हुकुमी शैलीमा जनमत पार्टी चल्दै

Share to:

रासंसा/काठमाण्डौ, श्रावण ९,

मुलुकमा सबैभन्दा बढी बैठक तथा छलफल हुने पार्टी जनमत पार्टी नै हो । तर, बैठकमा उठेका कुनै पनि कुरा निर्णयमा आउँदैनन् । अध्यक्ष राउतले आफैँ निर्णय गर्ने र त्यसलाई कार्यान्वयनमा ल्याउने गरेको गुनासो बढ्न थालेको छ । यद्यपि, यस्तो शैलीका विरुद्ध कसैले आवाज उठाउने आँट गर्न सकेका छैनन् । कारबाहीमा पर्ने डरले कोही बोल्न नसकेको नेताहरु बताउँछन् । अध्यक्ष राउतले सरकारमा पठाउन अनिता साहको नाम प्रधानमन्त्री प्रचण्डलाई बुझाएका छन् । त्यसबारे पनि पार्टीमा कुनै छलफल भएको छैन । पछिल्लो समय जनमत पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ । तर केन्द्रीय समिति विस्तारमा समेत अध्यक्ष राउतको एकल निर्णय रहेको बताइन्छ । मध्यरातमा अध्यक्ष राउतले केन्द्रीय समिति विस्तारको लिस्ट सार्वजनिक गरे । केन्द्रीय समिति विस्तारबारे पनि पार्टीभित्र विभिन्न टिप्पणी भइरहेको छ । ‘जनमत पार्टी साझा पार्टी होइन, सीके राउतको नीजि पार्टी हो, उहाँले पार्टीमा जे बोल्नु हुन्छ, त्यही निर्णय हुन्छ,’ हालै पार्टीबाट कारबाहीमा परेका भगवान दास यादव (कपिलवस्तु)ले भने, ‘देशमा यति राष्ट्रिय पार्टीहरु छन्, त्यसका अध्यक्षहरु हुनुहुुन्छ तर सीके राउतजति निरकुंश कोही पनि हुनुहुन्न ।’ पार्टी बनाउनका लागि आफूले पनि सीके राउत जत्तिकै जेलनेल भोगेको, पटक पटक प्रहरीको कुटाई खाएर पार्टीलाई यो अवस्थामा ल्याएको तर एक जना नवआगन्तुकले भनेको आधारमा सीके राउतले आफूमाथि कारबाही गरेको भगवान दास यादवको आरोप छ । उनले भने, ‘जब हामी प्रहरीको बुट खाइरहेका थियौँ, जेलमा थुनिन्थ्यौँ, त्यतिबेला बीपी साह र यी नरेन्द्र चौधरीहरु कहाँ थिए ? अहिले आएर पार्टीमा ठूलो व्यक्ति बन्न खोज्ने !’ जसले जतिसुकै गल्ती गरे पनि उसलाई आफ्नो कुरा स्पष्ट पार्ने मौका दिइन्छ तर जनमत पार्टीमा त्यस्तो अभ्यास नरहेको यादव बताउँछन् । ‘सीके राउतको सनक भयो भने जुनसुकै बेला जसलाई पनि कारबाही गर्न सक्नुहुन्छ,’ यादवले भने, ‘केही अघि पाँच जनालाई पार्टीले कारबाही ग¥यो तर कारबाही गर्नुभन्दा अघि कसैलाई पनि आफ्नो कुरा राख्ने मौका दिइएन, सिधै कारबाही ! यस्तो त राणा शासनमा पनि हुँदैनथ्यो ।’ पार्टीमा कहाँ अनुशासनहीन काम गरेको छ भन्नेबारे छानबिन हुनुपर्थ्यो भन्ने यादवको भनाइ छ । तर त्यस्तो नगरेर पार्टीले बीपी साह र नरेन्द्र चौधरीको कुरा सुनेर आफूहरुमाथि कारबाही गरेको उनले बताए । तर कपिवस्तु जिल्लाका इन्चार्ज मनोज ओझाले भगवान दासले गलत गरेका कारण पार्टीले कारबाही गरेको दाबी गरे । उनले भने, ‘हाम्रो पार्टीका अध्यक्ष सीके राउतजी निरंकुश हुनुहुन्न, उहाँजत्तिको भलादमी र दुरदर्शी नेता नै छैनन् ।’ घरको अभिभावक भएपछि घरका सदस्यलाई अनुशासनमा राख्नुपर्ने भन्दै ओझाले सीके राउतबाट सोही भूमिका निर्वाह भएको दाबी गरे । केन्द्रीय सदस्यबाट हालै कारबाहीमा परेका गुलाब मण्डलले सीके राउतमा परिवारवाद हाबी भएको र सोही कारण एक दिन पार्टी बर्बाद हुने बताए । आफ्नो मामाका छोरा श्यामसुन्दर मण्डललाई मन्दिर व्यवस्थापन समितिको अध्यक्ष बनाउनका लागि अध्यक्ष राउतले आफूलाई कारबाही गरेको मण्डलको दाबी छ । आफू पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा आएका कारण सीके राउतको बारेमा सबै कुराको जानकार रहेको भन्दै ओझाले बिना कारण कसैलाई कसैले कारबाही गर्न नसक्ने प्रस्ट पारे । ‘मन्दिर व्यवस्थापन समितिमा कुनै पार्टीगत उम्मेदवारी हुँदैन, म पनि त्यसको अध्यक्षमा उम्मेदवार थिएँ, उता श्यामसुन्दर मण्डल पनि उम्मेदवार थिए, श्यामसुन्दर मण्डलको विरुद्ध किन उम्मेदवारी दिएको भनेर मलाई कारबाही गरिएको हो,’ उनले भने, ‘श्यामसुन्दर पनि पार्टीको आधिकारिक उम्मेदवार हुनुहुन्थेन, म पनि थिइनँ तर श्यामसुन्दर सीके राउतको मामाको छोरा भएको कारणले पार्टीको रङ दिएर यो सब उहाँले गर्नुभएको हो । यो निरकुंश होइन भने के हो ? सीके राउतले पार्टीमा आफू र आफ्नो परिवारबाहेक अरु केही हेर्नुहुन्न ।’ तर केन्द्रीय सदस्यबाट हालै कारबाहीमा परेका गुलाब मण्डलले सीके राउतमा परिवारवाद हाबी भएको र सोही कारण एक दिन पार्टी बर्बाद हुने बताए । आफ्नो मामाका छोरा श्यामसुन्दर मण्डललाई मन्दिर व्यवस्थापन समितिको अध्यक्ष बनाउनका लागि अध्यक्ष राउतले आफूलाई कारबाही गरेको मण्डलको दाबी छ । स्वतन्त्र मधेश गठबन्धनदेखि नै आफू यो पार्टीमा लागेको बताउँदै उनले यो पार्टीप्रति जति माया सीके राउतको छ, त्यति नै माया आफ्नो पनि रहेको दाबी गरे । तर सीके राउत अध्यक्ष भएका कारण उनले पार्टीलाई हैकमवादी शैलीमा चलाउने गरेको मण्डल बताउँछन् । सीके राउतलाई जो मन पर्दैन, उसलाई कारबाही हुने गरेको उनको भनाइ छ । सीके राउतभन्दा बढी पटक जेल र थुनामा गएका इरफान अहमद शेखले पनि जनमत पार्टीमा हैकमवाद चल्ने गरेको आरोप लगाए । चुनावको समयमा पार्टी छाडेका शेखले भने, ‘जनमत पार्टीमा काम गर्ने सबै नेता तथा कार्यकर्ता टर्चरमा काम गरिरहेका हुन्छन्, सीके राउतको हुकुमी शैली सहेर पार्टीमा बसिरहेका हुन्छन् । जो सहन सक्दैन, ऊ विद्रोह गरेर निस्किन्छन् ।’ स्वतन्त्र मधेश गठबन्धनदेखि जनमत पार्टीसम्म आइपुग्दा थुप्रै निर्णय भएका छन् तर कुनै पनि निर्णय सर्वसम्मतिले नभएको शेख बताउँछन् । ‘सीके राउतले पहिला नै निर्णय तयार पारेर ल्याउनु भएको हुन्छ, बैठकको अन्तिममा सुनाउने काममात्र गर्नुहुन्छ,’ शेखले भने, ‘हरेक दस्तावेज, हरेक विधि, विधान, नियामली सीके राउतले आफैँ बनाउनु भएको छ, सुझाव माग्नु हुन्छ तर कुनै पनि सुुझाव उहाँले समावेश गर्नुहुन्न ।’पार्टीमा बैठक हुने र सबैले आफ्ना कुरा राख्ने गरे पनि अन्त्यमा सीके राउतले आफ्नो निर्णय सुनाउने र त्यसका विरुद्ध कसैले बोल्न आँट नगर्ने उनको भनाइ छ । ‘यदि कसैले अध्यक्षको निर्णय विरुद्ध बोलेको खण्डमा उसलाई तत्कालै कारबाही हुन्छ वा विभिन्न खालका मानसिक यातना दिने गरिन्छ,’ उनले भने । हालै जनमत पार्टीको कारबाहीमा परेका शिवचन्द्र कुशवाहाले पनि सीके राउतले पार्टीमा कसैलाई वास्ता नगर्ने गुनासो गरे । उनले भने, ‘म त सीके राउतसँग लामो समय काम गर्न सकिनँ, एक महिनामै सीके राउतलाई चिन्ने मौका पाएँ । उहाँ आफू बाहेक अरु कसैलाई गन्नु हुन्न, जहाँ पनि आफूलाई नै ब्राण्ड बनाउनु हुन्छ, उहाँको यो शैलीलाई पार्टीका अन्य साथीहरुले कसरी यत्रो दिनदेखि सहनु भएको छ, थाहा छैन ।’

Like