आज अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइदै
रासंसा/काठमाण्डौ, माघ १२,
जनवरी २६ तारिखका दिन भन्सार दिवस मनाइने कार्य भने विश्व भन्सार सङ्गठनले तय गरेको हो । आज नेपालमा पनि विभिन्न जागरणका कार्यक्रम अनि गोष्ठी लगायत नागरिक उत्प्रेरणात्मक अनि जानकारीमूलक कार्यक्रम गरेर भन्सार दिवस मनाइन्छ ।
हरेक वर्षको जनवरी २६ तारिखका दिन विश्वभरि भन्सार दिवस मनाइन्छ । यस वर्ष सन् २०२४ को भन्सार दिवसको नारा Customs Engaging Traditional and New Partners with Purpose रहेको छ । निर्दिष्ट उद्देश्यका साथ परम्परागत र नयाँ साझेदारहरू संलग्न गर्ने भन्सार भन्ने अर्थ लाग्दछ । यस वर्ष भन्सारको परम्परागत र आधूनिक दुबै तवरहरुको विश्वभरि महत्व दर्शाइदै छ । दुई देशको सिमानामा एक देशबाट अर्को देशमा मालवस्तु निकासी पैठारी हुँदा लाग्ने महसुललाई भन्सार महसुल भनिन्छ । यो अप्रत्यक्ष कर हो । स्वदेशबाट विदेशमा मालवस्तु पैठारी हुँदा पैठारी महसुल लाग्छ । सामान्यतया सरकारले आयात र निर्यातमा लगाउने करलाई भन्सार भनिन्छ, भन्सार भन्नाले एउटा देश र अर्को देशबिचको सीमामा भएको वस्तु र सामानको लेखाजोखा राख्ने अड्डालाई जनाउँदछ । नेपाललाई दुई ढुङ्गाबिचको तरुलका रूपमा परापूर्वकाल देखि नै व्याख्या गरिदैं आएको छ, भारत र चीनसँग जोडिएका नेपालका धेरै भन्सार कार्यालयहरू छन् । नेपाल एउटा भूपरिवेष्टित देश भएकाले हामी नेपालीहरु का लागि भन्सारको महत्त्व अत्यन्त धेरै छ । यस्ता भन्सार कार्यालयहरूमा आयात या निर्यात गरिने सामानहरूको लेखाजोखा राखिन्छ, देशको कानुनअनुसार कर लगाइन्छ र मापदण्ड अनुसार पैठारी गरिन्छ । यसरी भन्सारले उठाउने महसुललाई राजश्वका रूपमा देशले विकास निर्माण, सुरक्षा आदि अनेक देश हितमा सरोकार राख्ने गतिविधिहरूका लागि प्रयोग गर्दछ । हामीले देखेका देश विकासका कदमहरू चाहे ती बाटो, स्कुल बनाउने देखि पुल र अन्य भौतिक पूर्वाधारहरू अनि विकासका अन्य मापदण्डप्रति सरकारको लगानीहरूमा धेरैजसोका श्रोतहरू यिनै राजश्व नै हुन् । चीनसँगका भन्सार नाकाहरु हुँदै या भारतसँगका नाका हुँदै ठुला ठुला मालवाहक गाडीमा आउने सामानहरू हाम्रा जीवनरेखाका रुपमा रहेका छन् । बिहानै उठ्ने बित्तिकै हामीले चिया खाने कपहरू, या प्रयोग गरेका विभिन्न प्रकारका विदेशी रिकापी अर्थात् कचौराहरू, चम्चाहरू, विदेशमा बनेर आयात गरिएका सम्पूर्ण सामानहरू, लत्ताकपडाहरू अनि प्रयोग गरिने मोबाइल लगायत कम्प्युटरहरू यिनै विभिन्न भन्सार कार्यालयहरू हुँदै आयात गरिएका हुन् । यस अर्थमा हाम्रो दैनिक जीवनमा चाहिने बस्तु अनि सेवाहरूको सरल अनि सहज आपूर्तिका लागि भन्सारको ठुलो महत्त्व छ । यहाँसम्म कि हामीले चढेका हरेक सवारीसाधनहरू लगायत तिनले खपत गर्ने हरेक थोपा इन्धनहरू अनि हाम्रो भान्सा कोठामा भएका प्रत्येक चिम्टी नुन समेत भन्सारकै नाका भएर आएको हो । भन्सार छलेर कुनै सामान या सेवाको आपूर्ति गर्नु कानूनतः ठुलो अपराध हो, वस्तु तथा सेवाको कानुनतः आपूर्ति गर्नका लागि भन्सार छल्नु सजायको भोगी हुनु हो । हरेक वर्ष भन्सार दिवसमा नेपाल सरकार अर्थ मन्त्रालयले एउटा निश्चित उद्देश्य निर्धारण गरी त्यो उद्देश्य प्राप्ति भए नभएको अनि त्यसका अन्य कठिनाइ र अभ्यासहरूको विषयमा छलफल गर्दछ । विभिन्न प्रकारका बन्द, चक्काजाम अनि आन्दोलनका कारणले वस्तु तथा सेवाको आयात निर्यातमा असर पर्दछ र राजश्व असुलीमा कठिनाइ हुन्छ ।
आयात अनि निर्यातका लागि चीन र भारत दुवै देशसँग व्यापार सम्झौता गरि नेपाल सरकारले कुनै एउटा देश भन्दा पनि समग्र संसारभरबाटै वस्तु तथा सेवाको विनिमय गर्न सफल होस् । एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल अर्थात् त्रिभुवन विमानस्थललाई अझ वैज्ञानिक अनि सहज बनाउँदै सहज आयात, निर्यातको व्यवस्था गर्न सकोस् । राष्ट्रसेवकहरूको निष्ठामा आँच नआओस् । विश्वमा कम्प्युटर प्रविधिबाट सहज अनि सरल बनाइएको भन्सारका लेखाजोखाका विवरण अनि हिसाबहरू नेपालमा अझै पनि अधिकांश रुपमा पुरानै ढड्डा अनि हस्त लिखित कागजमा भइरहेको छ, प्रविधिले नेपाली भन्सारलाई सर्लक्क बाँध्न सकोस् । नेपालीको हित होस् अनि नेपालको जय होस् ।