राष्ट्रिय सभा निर्वाचनमा आवश्यकभन्दा ३३ सिट बढी उम्मेदवार
रासंसा/काठमाण्डौ, पौष २४,
मुलुकमा राष्ट्रिय सभा सदस्यको १९ सिटका लागि आगामी ११ माघमा निर्वाचन हुँदै छ । ५९ सदस्यीय राष्ट्रिय सभामा २० सांसदको पदावधि २० फागुनपछि सकिँदै छ । २० मध्ये १ सिट सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने र १९ निर्वाचित सदस्य हुन् । आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सातवटै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । सोमबार सातै प्रदेशका सम्बन्धित निर्वाचन कार्यालयमा विभिन्न समूहका लागि ५२ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । १९ सिटका लागि हुने निर्वाचनमा सातै प्रदेशमा महिला समूहतर्फ १७, दलित समूहतर्फ ६, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार कोशी प्रदेशमा महिला समूहका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि तीन राजनीतिक दलका तर्फबाट जम्मा पाँच उम्मेदवार एवं मधेस प्रदेशमा महिला समूहका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि तीन राजनीतिक दलका तर्फबाट पाँच जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । बाग्मती प्रदेशमा महिला समूहका लागि चार राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि तीन राजनीतिक दलका तर्फबाट, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि चार राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि चार राजनीतिक दलका तर्फबाट जम्मा १५ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । लुम्बिनी प्रदेशमा महिला समूहका लागि तीन राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि चार राजनीतिक दलका तर्फबाट सात उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । गण्डकी प्रदेशमा महिला समूहका लागि तीन राजनीतिक दलका तर्फबाट, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि तीन राजनीतिक दलका तर्फबाट आठ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । कर्णाली प्रदेशमा महिला समूहका लागि दुई राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि दुई राजनीतिक दलका तर्फबाट ६ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । स्वीकृत निर्वाचन कार्यक्रमनुसार आज २४ पुसमा उम्मेदवारको विरोधमा उजुरी दिने, भोलि २५ र पर्सी २६ पुसमा मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, २७ पुसमा उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र २८ पुसमा उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गर्ने कार्यसूची रहेको आयोगले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा महिला समूहका लागि तीन राजनीतिक दलका तर्फबाट, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि दुई राजनीतिक दलका तर्फबाट पाँच उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । उम्मेदवारी दिनेमा सबैभन्दा बढी नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट १९ जना छन् । त्यस्तै, नेपाली कांग्रेसबाट १०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ९, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट ६, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट ४, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)बाट २, जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट १ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै, जनमत पार्टीले २ जना उम्मेदवार राष्ट्रिय सभामा उठाएको छ । एमाले, राप्रपा, नेमकिपा र जनमत पार्टीले एक्लाएक्लै राष्ट्रिय सभामा लड्ने भएका छन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाले भने गठबन्धन गरेका छन् । सत्तारूढ गठबन्धनमा जनमत पार्टी भए पनि उसले मधेस प्रदेशको अन्य समूह र लुम्बिनी प्रदेशको अन्य समूहतर्फ दुई उम्मेदवार उठाएको छ । कोशी प्रदेशमा २ सिटका लागि निर्वाचन हँुदै छ । कोशीमा महिला समूहतर्फ एमालेकी रुकमिणी कोइराला र सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी चम्पादेवी कार्कीबीचमा प्रतिस्पर्धा हुनेछ । कोइराला र कार्कीको मात्रै यसमा उम्मेदवारी परेको छ । कोशी प्रदेशमै अन्य समूहतर्फ एमालेका पर्शुराम अधिकारी, सत्ता गठबन्धनबाट कांग्रेसका कृष्णप्रसाद सिटौला, राप्रपाका उद्धव पौडेल गरी तीन जनाको उम्मेदवारी परेको छ ।