अर्थमन्त्रीको भनाई आर्थिक अनुशासन ल्याउने काम गर्दैछौं
मिनबहादुर कुँवर/कास्की, मार्ग २३,
मुलुकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक अनुशासनमा ल्याउने गरी सरकारले काम गरिरहेको बताएका छन्। आवश्यकभन्दा ठूला घोषणाले देशको बजेट त्यता केन्द्रित हुँदा डामाडोल भएको र त्यसको दायित्व तिर्न रिसोर्स कसरी जुटाउने भन्ने अवस्थामा आफू अर्थमन्त्री भएकाले आर्थिक अनुशासन ल्याउने काममा केन्द्रित भएको उनले बताए। उनले अर्थतन्त्रले विस्तारै पिकअप लिँदै गरेको बताए। उनले एकथरीले यो देश खत्तम छ भनेर गीत गाइरहेको बताउँदै यस्तो नचाहिँदो गीत गाउन आवश्यक नरहेको उनले बताए। पोखरामा शुक्रबारदेखि सुरु भएको आठौं पर्वतीय फेस्टिभलमा बोल्दै डा. महतले परिवारले जसरी आफ्नो आम्दानीको आधारमा के प्राथमिकता हो त्यो पूरा गरेपछि अरू गरे जस्तै आफू देशको अर्थतन्त्र चलाउन लागेको सुनाए। यसैले कतिपय अनावश्यक सुविधा प्राप्त गरिरहेका सबै आफूसँग रिसाएको पनि उनले बताए। जनताको करको सुरक्षा आफूले व्यक्तिगत आम्दानीभन्दा ज्यादा जिम्मेवार भएर उपयोग गर्नुपर्छ भन्ने मान्यता राखेर काम गरिरहेको उनले बताए। धेरै वर्षदेखि जम्मा भएको समस्याको पहाडलाई एक धक्कामा निमिट्यान्न पार्छु भनेर नसकिने भएकोले विस्तारै हटाउँदै जानु पर्ने अवस्था रहेकोले त्यसैअनुसार आफू अघि बढेको उनले सुनाए। मौद्रिक क्षेत्रमा व्यापक रूपमा ऋण प्रवाह गरिएकोले ह्वात्तै ऋण बढेको अर्थमन्त्रीले बताए। सहज मौद्रिक नीतिका कारण आन्तरिक ऋणदेखि सबै बढेको उनले बताए।