८६० ले क्रान्तिकारी नीति र नेतृत्वको वरिपरि हुँदै थप अधिकार प्राप्तिको दिशामा एकताबद्ध भई अगाडि बढ्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरे। पहिचान र अधिकार स्थापित गर्ने संविधान जारी गर्नका लागि दसौं हजार वीरयोद्धाहरूले बलिदान गरेको बताउँदै उनले क्रान्तिकारी शक्ति, पार्टी र नेतृत्वलाई बलियो बनाएर मात्र संविधानको प्रगतिशील कार्यान्वयन र थप अधिकारको आधारशीला खडा हुनसक्ने बताए।