अन्य थपअर्थतन्त्रदेशप्रदेश-५ [लुम्बिनी]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

२३ करोडको सुन्तला गुल्मीमा उत्पादन

Share to:

रासंसा/गुल्मी, पौष २८,

मुलुकमा गुल्मीको धुर्कोट गाउँपालिका–१ नयाँगाउँका ५४ वर्षीय टीकाबहादुर हमालले विगत ३३ वर्षदेखि सुन्तलाखेती गर्दै आएका छन् । सुन्तलाखेतीबाटै उनले वार्षिक लाखौँको आम्दानी गर्दै आएका छन्। उनले कूल १२ रोपनी जग्गामा सुन्तलाखेती गर्दै आएका छन्। अहिले २५ हजार बोटमा सुन्तला उत्पादन भइरहेको उनले बताए। थप ४० हजार बिरुवा नर्सरीमा छन् । केही वर्षपछि ती बिरुवाले पनि उत्पादन दिँदा आम्दानी झनै बढ्ने हमाल बताउँछन्। सुन्तला बिक्रीको रकम घरखर्च चलाएर पनि बचत हुने गरेको हमाल बताउँछन्। ‘एक वर्ष बिराएर सुन्तलाको उत्पादन राम्रो हुन्छ, पोहोर साल रु आठ लाखको बिक्री भयो’, हमालले भने, ‘यस वर्ष उत्पादन अलि घटेकाले रु छ लाखको सुन्तला बिक्री भयो ।’ सुन्तला लिन घरमै व्यापारी आउने गरेका छन् । अहिले उनले प्रतिकिलो ६५ देखि ७० मा सुन्तला बिक्री गरेका छन्। पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाको प्रतिस्पर्धा भए पनि हमाल भने घरमै बसेर मनग्य आम्दानी गरिरहेका छन्। ‘यो पुर्ख्यौली पेसा हो, मैले व्यवसायीकरण गरेको मात्र हुँ’, उनले भने। नयाँगाउँकै कमला पोखरेलले पनि यस वर्ष सबै सुन्तला घरबाटै प्रतिकिलो ६५ मा बिक्री गरे। गत वर्ष ८० हजारको सुन्तला बिक्री गरेकी उनले यस वर्ष पनि सोही रकमकै हाराहारीमा बिक्री गरेको बताए। सुन्तला लिन व्यापारी घरमै आउने भएकाले बजारको कुनै समस्या छैन । ‘बारीमा तीन सय बोट छन्, केही साना बिरुवा पनि छन्’, उनले भने, ‘सुन्तला बिक्रीको रकमबाट घरमा चाहिने दैनिक उपभोग्य सामग्री किन्न सहयोग भएको छ ।’ पोखरेल र हमाल त सुन्तला बिक्री गर्ने केही प्रतिनिधि पात्र मात्रै हुन्। उनीहरुजस्तै जिल्लामा धेरैले सुन्तला बिक्री गरेका छन् । गुल्मीमा कूल एक हजार २७ हेक्टर क्षेत्रफल सुन्तला उत्पादनयोग्य जग्गा छ । त्यसमध्ये यस वर्ष छ सय २३ हेक्टर क्षेत्रफलमा छ हजार पाँच सय ७२ दशमलव चार मेट्रिकटन सुन्तला उत्पादन भएको छ । अहिले कूल सुन्तला बगैँचाको ६० प्रतिशत बोट फलेका छन् । आव २०७९/८० मा कृषक, कृषि ज्ञानकेन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र पालिकाको लगानीमा एक सय ३० हेक्टर क्षेत्रफलमा थप सुन्तलाखेती विस्तार गरिएको केन्द्रका प्रमुख भण्डारीले बताए। यस वर्ष जिल्लामा रु २३ करोडको सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । त्यसमा १२ करोड ८४ लाखको सुन्तला जिल्लाभन्दा बाहिर निर्यात भएको केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी दिए। सरकारले गुल्मीलाई ‘सुन्तला जोन’ भनी घोषणा गरेको छ । जिल्लाका पालिकाले पनि सुन्तलाखेती प्रवद्र्धन गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेका छन् । जिल्लाको धुर्कोट, रेसुङ्गा, मदानेलगायत क्षेत्रमा सुन्तलाखेतीका लागि चक्लाबन्दी कार्यक्रम नै सुरु गरिएको छ । धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले धुर्कोटमा सुन्तलाको बजारीकरणमा कुनै समस्या नभएको बताए। उनले सुन्तलाको उत्पादन वृद्धिका लागि सिँचाइ, प्रविधिलगायत विषयमा पालिकाले सहयोग गर्ने प्रतिक्रिया दिए।

Like