किन हुँदै छ मुलुक परनिर्भर ?

Share to:

रासंसा/काठमाण्डौ, आश्विन १०,

मुलुकमा नेपालमै उत्पादन हुनसक्ने कृषि उत्पादन नै बर्सेनि आयात हुन थालेसँगै मुलुक परनिर्भर बन्दै गएको हो । तरकारी, धान, चामल, भटमासको तेल, सूर्यमुखी तेल, औषधिलगायतका सामग्री आयात बढिरहेको छ । विद्युत्ले प्रतिस्थापन गर्न सकिने इन्धनको आयातमा कमी नआउँदा पनि मुलुक परनिर्भरको चपेटामा पर्दै गएको हो । मुलुक परनिर्भर हुँदै स्वदेशमै उत्पादन गर्न सकिने वस्तुको आयातमा निरन्तर अघि बढिरहेको छ । नेपालमा अत्यधिक आयात हुने प्रमुख वस्तुहरूमा डिजेल, पेट्रोल, खाना पकाउने ग्यास, हवाई इन्धन, फलामजन्य उत्पादन, स्टिल तथा फलामका पाता, स्मार्ट फोन, सुन, औषधिका कच्चा सामग्री, कोइला, युरिया, भटमासको तेल, धान, सूर्यमुखीको कच्चा तेल, मेडिकल उपचारका लागि आवश्यक सामग्री, अर्धनिर्मित फलामजन्य उत्पादन, छड, आटा, हवाईजहाज तथा पार्टपूर्जा, बिटुमन, पेयपदार्थ र मकैलगायत छन् । मुलुकको व्यापार घाटा बढाइरहेको प्रमुख कारक तत्वका रूपमा रहेको पेट्रोलियम पदार्थको आयातलाई विस्थापन गर्नेगरी विद्युत्को उपयोग गराउन नीति लिन सकिने अवस्था रहँदा पनि सरकारले बिजुली निर्यात गर्नेमा ध्यान दिएको मात्रै देखिएको छ । मुलुकमा नै बिजुली उपभोग गराउन प्रचार गर्ने र उत्प्रेरित गर्ने कार्य गर्न सकिएको छैन । साउन र भदौ महिनामा विकास निर्माण नहुने भएकाले खासै पेट्रोलियम पदार्थको खपत नहुने समयमा समेत ३४ अर्बको आयात हुनु परनिर्भरताको पराकाष्ठा भएको विज्ञहरूको भनाइ छ । चालू आर्थिक वर्ष २०८०÷८१ को पहिलो दुई महिनामा ५ अर्ब ४२ करोड ३१ लाख रुपैयाँको बिजुली निर्यात हुँदा पेट्रोलियम पदार्थको आयात ३३ अर्ब ७२ करोड रुपैयाँको भएको छ । भन्सार विभागका अनुसार दुई महिनामा ७ अर्ब ३४ करोड ७१ लाख २५ हजार रुपैयाँबराबरको डिजेल आयात भएको छ । यसैगरी, ५ अर्ब ४४ करोड ७० लाख ७६ हजार रुपैयाँबराबरको पेट्रोल आयात हुँदा ३ अर्ब ८२ करोड ७ लाख ३५ हजारको खाना पकाउने ग्यास आयात भएको छ । रासायनिक मलसहित अन्य युरिया मात्रै ३ अर्ब २४ करोड १७ लाखको आयात भएको छ । सुन मात्रै ४ अर्ब १२ करोड ८१ लाख ८३ हजार रुपैयाँको आयात भएको देखिएको छ । त्यस्तै, ३ अर्ब ७४ करोडको फलामजन्य उत्पादन र ३ अर्ब ३६ करोडको स्टिल तथा फलामका पाता आयात भएका छन् । ५ अर्ब ३६ करोड ५२ लाखको स्मार्ट फोन र २ अर्ब ९० करोडको धान आयात भएको छ । ३ अर्ब ५३ करोड ३१ लाखकोे कोइला आयात भएको छ । विभागका अनुसार २ अर्ब ९६ करोड ५० लाखबराबरको भटमासको कच्चा तेल आयात भएको छ । यसैगरी, २ अर्ब ८८ करोड रुपैयाँको सूर्यमुखीको कच्चा तेल आयात भएको छ । साउन र भदौमा ११ करोड ८ लाखको तरकारी आयात भएको छ । यसैगरी, मासु मात्रै करोडौंको आयात भएको छ । स्वदेशमै पशुपालनको सम्भावना हुँदाहुँदै पनि तयारी मासु मात्रै पनि दुई महिनामा २ करोड ३४ लाख रुपैयाँको आयात भएको छ । यसैगरी, २ करोड ६० लाखको माछा आयात भएको छ । फ्रोजन मासु मात्रै ३८ लाखको आयात भएको तथ्यांक भन्सार विभागको छ । यसैगरी, अन्य प्रकारका मासु २२ लाखको आयात भएको छ । मुलुकमा उत्पादन नहुने वस्तुको आयात हुँदा ठूलो समस्या