अराजक आक्रोशमा महानगर प्रमुख बालेन्द्र शाह
रासंसा/काठमाण्डौ, भाद्र १८,
मुलुकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) को पछिल्लो अभिव्यक्ति संविधान एवं नैतिकताविपरीत रहेको कानुनविद्हरू बताउँछन्। मेयर बालेनले शनिबार साँझ सामाजिक सञ्जालमा सिंहदरबारमा आगो लगाइदिने धम्की दिँदै सरकारलाई ‘चोर’ भनेर गाली गरेका थिए। सरकारलाई चोरको संज्ञा दिँदै महानगरको गाडी रोकिए सिंहदरबारमा आगो लगाइदिने शाहले धम्कीपूर्ण अभिव्यक्ति दिनु गैरकानुनी भएको कानुनविद्को तर्क छ। एक साताअघि सुत्केरी पत्नी सविना काफ्ले चढेको महानगरको गाडीलाई ट्राफिक प्रहरीले रोकेर चेकजाँच गरेपछि मेयर शाहले आक्रोशित हुँदै स्टाटस लेखेका थिए। भदौ १६ गते राति सामाजिक सञ्जालमा उनले लेखेका थिए, ‘आजका लागि केही भएन। भोलिबाट महानगरको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार।’ संवैधानिक कानुन व्यवसायी मञ्चका अध्यक्ष डा. दिनेश त्रिपाठीले जनप्रतिनिधि साहको अभिव्यक्ति गैरकानुनी, अशिष्ट र आपत्तिजनक भएको बताए। ‘नेपालको संविधानले विचार र अभिव्यक्ति स्वतन्त्रताको हक प्रदान गरेको छ। तर, यो स्वतन्त्रता निरपेक्ष होइन। यसको पनि सीमितता छ,’ वरिष्ठ अधिवक्ता त्रिपाठीले भने, ‘अभिव्यक्ति स्वतन्त्रता हिंसा, अराजकता निम्त्याउनका लागि होइन। सार्वजनिक नैतिकता र शिष्टाचारको प्रतिकूलताविपरीत अभिव्यक्ति दिन पाइँदैन।’ परिवारको एक सदस्यलाई परेको सामान्य समस्यामा नै एक जनप्रतिनिधि यसरी आक्रोशित हुँदै मुलुककै प्रशासनिक निकाय जलाउन धम्कि दिनु अराजकताको परकाष्ट भएको महानगरकै एक अधिकृत बताउँछन्। भन्छन्, ‘उनी त मेयर हुन्, जनप्रतिनिधि हुन्, यसरी परिवारमा परेको समस्यालाई लिएर एकैपटक पत्रो आक्रोशित हुनुपर्ने आवश्यकता थिएन। यो उनको अपरिपक्कता हो।’ अधिवक्ता गणेश वलीले साहको अभिव्यक्ति अपरिपक्वताको दृष्टान्त भएको बताए। ट्राफिक प्रहरीले आफ्नो भूमिका र कर्तव्य पूरा गरेको हो। अधिवक्ता वलीले भने, महानगरपालिकाको प्रमुखका रूपमा रहेको व्यक्तिबाट गैरजिम्मेवार र कानुनविपरीत अभिव्यक्ति आउनु दुःखद् हो। अधिवक्ता ओलीले कानुनको पालना गराउने निकायप्रति जनआस्था ह्रास हुने गरी अभिव्यक्ति दिनु आपत्तिजनक भएको बताए। बालेनकी श्रीमती काफ्लेले आफ्नो स्वास्थ्य परीक्षण र एनआईसीयूमा भर्ना रहेको शिशुलाई स्तनपान गराई फर्किने क्रममा रातको करिब ९ बजे कोटेश्वरमा ट्राफिक प्रहरीले काफ्ले चढेको सवारी चेकजाँच गरेका थिए। उक्त चेकजाँचपछि मेयर शाहले आपत्ति व्यक्त गर्दै स्टाटस लेखेका थिए। वरिष्ठ अधिवक्ता त्रिपाठीले ट्राफिक प्रहरीले जोसुकैको गाडी रोकेर जाँच गर्न सक्ने बताए। उनले भने, ‘शनिबार बिदाको दिन गुडेको सरकारी गाडीलाई ट्राफिकले रोकेर सोध्न किन नपाउने ? मेयर मात्र होइन मन्त्रीको गाडीलाई पनि रोक्नुपर्छ। विकसित मुलुकमा कतिपय मन्त्री ट्राफिकको कारबाहीमा परेका उदाहरण छन्।’ महानगर प्रमुख साहको सचिवालयका तर्फबाट स्वकीय सचिवले आइतबार विज्ञप्ति जारी गर्दै प्रहरीद्वारा मेयर पत्नीमाथि अनावश्यक केरकार भएको जनाएका छन्। सुत्केरी अवस्थामा रहेकी मेयर पत्नी सबिनाको शनिबार बेलुकी ७ बजे स्वास्थ्यमा एकाएक जटिलता आएर जोखिमयुक्त स्थिति देखिएको र महानगरपालिकाको सरकारी गाडी प्रयोग गरेर अस्पताल लगिएको विज्ञप्तिमा उल्लेख छ। ‘प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत कत्ति पनि ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरे,’ विज्ञप्तिमा भनिएको छ, ‘सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्बन नगरी प्रहरीले ढोका खोल, के हो ? कहाँ हो ? यस्तो–त्यस्तो गर्ने भन्दै पछिल्लो सिटमा सवार सुत्केरी सबिना काफ्लेलाई अनावश्यक केरकार गरेको थियो।’ विज्ञप्तिमार्फत सोधपुछ गर्ने आचरणमा सुधार हुनु जरुरी छ रहेको र प्रहरीबाट सबै सधैं सुरक्षित हुन्छन् भन्ने विश्वास जगाउनुपर्छ भन्ने सुझाव दिइएको छ। यस्तै विज्ञप्तिमा मानवीय संवेदनासँग जोडिएका यस्ता विषयमा समाचार संकलन, प्रकाशन र प्रसारण गर्नुअघि मानवीयताका कोणबाट विषयलाई हेर्न, यसले व्यक्ति तथा परिवारको मानसिक अवस्थामा पार्ने नकारात्मक असरप्रति पूर्वानुमान गर्न पनि आग्रह गरिएको छ। सवारीचालकले आफ्नो परिचयपत्र देखाएको नगर प्रमुखसहितको परिचय खुलाएपछि जाँचमा रहेका प्रहरीको व्यवहार झन् बढी आक्रामक भएको विज्ञप्तिमा उल्लेख छ। प्रशव पीडा र शारीरिक समस्यामा एवं नवजात शिशुको स्वास्थ्य अवस्थाले चिन्तित मेयरपत्नीमाथि प्रहरीबाट गरिएको व्यवहार असभ्य र खेदजनक रहेको विज्ञप्तिमा जनाइएको छ।
