काठमाण्डौ आउला त पानी ? १० दिनभित्र मेलम्चीको काम सकिदै
रासंसा/सिन्धुपाल्चोक, पौष १९,
मुलुकमा मेलम्ची खानेपानी आयोजनाको मर्मत कार्य अन्तिम चरणमा पुगेको छ। वि.सं. २०७८ असारमा आएको विनाशकारी बाढीले सो आयोजनाको मुहान क्षेत्रलाई तहसनहस बनाएको थियो। बाढीले क्षति पुर्याएका संरचनामा पुनः पानी पथान्तरण कार्य भइरहेको छ। सिनियर डिभिजनल इन्जिनियर कुँवरले भने, ‘अबका बाँकी काम केही कठिन रहेको छ। जस्तोसुकै परिस्थिति आए पनि अबको १० दिनभित्र काम सम्पन्न हुन्छ।’ उनले सरकारको लक्ष्यअनुसार नै पानी पथान्तरणका लागि तीव्र गतिमा काम भइरहेको बताए। सो अवसरमा सांसद अमरेशकुमार सिंहले सरकारले मेलम्ची खानेपानी आयोजनालाई उच्च प्राथमिकता दिएर बाह्रै महिना काठमाडौँवासीलाई पानी पु¥याउनुपर्ने बताए। आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरका अनुसार आयोजनाको मुहान क्षेत्रको मर्मत कार्य ७० प्रतिशत सम्पन्न भएको छ। यसैबीच बुधबार हेलम्बु- १ अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा भइरहेको कामबारेमा प्रतिनिधिमण्डलले स्थलगत अवलोकन गरेको छ। खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले दीर्घकालीन रूपमा काठमाडौँमा पानी लाने गरी मर्मत कार्य भइरहेको बताए। अवलोकनमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, सांसद सिंह, वित्त आयोगका सदस्य जुद्ध गुरुङ, विपिनराज निरौला, खानेपानी मन्त्रालयका सचिव आचार्य, खानेपानी विभागका महानिर्देशक कमलराज श्रेष्ठ, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारीलगायतको सहभागिता थियो। अहिले ४५ कामदारले द्रूत गतिमा काम गरिरहेको इन्जिनियर कुँवरले बताए। गत वर्षको बाढीले हेडवक्र्सको संरचनालाई करिब २० फिट अग्लो गेग्रानले पुरेको थियो। अहिले उक्त गेग्रान हटाएर अर्डिट सुरुङमा पसेको ढुंगा, गिटी र बालुवा झिक्ने काम भइरहेको छ। विसं २०७८ असारमा आएको बाढीले मुहान क्षेत्रलाई तहसनहस नै बनाएपछि पानी काठमाडौँ अस्थायी रूपमा ल्याउने गरिएको छ। –