पूर्वप्रधानमन्त्री भट्टराईको भनाई प्रचण्डको चीन भ्रमण तीर्थ यात्रामा सीमित भयो, राष्ट्रिय हितमा केन्द्रित भएन
रासंसा/काठमाण्डौ, आश्विन ११,
मुलुकमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण तीर्थयात्रामा सीमित भएको टिप्पणी गरेका छन्। बिहीबार बिहान ट्वीट गर्दै नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका डा. भट्टराईले प्रधानमन्त्रीको चीन भ्रमण नेपालको दीर्घकालीन राष्ट्रिय हितमा हुनुपर्नेमा तीर्थयात्रामा सीमित भएको भन्दै आलोचना गरेका हुन्। उक्त भनाईलाई लक्षित गर्दै डा. भट्टराईले भने, ‘नेपाल यतिवेला आन्तरिक रूपमा तीब्र संरचनात्मक आर्थिक संकट र बाह्य रूपमा इतिहासमै कमजोर अन्तर्राष्ट्रिय हैसियतको अवस्थामा छ। यस्तो बेला दूरदर्शी नेतृत्वले संकटलाई अवसरमा बदल्ने प्रयत्न गर्ने हो, न कि सतही अतिथि सत्कार र आफ्नै आसेपासेहरूको प्रशंसामा रमाएर बस्ने!’ प्रधानमन्त्री प्रचण्डले आफैँले अपेक्षा गरेभन्दा भ्रमण राम्रो भएको दाबी गरेपनि देशको आवश्यकता र सम्भावनाको कसीमा कति परिणाममुखी रह्यो भन्ने कुरा प्रमुख हुने भट्टराईको दाबी छ। चीनको स्वशासित क्षेत्र ल्हासा पुगेका प्रधानमन्त्री प्रचण्डले ल्हासामा अवस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भनेका थिए, ‘म अमेरिकादेखि नै आएँ र यस पटकको चीन भ्रमण कस्तो होला भन्ने पनि लागिरहेको थियो। तर अहिले मलाई महसुस भएको छ कि भ्रमण मैले, हामीले सोचेभन्दा पनि फरक भएको छ, सफल भएको छ।’ नेपालले इतिहासदेखि नै उत्तर र दक्षिणका दुई ठूला छिमेकीसँग छुट्टाछुट्टै रूपमा आफ्नो राष्ट्रिय हित अनुकुल सम्बन्ध राखेर लाभ लिँदै आइरहेको भट्टराईले स्मरण गराए । उनले चीन विश्वकै महाशक्ति बन्ने दिशातिर गइरहेको बेला उसले अघि सारेको बीआरआइ र जीडिआईलाई कसरी हाम्रो दीर्घकालीन राष्ट्रिय हितमा प्रयोग गर्ने भन्नेमा भ्रमण केन्द्रित हुनुपर्ने बताए। भारत र चीनको अर्थतन्त्रको मूल्य शृंखलासँग तालमेल मिलाएर अघि नबढी सम्भव नभएको उनले जिकिर गरे। डा. भट्टराईले भने, ‘सबैले लेखेर राखौं, सयौं वर्षदेखि अविकास/अल्पविकासको दुष्चक्रमा फस्दै आएको नेपालको तीब्र गतिको आर्थिक रूपान्तरण (दुई अंकको आर्थिक वृद्धिदर, दुई दशक निरन्तर) को लक्ष्य दुई ठूला छिमेकी अर्थतन्त्रको मूल्य शृंखलासंग तालमेल मिलाएर अघि नबढि सम्भवै छैन ! इतिहासले मलाई गलत साबित गरेमा खुशी हुनेछु।’ ‘अहिले २१ औं शताब्दिमा चीन विश्वकै पहिलो अर्थतन्त्र र महाशक्ति बन्ने दिशातिर गइरहेको बेला हामीले उसंगको निकट सम्बन्धमार्फत मुख्य रूपमा तीब्र आर्थिक रूपान्तरणको महत्वपूर्ण सम्भावना/अवसरको सदुपयोग गर्नुपर्ने हो। त्यसका निम्ति उसले अघि सारेको बीआरआइ र जीडिआईलाई कसरी हाम्रो दीर्घकालीन राष्ट्रिय हितमा प्रयोग गर्ने भन्नेमा प्रधानमन्त्रीको भ्रमण केन्द्रित हुनुपर्थ्यो ।’ प्रधानमन्त्रीलाई ट्वीटरमा मेन्सन गर्दै डा. भट्टराईले भने, ‘कमसेकम परम्परागत हिमाली पर्खाललाई छेडेर दुई देशको अर्थतन्त्रलाई जोड्ने आधुनिक यातायात/पारबहन पूर्वाधार छिटो निर्माण गर्न प्राथमिकता दिनुपर्थ्यो!तीर्थाटन त हुँदै गर्थ्यो।’