कसको प्रतिस्पर्धा कोसँग ? राष्ट्रिय सभा निर्वाचनमा
रासंसा/काठमाण्डौ, पौष १९,
मुलुकमा राष्ट्रिय सभा सदस्यको निर्वाचन ११ माघमा हुँदै छ । प्रमुख दलहरू उम्मेदवार टुंगोसहित भागबन्डा र गठबन्धन गर्ने विषयमा एकअर्कासँग छलफलमा छन् । तर, सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेबीच गठबन्धन गरेर निर्वाचनमा सहभागी हुने भएपछि कसको कोसँग प्रतिस्पर्धा हुने भन्ने प्रश्न उठेको छ । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचनमा मिल्नुपर्ने प्रस्ताव गरेका छन् । निर्वाचन मिति नजिकिँदै जाँदा सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दलबीच गठबन्धन गरेर निर्वाचनमा सहभागी हुने विषयमा छलफल सुरु भएको छ । यद्यपि, कुन मोडेलमा सिटको बाँडफाट गर्ने विषयमा ठोस प्रस्ताव नआएको नेताहरू बताउँछन् । बुधबार प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच यस’boutमा त्रिपक्षीय छलफल भएको छ । बुधबार बिहान ठूला तीन दलका तीन नेताबीच छलफल भएपछि बुधबार दिउँसो नै सत्तारूढ गठबन्धनको बैठकमा यस विषयमा छलफल भयो । तर, गठबन्धनमा कुनै ठोस सहमति नभएको बताइएको छ । बैठकमा सहभागी जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सत्तारूढ गठबन्धनको बैठक निष्कर्षविहीन भएको बताउँदै बिहीबार बिहान पुनः छलफल हुने बताए । सत्तारूढ दलको बैठकपछि एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भने, ‘ओलीजीले प्रधानमन्त्रीलाई हामीलाई जिरो गरेर नजानुस् भन्नुभयो, त्यसपछि हामीले उहाँहरूको खास प्रस्ताव के हो ? भन्ने कुरा बुझेर मात्रै टुंग्याउँछौं ।’ सत्तारूढ गठबन्धनको बैठक सकिएलगत्तै प्रचण्ड, देउवा र ओलीबीच पुनः दोस्रो चरणको छलफल भएको थियो । सोमबार र मंगलबार यस’boutमा प्रचण्ड र ओलीबीच दुई पक्षीय छलफल भएको थियो । त्यसलगत्तै सो छलफलमा देउवा पनि सामेल भएका हुन् । ओलीले प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रिय सभामा आफूहरूलाई ‘जिरो’ नबनाउन आग्रह गरेका थिए ।एमालेलाई पनि समेटेर जान माओवादी र कांग्रेस सहमतिनजिक पुगेका बताइएको छ । सो विषयमा पाण्डेले यो ‘ससर्त’ हुनसक्ने बताए । उनले भने, ‘उहाँहरू सहमत भनेको कन्डिसनल हो, यति बुझ्नुस् कन्डिसनल भनेको के हुन्छ ? यसो गरेमा यसो गर्ने भन्ने हुन्छ ।’ आगामी ११ माघमा १९ सिटका लागि निर्वाचन हुँदै छ । रिक्त हुने १९ मध्ये ९ सिट एमालेको हो । सत्तारूढ दलहरू मिलेर निर्वाचनमा सहभागी भए एमालेले १ सिट पनि नजित्ने अवस्था छ । सोही कारण एमाले सत्तारूढ दलसँगै सहकार्य गर्न तयार भएको हो । एमाले एक्लै निर्वाचनमा सहभागी हुँदा १ सिट पनि नजित्ने भएकाले ओली सत्तारूढ दललाई फुटाएर वा उनीहरूसँगै सहकार्य गरेर निर्वाचनमा सहभागी हुने रणनीतिमा छन् । यी दुईमध्ये कुनै नभए एक्लै निर्वाचनमा उम्मेदवारी दिने एमालेको तेस्रो रणनीति छ । एमालेको प्रस्ताव स्पष्ट रूपमा आएपछि छलफल गर्न सकिने पाण्डेले बताए । अहिलेसम्म कुनै कुरा निष्कर्षमा नपुगेकाले आज (बिहीबार) बिहान ९ बजे फेरि बैठक बस्ने पाण्डेले बताए । बैठकमा गठबन्धन दलहरूबीच यसअघि आफूले जितेको सिट यथावत राखेर जान असहमति नभए पनि एमालेबाट जितेका ९ सिटमा कसरी भागबन्डा गर्ने भन्ने विषयमा दलहरूबीच सहमति नभएको उनले बताए । शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउनुपर्ने भएकाले पनि सत्ता गठबन्धनमा रहेका दलहरू एमालेसँग केही लचक बनेका बताइन्छ । सोही कारण प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाले