यस पनि हिउँद सुक्खा नै रह्यो
रासंसा/काठमाण्डौ, माघ २६,
मुलुकमा यो वर्ष पनि हिउँद सुक्खा रहेको छ । मुलुकमा पश्चिमी वायुको प्रभाव हुन नसकेकाले यो वर्षको हिउँद सुक्खा भएको हो । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको हावापानी विश्लेषण शाखाका अनुसार ‘विन्टर’ (हिउँद) मा ६०.१ मिलीमिटर वर्षा हुनुपर्ने भए पनि हालसम्म १.९ मिलीमिटरमात्रै पानी परेको छ । ‘विन्टर’ मा सरदर तापक्रम भन्दा बढी तातो र चिसो देखिएको छ । औसतभन्दा कम पानी परेको छ । शाखाकी प्रमुख तथा वरिष्ठ मौसमविद् विभूति पोखरेलले भनिन्, ‘जनवरीको मसान्तमा ११ प्रतिशत पानी परेको थियो, त्यसपछि पानी पर्न सकेको छैन, हालसम्मको तथ्याङ्क हेर्दा यो वर्षको विन्टर सुक्खा देखिएको छ ।’ शाखाका मौसमविद् सुदर्शन हुमागाईंका अनुसार ‘विन्टर’ को डिसेम्बरमा सरदर अधिकतम् तापक्रम २०.५ डिग्री सेल्सियस हुनु हुनुपर्छ । तर यो वर्ष सो महिनामा अधिकतम तापक्रम २०.५ डिग्री सेल्सियस भन्दा १.२ डिग्री सेल्सियस बढी देखिएको छ । यस्तै, डिसेम्बरमा सरदर न्यूनतम सामान्य तापक्रम ७.२ डिग्री सेल्सियस हुनुपर्छ । तर यो न्यूनतम सामान्य तापक्रम पनि १.२ डिग्री सेल्सियस बढेको छ । यस्तै, अघिल्लो हिउँदमा सरदरभन्दा बढी तापक्रम रहेको उनले बताए । ‘विन्टर’ मा ६०.१ मिलीमिटर पानी पर्नु पर्ने तर हालसम्म १.९ मिलीमिटरमात्रै पानी परेको छ । अघिल्लो वर्षको हिउँदमा २१.५ प्रतिशत अर्थात् १२.९ मिलीमिटर पानी परेको थियो । डिसेम्बरमा मौसममा उतारचढावको रेकर्ड ब्रेक भएको वरिष्ठ मौसमविद् पोखरेलले बताइन् । ‘हाइ टेम्प्रेचर ३०.८ डिग्री सेल्सियसम्म पुग्थ्यो भने गत डिसेम्बरमा २७.५ डिग्री सेल्सियस मात्र पुगेको छ,’ उनले भनिन्, ‘जनकपुरमा ३२.३ डिग्री सेल्सियसम्म पुगेको रेकर्ड ब्रेक भएको थियो भने यस वर्ष ३०.५ डिग्री सेल्सियससम्म पुग्यो, हाइएस्ट डेली प्रिसिपिटेशन रेकर्ड ब्रेक भएको छ । जस्तै, मनाङमा हाइएस्ट प्रिसिपिटेशन १०.४ डिग्री सेल्सियस तापक्रम थियो भने यो वर्ष १६.१ डिग्री सेल्सियससम्म भएको छ ।’ उनका अनुसार हालसम्म मौसममा बदली हुने तर पानी नपर्ने भएकाले यस्तो रेकर्ड ब्रेक भएको हो । हिउँद सुक्खा हुँदा कृषिमा मात्रै नभइ सम्पूर्ण वातावरणीय शृङ्लामा असर पर्ने विज्ञहरूले बताएका छन् । समयमा पानी नपरेमा जमिनमा पानीको सतह घट्ने, वन जङ्गलमा डढेलो लाग्ने सम्भावना बढ्ने, वन्यजन्तु अन्यत्र सर्ने, हाइड्रो क्षेत्रमा पानीको मुहानहरु सुक्ने लगायत नेपालको जैविक विविधतामै प्रभाव पर्ने मौसमविद् हुमागाईँले बताए । पछिल्लो समय पानी नपरेकाले दिउँसो र रातिको तापक्रममा धेरै नै उतारचढाव भएको विज्ञहरुको भनाइ छ । ‘दिउँसोको तापक्रम बढी हुने र राति तापक्रम घट्ने देखिएको छ,’ वरिष्ठ मौसमविद् पोखरेलले भनिन्, ‘दिउँसोको तापक्रम नर्मलभन्दा बढी थियो, राति तापक्रम उत्तरतिर चिसो देखियो, दक्षिणतिर नर्मल भन्दा अलि बढी नै तापक्रम देखिएको छ ।’ विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । लुम्बिनी प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी शनिबार दिउँसोको समयमा लुम्बिनी प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
रातको समयमा सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । विभागका अनुसार गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी शनिबार दिउँसोको समयमा लुम्बिनी प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । रातको समयमा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यो वर्षको ‘विन्टर’ सुक्खा नै रहने मौसमविद्हरुको अनुमान छ ।