देशको कला, संस्कृतिलाई जगेर्ना गर्दै मौलिक चाडको गरिमालाई सम्मानजनक बनाऔं – राष्ट्रपति
रासंसा/काठमाण्डौ, आश्विन १,
मुलुकमा राष्ट्रपति रामचन्द्र पौडेलले परापूर्व कालदेखि चलिआएको रीतिरिवाज, रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्बको रुपमा हरितालिका (तीज) चाड मनाइएको बताएका छन्। हरितालिका (तीज), २०८० को अवसरमा शुभकामना दिँदै उनले नेपाली महिलाहरूले एक सनातन सांस्कृतिक पर्वको रूपमा मनाउने गरेको बताएका हुन्। ‘समस्त नारी जाति प्रकृति र सृष्टिका दृष्टिले उच्च स्थानमा पर्दछन्। आदर्शमय सामाजिक वातावरण जीवन्त राख्न, सदाचारयुक्त जीवन शैली अपनाउन तथा देशको कला संस्कृतिलाई जगेर्ना गर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्न यस्ता मौलिक चाडको गरिमालाई सम्मानजनक बनाई राख्नु अति आवश्यक छ।’सन्देशमा भनिएको छ, ‘हरितालिका तीजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्त्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने गरेको भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै जानु अति आवश्यक रहेको छ।’ उनले भने,‘यस पर्वले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ। समाजमा भ्रातृत्व, सदाचार, एकता र सामाजिक सद्भाव कायम गर्न यस पर्वले महत्त्वपूर्ण भूमिका निभाएको छ। परापूर्व कालदेखि चलिआएको रीतिरिवाज, रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्बको रुपमा यो चाड मनाउँदै आइरहेको मैले महसुस गरेको छु।’ देशको कला संस्कृतिलाई जगेर्ना गर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्न मौलिक चाडको गरिमालाई सम्मानजनक बनाउनु आवश्यक भएको उनको भनाई छ। उनले भने, ‘हरितालिका (तीज) पर्वले हामी सबैमा खुसी र मनोरञ्जन साटासाट गरेर देशका हरेक सार्वजनिक क्षेत्रमा महिलाहरूको समान पहुँचलाई अझ सशक्त रूपमा अघि बढाउन सहयोग पुगोस् भन्ने कामना गर्दै पुन: हरितालिका (तीज) पर्वको शुभकामना प्रकट गर्दछु।’ राष्ट्रपति पौडेलले हरितालिका तीजले नेपाली महिलाहरूलाई समाजमा विद्यमान लैंगिक विभेद¸जातीय विभेद लगायत सबै प्रकारका असमानताहरूको अन्त्य गर्दै समतामूलक समाजको निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।