प्रधानमन्त्री प्रचण्ड आज बुटवल जाँदै

Share to:

रसंसा/काठमाण्डौ, ज्येष्ठ २५,

मुलुकमा प्रधानमन्त्री पुष्पकमल दाहाल आज बुटवल जाँदैछन् । बुटवलमा आईएमई प्रालिले सञ्चालन गरेको लुम्बिनी केबलकारको औपचारिक उद्घाटन गर्न प्रधानमन्त्री दाहाल बिहान १० बजे हेलिकोप्टरबाट बुटवल जान लागेका हुन् । बुटवलमा पहिलो पटक केबलकार सञ्चालन भएको हो । बुटवलको वडा नं ३ मा बटम स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका वडा नं ३ वसन्तपुरमा टप स्टेसन रहेको केबलकारले यी दुवै वडाका बासिन्दालाई केबलकार चढ्दा लिइने शुल्कमा ४५ प्रतिशत छुट दिने घोषणासमेत गरेको छ । गत जेठ १५ गते देखि व्यावसायिक रूपमा सञ्चालनमा आएको उक्त केबलकारको आज औपचारिक उद्घाटन हुन लागेको आईएमई केबलकार प्रालिले जनाएको छ। केबलकारको गन्तव्य स्थान पाल्पाको वसन्तपुरमा कामाख्या देवीको आकर्षक मन्दिर बनाई नयाँ धार्मिक र पर्यटकीय गन्तव्य बनेकाले भारतीय पर्यटक आकर्षित हुने विश्वास गरिएको छ । २.६ किलोमिटर दुरीको लुम्बिनी केबलकारमा उत्कृष्ट मानिएको अष्ट्रियन प्रविधिको मनोकेबल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डाला (यात्रु बोक्ने डिब्बा) रहेका आयोजना प्रमुख गोकुल साउदले बताए । केबलकार आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ छ । बटम स्टेसन समुद्री सतहबाट दुई सय ३० मिटर र टप स्टेसन नौ सय ४० मिटरको उचाइमा रहेको छ । बटन स्टेसनबाट १० मिनेटको यात्रामै टप स्टेसनमा पुग्न सकिन्छ ।

Like