मन्त्री साउदको भनाई विपिन जोशीको रिहाइका लागि सरकार लागिपरेको छ
रासंसा/काठमाण्डौ, मार्ग२,
मुलुकमा परराष्ट्रमन्त्री एनपी साउदले हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि सरकार लागिपरेको बताएका छन्। ‘विपिन जोशीको सकुशल रिहाइका लागि मैले कतार, अमेरिकी सरकारका विदेशमन्त्रीसँग पनि पटक-पटक पहल गरेको छु,’ उनले भने, ‘अन्तर्राष्ट्रिय रेडक्रस पनि लागेको छ। आज मात्रै मैले इजरायलस्थित नेपाली राजदूतसँगसमेत छलफल गरेको छु।’ शनिबार शुक्लाफाँटा नगरपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दै मन्त्री साउदले कूटनीतिक पहल गरेर जोशीको रिहाइमा लागिपर्ने बताएका हुन्। परराष्ट्रमन्त्री साउदले विपिन जोशीको रिहाइका लागि विभिन्न मुलुकसहितका पक्षसँग पहल भइरहेको बताए। मन्त्री साउदले कञ्चनपुरका आरक्षपीडितको समस्या समाधानका लागि अर्धन्यायिक आयोगमार्फत समस्या समाधान गरिने आश्वासन दिए। ‘आरक्षपीडितलाई जमिन वा मुआब्जा दिएरै भए पनि समस्या समाधान गर्न सरकार लागिपरेको छ,’ उनले भने, ‘अब पीडितलाई धेरै पर्खाउनुहुँदैन।’ अमेरिकी सरकारले आगामी २१ नोभेम्बरमा आफ्ना देशका नागरिकको उद्धारका क्रममा विपिन जोशीको रिहाइकोसमेत कुराकानी गरेको उनले बताए। इजरायल सरकारसँग सम्पर्क गर्दा विपिन जोशीलाई बन्धक बनाएर गाजा क्षेत्रमा सुरक्षित राखेको जानकारी आएको बताउँदै मन्त्री साउदले सकुशल रिहाइका लागि अन्तर्राष्ट्रिय निकायसँग अनुरोध गरेको बताए। शनिबार महेन्द्रनगरमा विपिन जोशीका आमाबाबुले मन्त्री साउदलाई भेटेरै यथाशीघ्र उनको रिहाइका लागि माग अघि सारेका थिए।
