प्रधानमन्त्रीको भनाई जनताको भविष्य हेरेर बजेट बनाउनुपर्छ

Share to:

रासंसा/काठमाण्डौ, माघ २५,

मुलुकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यको प्राथमिकता र जनताको भविष्यलाई ध्यानमा राखेर आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नुपर्ने बताएका छन्। उत्पादन वृद्धि र रोजगारी सिर्जना हुने खालका योजनालाई विशेष प्राथमिकतामा राखेर योजना छनोट गर्न उनले मन्त्रालयहरूलाई निर्देशन समेत दिए। सिंहदरबारमा आज ‘आगामी वर्षको राष्ट्रिय स्रोत अनुमान’सम्बन्धी छलफलमा प्रधानमन्त्री दाहालले जनतालाई केन्द्रमा राखेर बजेटको ‘सिलिङ’ तोक्नुपर्नेमा जोड दिएका हुन्। ‘बजेट बनाउँदा यथार्थपरक होऔँ। ‘प्रोएक्टिभ’ भएर स्रोत जुटाउनेतिर सोचौँ’, प्रधानमन्त्री दाहालले भने, ‘हाम्रो नीति तथा कार्यक्रम र बजेटले जनताको विश्वास जित्नुपर्छ। व्यवस्थालाई बलियो बनाउनुपर्छ।’ ‘विगतमा योजना आयोग र मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच केही अन्यौलता देखिने गरेको थियो, अब त्यसो हुनहुँदैन।’ उनले भने। बजेट विशुद्ध अर्थशास्त्र मात्र नभएर राजनीतिक अर्थशास्त्र भएको उल्लेख गर्दै प्रधानमन्त्रीले विगत वर्षमा हुने गरेका असमझदारीलाई अन्त्य गर्ने गरी अगाडि बढ्नुपर्ने बताए।

Like