नआउने भए पनि स्वदेशमै खेती हुने वस्तुको समेत आयात हुनु डरलाग्दो अवस्था रहेको छ । नेपालबाट कार्पेट, अलैंची, धागो, चिया, सिमेन्टजस्ता सामग्री निर्यात हुने गरेको छ । मुलुकका पहाडी क्षेत्रदेखि तराईका जुनसुकै भागमा पनि उत्पादन हुनसक्ने मकै मात्र पनि दुई महिनामा १ अर्ब ६३ करोड ८० लाख रुपैयाँबराबरको आयात भएको छ । यसैगरी, चिसो पेय पदार्थ मात्रै पनि साउन र भदौमा १ अर्ब ५२ करोड २ लाखको आयात भएको छ । ल्यापटप १ अर्ब ४४ करोड १६ लाखको आयात भएको छ । बासमती चामल ८९ करोड १२ लाखको आयात भएको तथ्यांकले देखाएको छ । दुई महिनामा ४९ करोड ५९ लाखको मोटरसाइकल र इलेक्ट्रिक कार पनि ४९ करोड ६५ लाखको आयात भएको छ । ताजा स्याउ मात्र पनि १ अर्ब ४२ करोड २० लाखको आयात भएको तथ्यांक रहेको छ । यसैगरी, आलु १ अर्ब ३३ करोड ९६ लाखको आयात भएको छ भने ९५ करोड ७३ लाखको प्याज आयात भएको छ । स्वदेशी उत्पादनमा वृद्धि नहुँदा र उपभोगको संस्कृतिले प्रश्रय पाइरहँदा मुलुक परनिर्भरतातर्फ उन्मुख हुँदै गरेको हो । अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेका बैंक तथा वित्तीय संस्थाले उत्पादनमूलक र निर्यातमूलक क्षेत्रमा लगानी विस्तार नगर्दा पनि मुलुक आत्मनिर्भर नभएको बुझाइ रहेको छ । सरकार र बैंक तथा वित्तीय संस्थालगायत समग्र निजी क्षेत्रले उत्पादन अभिवृद्धिमा ठोस ध्यान दिएर योगदान दिन नसक्दा मुलुक दिन प्रतिदिन परनिर्भर बन्दै गएको अर्थशास्त्रीहरूको बुझाइ छ । कृषिप्रधान देशले प्रत्येक वर्ष विदेशबाट खाद्यान्न ल्याएर खानुपर्ने अवस्था सिर्जना भए पनि सरकारले विदेशमा पलायन हुने युवाहरूलाई स्वदेशमै रोजगारी दिएर आफ्नै उब्जनी बढाउनुपर्ने योजना ल्याउन सकेको छैन । अहिले पनि गाउँघरका जग्गा जमिनहरू बाँझै रहेका छन् । खेतीयोग्य जमिन धेरै भए पनि कृषकले सुविधा पाएका छैनन् । नेपाल कृषिप्रधान मुलुक भए पनि विदेशबाट खाद्यान्न ल्याएर खानुपर्ने अवस्थाको अन्त्यका लागि उब्जनी बढाउन ठोस कदम चाल्न सकेको छैन । समयमै मल, बीउ दिन सरकार असक्षम हुनु र सिँचाइको पर्याप्त सुविधा नहुनुले प्रत्येक वर्ष खाद्यान्न आयातमा वृद्धि हुँदै गएको छ । कृषिमा आधारित जनता धेरै भए पनि कृषि उत्पादन बढाउने र कृषकलाई आवश्यक परेका बेला मल, बीउ, सिँचाइ र अन्य सुविधा दिन सरकार असफल भएकाले कृषिप्रधान देशका नागरिकले विदेशबाट आयात गरिएको खाद्यान्न उपभोग गर्न बाध्य भएका हुन् । कृषिका लागि लगानीमैत्री वातावरण बनाउनसके लगानी र ठाउँको समस्या नरहेको कृषकहरूको भनाइ छ । नेपालको कृषि र औद्योगिक क्षेत्रको पुनर्संरचना गर्न अपरिहार्य भइसकेको नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महासंघले पनि बताएको छ । उत्पादनबिना मुलुकको आर्थिक अवस्थामा छलाङ मार्न नसक्ने, कृषिको औद्योगिकीकरणमा पनि जोड नदिई मुलुकको अर्थतन्त्र सुधार नहुने भन्दै आवाज उठाउँदै आए पनि सरकारले व्यावहारिक नीति बनाउन सकेको छैन । विश्वका धेरैजसो मुलुकको विकासको मेरुदण्डका रूपमा औद्योगिक क्षेत्र रहने गरेकामा नेपालमा भने औद्योगिक क्षेत्र धराशायी बन्दै गएको छ । उत्पादन घट्दै गएकाले मुलुक परनिर्भर बन्दै गएको हो ।

Like