यसैगरी, मधेस प्रदेशको अन्य समूहतर्फ एमालेकी कुमारी बिजेता झा, सत्ता गठबन्धनबाट कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जनमत पार्टीका रामशंकर महासेठ गरी तीन जनाको उम्मेदवारी परेको छ । मधेस प्रदेशमा १ महिला र १ अन्य समूह गरी २ सिटका लागि निर्वाचन हुँदै छ । मधेस प्रदेशमा महिला समूहतर्फ एमालेकी उषादेवी थरुनी र सत्ता गठबन्धनबाट जसपाकी पूजा चौधरीको उम्मेदवारी परेको छ । बाग्मती प्रदेशमा महिला, दलित, अपांगता भएको व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य समूहका ४ सिटका लागि निर्वाचन हुँदै छ । बाग्मतीमा महिला समूहतर्फ एमालेकी रोचकुमारी चौलागाई, सत्ता गठबन्धनबाट कांग्रेसकी विष्णुदेवी पुडासैनी, राप्रपाकी बालकुमारी डल्लाकोटी र नेमकिपाकी कृष्णलक्ष्मी दुवालको उम्मेदवारी परेको छ । बाग्मती प्रदेशको अपांगता भएको व्यक्ति वा अल्पसंख्यक समुदायको समूहतर्फ चार जनाको उम्मेदवारी परेको छ । एमालेबाट विवेक देवकोटा, सत्ता गठबन्धनबाट माओवादी केन्द्रका श्रीकृष्णप्रसाद अधिकारी, राप्रपाबाट भरतमणी भट्ट र नेमकिपाबाट हिमालयश्वरलाल मुलको उम्मेदवारी परेको छ । बाग्मती प्रदेशमा दलित समूहतर्फ एमालेका ध्रुवराज विश्वकर्मा, सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका घनश्याम रिजाल विश्वकर्मा, नेमकिपाकी संगीता नेपालीको उम्ेदवारी परेको छ । यसैगरी, बाग्मती प्रदेशको अन्य समूहतर्फ चार जनाको उम्मेदवारी परेको छ । एमालेबाट त्रिलोचन निर्मल पौडेल, सत्ता गठबन्धनबाट कांग्रेसका जितजंग बस्नेत, राप्रपाबाट हेमजंग गुरुङ र नेमकिपाबाट श्रीकृष्ण महर्जनको उम्मेदवारी परेको छ । गण्डकी प्रदेशमा महिला, अपांगता भएको व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य गरी ३ सिटका लागि निर्वाचन हुँदै छ । गण्डकीमा महिलातर्फ एमालेकी सम्झना देवकोटा, सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी मनरुपा शर्मा, राप्रपाकी गौमाया श्रेष्ठको उम्मेदवारी परेको छ । यसैगरी, गण्डकी प्रदेशमा अपांगता भएको व्यक्ति वा अल्पसंख्यक समुदाय समूहतर्फ एमालेका हेमन्द्र शेरचन, सत्ता गठबन्धनबाट कांग्रेसका पदमबहादुर परियारको उम्मेदवारी परेको छ । अन्य समूहतर्फ एमालेका चक्रबहादुर पराजुली, सत्ता गठबन्धनबाट कांग्रेसका किरणबाबु श्रेष्ठ र राप्रपाका रोमबहादुर भण्डारीको उम्मेदवारी परेको छ । लुम्बिनी प्रदेशमा महिला र अन्य समूह गरी २ सिटका लागि निर्वाचन हुँदै छ । महिलातर्फ एमालेकी तुलसाकुमारी केसी, सत्ता गठबन्धनबाट कांग्रेसकी विष्णुकुमारी सापकोटा र राप्रपाकी विजयालक्ष्मी सिंह गरी तीन जनाको उम्मेदवारी परेको छ । यसैगरी, लुम्बिनी प्रदेशको अन्य समूहतर्फ एमालेका झपेन्द्रबहादुर घर्ती क्षेत्री, सत्ता गठबन्धनबाट माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी, राप्रपाका निरञ्जनकुमार थापा र जनतम पार्टीका बालगोविन्द चौधरीको उम्मेदवारी परेको छ । कर्णाली प्रदेशमा महिला, दलित र अन्य समूह गरी ३ सिटका लागि निर्वाचन हँुदै छ । महिला समूहतर्फ एमालेकी बिमलाकुमारी शाही र सत्ता गठबन्धनबाट एकीकृत समाजवादीकी सावित्री मल्ल, दलित समूहतर्फ एमालेका हिक्मत विक र माओवादी केन्द्रका विष्णुबहादुर विश्वकर्माको उम्मेदवारी परेको छ । कर्णाली प्रदेशमा अन्य समूहतर्फ एमालेका डिल्लीप्रसाद भट्ट र सत्ता गठबन्धनबाट कांग्रेसका कृष्णबहादुर रोकायको उम्मेदवारी परेको छ । सुदूरपश्चिम प्रदेशमा महिला, अपांगता भएको व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य गरी तीन समूहका ३ सिटका लागि निर्वाचन हुँदै छ । सुदूरपश्चिम प्रदेशमा महिलातर्फ एमालेकी सावित्रादेवी घिमिरे र सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी रेनु चन्दको उम्मेदवारी परेको छ । सुदूरपश्चिम प्रदेशमा अपांगता भएको व्यक्ति वा अल्पसंख्यक समुदाय समूहतर्फ एमालेका रामचन्द्र जोशी र सत्ता गठबन्धनबाट कांग्रेसका नारायणदत्त भट्ट तथा अन्य समूहतर्फ एमालेका ईश्वरीप्रसाद खरेल र सत्ता गठबन्धनबाट कांग्रेसका बलदेव बोहराको उम्मेदवारी परेको छ । गत वर्ष निर्वाचनमा पराजित नेतामा कांग्रेसबाट कृष्ण सिटौला र जसपाबाट पूजा चौधरी रहेका छन् । सिटौला गत वर्षको निर्वाचनमा झापा क्षेत्र नम्बर ३ मा पराजित भएका थिए । गत निर्वाचनमा पराजित भएका विभिन्न राजनीतिक दलका केही नेता माननीय बन्ने पक्का भएको छ । गत वर्ष ४ मंसिरमा भएको आमनिर्वाचनमा पराजय भोगेका केही नेता आगामी ११ माघमा हुने निर्वाचनमार्फत माननीय बन्ने पक्का भएको हो । उनलाई राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले पराजित गरेका थिए । लिङ्देनले ४० हजार ६ सय ६२ मत पाउँदा सिटौलाले ३७ हजार ३ सय ८६ मत प्राप्त गरेका थिए । सिटौला २०७४ सालको निर्वाचनमा समेत पराजित भएका थिए । लगातार दुईपटक निर्वाचनमा पराजित उनी यसपटक भने संसद् पुग्ने निश्चितजस्तै भएको छ । उनलाई गठबन्धनको साथ रहेको छ । यसैगरी, जसपाबाट उम्मेदवार बनेकी चौधरी पनि यसअघि गत वर्ष भएको प्रदेशसभा निर्वाचनमा पराजित भएकी थिइन् । उनी रौतहट क्षेत्र नम्बर ३ को प्रदेशसभा क्षेत्र (१) मा उम्मेदवार बनेकी थिइन् । तर, स्वतन्त्र उम्मेदवार केशव रायसँग उनी पराजित भएकी थिइन् । निर्वाचनमा हारेको कार्यकालमै उम्मेदवार बनाउन नहुने भन्दै आलोचना भइरहेका बेला कांग्रेसले सिटौलालाई कोशी प्रदेशमा सत्ता गठबन्धनबाट उम्मेदवार बनाएको हो ।