ओलीसँग सहकार्य गर्ने विषयमा छलफल थालेका हुन् । प्रधानमन्त्री दाहालले राष्ट्रिय सभामा एमालेलाई केही सिट भाग दिएर टीआरसी विधेयकमा सहमति जुटाउने प्रयास गरेका हुनसक्ने विश्लेषण भइरहेका छन् । प्रमुख प्रतिपक्षी दल सत्तारूढ दलसँगै गठबन्धन गरेर निर्वाचनमा सहभागी भए कसको प्रतिस्पर्धा कोसँग हुने हो ? भन्ने राजधानीको जिज्ञासामा गौतमले भने, ‘हामी कसैलाई मिलेर निर्वाचनमा सहभागी हुनुपर्छ भनेर निवेदन हाल्न गएका छैनौं, हाम्रो छलफल गठबन्धनसँग नभई दलहरूसँग हो, हामी सबै दलसँग छलफल गरिरहेका छौं, सैद्धान्तिक सहमति भएपछि सिट बाँडफाँटको विषय पनि आउला, जुन दलसँग सहमति हुन्छ, त्यो दलसँग हामी मिलेर निर्वाचनमा सहभागी हुनसक्छौं ।’ अहिले एमालेका प्रदेश कमिटीहरूले उम्मेदवारका आकांक्षीको सिफारिस गर्दै केन्द्रमा पठाइरहेका छन् । आज (बिहीबार) प्रदेशका पदाधिकारीसँग पार्टी अध्यक्षले छलफल गरेपछि शुक्रबार बस्ने पार्टीको सचिवालय बैठकले उम्मेदवारको निर्णय हुने गौतमले बताए । एमालेले सबै दलसँग छलफल गर्न तयार रहेको बताउँदै उनले सैद्धान्तिक सहमति हुने दलसँग मिलेर, सहमति नभए एक्लै उम्मेदवार उठाएर निर्वाचनमा सहभागी हुने बताए । एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले एमालेले कुनै दलसँग मिलेर निर्वाचनमा सहभागी हुनुपर्ने भनेर निवेदन नहालेको बताए । यद्यपि, आफूहरूले सबै दलसँग छलफल गरेर सैद्धान्तिक सहमति हुने दलसँग सहकार्य गर्न तयार रहेकाले सोहीनुसार सबै दलसँग छलफल भइरहेको बताए । ‘एमालेले वाकओभर गर्दैन, उम्मेदवारी दिन्छ, एमाले एक्लै निर्वाचनमा सहभागी हुँदा विजयी नहुने मतभारले देखिन्छ, त्यसैले हामीले साना–ठूला सबै दलसँग छलफल गरेर सैद्धान्तिक सहमति हुने दलसँग मिलेर निर्वाचनमा सहभागी हुने नै हो, त्यसका लागि छलफल जारी छ,’ गौतमले भने । ५९ सदस्यीय राष्ट्रिय सभामा एमालेका हाल १७ सदस्य छन् । तीमध्ये ९ जनाको पदावधि २० फागुनमा सकिँदै छ । ११ माघमा हुने निर्वाचनमा एमाले एक्लै निर्वाचनमा गएको अवस्थामा २० फागुनदेखि उसका सांसद ८ जनामा सीमित हुनेछन् । सहमतिका नाममा राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई समेट्ने कांग्रेस र माओवादी केन्द्रको तयारीमा साना दल असन्तुष्ट बनेका छन् । राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग सहकार्य गर्न कांग्रेस र माओवादी केन्द्र सकारात्मक देखिएपछि सरकारलाई समर्थन गरेका साना दल असन्तुष्ट देखिएका हुन् । उता, कांग्रेसको देउवाइतर समूहले समेत राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग सहकार्य गर्न नहुने अडान राख्दै असन्तुष्टि व्यक्त गरेको छ । कांग्रेस सभापति देउवा राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग सहकार्य गर्ने कुरामा सकारात्मक देखिएपछि कांग्रेसको शेखर कोइराला समूहका एक नेताले भने, ‘प्रतिपक्षीबिनाको सरकारको औचित्य हुँदैन, कि कांग्रेस–एमाले मिल्नुप¥यो, कि त यही गठबन्धन कायम हुनुपर्छ ।’ जसपा, एकीकृत समाजवादी र जनमत पार्टीले राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग सहकार्य गर्न नहुने अडान राख्दै आएका छन् । गठबन्धनको एक घटक जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले गठबन्धनको बैठकमा आफूहरूलाई बोलाउन छोडिएको बताउँदै असन्तुष्टि व्यक्त गरेका छन् । निर्णय भएपछि सुनाउन आफूहरूलाई बोलाउने गरिएको बताउँदै उनले सत्तारूढ दलका शीर्ष नेताहरूप्रति आक्रोश व्यक्त गरे ।
