पोखरा-२४ का वडाध्यक्षलाई जातीय विभेदमा चार महिना कैद
मिनबहादुर कुँवर/कास्की, मार्ग ७,
मुलुकमा पोखरा महानगरपालिकाको वडा नम्बर २४ का अध्यक्ष भरतबहादुर अधिकारीलाई कास्की जिल्ला अदालतले जातीय विभेद् मुद्दामा साढे ४ महिना कैद र ७५ हजार रुपैयाँ जरिवाना सजाय तोकेको छ। त्यसविरुद्ध परेको मुद्दामा जिल्ला अदालत कास्कीका न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले बिहीबार वडाध्यक्षलाई कैद, जरिवाना र क्षतिपूर्ति भराउने फैसला गरेको हो। पीडित वडा सदस्य मैया नेपालीलाई १० हजार रुपैयाँ क्षतिपूर्तिको फैसला पनि अदालतले गरेको छ। वडाध्यक्ष अधिकारीले आफूलाई जातीय रुपमा विभेद गरेको आरोप वडासदस्य नेपालीले लगाएकी थिइन्। २०७९ पुस २४ गते नेपालीमाथि विभेद भएको थियो। जनप्रतिनिधि भएकैले अदालतले ३ महिनामा ५० प्रतिशत थप गरी साढे ४ महिना र ५० हजारमा ७५ हजार जरिवाना सजाय तोकेको हो। छुवाछुत र विभेद भएलगत्तै जाहेरी परेपछि वडाध्यक्ष अधिकारी २०७९ पुस २६ गते पक्राउसमेत परेका थिए। तर १५ दिन हिरासत परेपछि उनी धरौटीमा रिहा भएका थिए। तर बिहीबार जिल्ला अदालतले फैसला गर्दै कैद, जरिवाना र क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो।