अत्यधिक गर्मीले ‘थ्रेसहोल्ड’ नाघेका स्थानहरूमा तातो हावा र लु सुरु, तराईका विद्यालय बन्द
रासंसा/काठमाण्डौ, ज्येष्ठ २१,
मुलुकमा केही दिनयता देशका विभिन्न स्थानमा तापक्रम अत्यधिक बढेसँगै विद्यालय बन्द गरिएका छन् । गर्मी बढ्दा स्वास्थ्यमा जोखिम हुने र असर गर्ने भएकाले तराईका जिल्लाहरूमा केही दिनका लागि विद्यालय बन्द गरिएको हो । जल तथा मौसम विज्ञान विभागले तातो हावा तथा लु लाग्ने सम्भावना देखाउँदै उच्च सावधानी अपनाउन आग्रह गरको छ । विभागकी वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलका अनुसार लु तथा तातो दिन अनुगमनका लागि सन् १९८१ देखि २०२० सम्म ४० वर्षको तापक्रम विश्लेषण गरी प्रतिशतक (पर्सेन्टाइल) को आधारमा निश्चित दर निर्धारण गरिएको छ । गत वर्षदेखि शीतलहर तथा लुको अनुगमन प्रणाली विकास गरेर अनुगमन गरिरहेको विभागले त्यसका लागि तापक्रमको मापदण्डहरू निर्धारण गरेको छ । कुनै पनि मापन केन्द्रमा तापक्रम ९० प्रतिशतकभन्दा धेरै हुँदा तातो दिन, ९५ प्रतिशतक हुँदा धेरै तातो दिन र ९९ प्रतिशतकभन्दा बढी हुँदा अत्यधिक तातो दिन मान्ने गरिएको छ । तराईका विभिन्न स्थानमा तापक्रमले निश्चित स्तर (थ्रेसहोल्ड) नाघेको छ । ती स्थानहरूमा तातो हावा र लु सुरु भएको छ । देशका ११ ठाउँमा शनिबार तापक्रम ४० डिग्री नाघ्यो भने २८ ठाउँमा ३५ देखि ४० डिग्रीको बीचमा थियो । सामान्य अवस्थामा तीन दिनसम्म कुनै पनि स्थानमा तापक्रमले निश्चित स्तर नाघ्दा लुको अवस्था हुन्छ । मौसमविद् कँडेलका अनुसार काठमाडौंमा तातो दिन हुनका लागि तापक्रम ३१.३ डिग्री सेल्सियसभन्दा बढी हुनुपर्छ । काठमाडौंका लागि ३२ डिग्रीभन्दा बढी तापक्रम हुँदा धेरै तातो दिन र ३३.५ डिग्रीभन्दा बढी हुँदा अत्यधिक तातो दिन मानिन्छ । जबकि विराटनगरमा तातो दिन हुनका लागि तापक्रम ३५.९ डिग्री नाघ्नुपर्छ । विराटनगरका लागि धेरै तातो दिन ३६.८ र अत्यधिक तातो दिन ३९ डिग्री सेल्सियस नाघेको हुनुपर्छ । जनकपुरका लागि तातो, धेरै तातो र अत्यधिक तातो दिन हुनका लागि क्रमशः ३७, ३८.२ र ४० डिग्री सेल्सियस तापक्रम नाघेको हुनुपर्छ । वीरगन्जमा तापक्रम ४२ डिग्री सेल्सियस नाघ्दा अत्यधिक तातो दिन मानिन्छ । इलामका लागि तापक्रम २९.९२ डिग्री सेल्सियस नाघ्दा अत्यधिक तातो दिन मानिन्छ । यस्तै बुटवलका लागि ४२.२, नेपालगन्जका लागि ४३.४, दिपायलका लागि ४२.२, पोखराका लागि ३४.१ र पाल्पाका लागि ३५.४ डिग्री तापक्रम पुग्दा अत्यधिक तातो दिन मानिन्छ । लु आउनु भनेको नै तातो हावा आउनु रहेको मौसमविद् कँडेल बताउँछिन् । ‘लुको अवस्थामा बहने हावालाई तातो हावा भनिएको हो तर लु हुँदा तातो हावा बहनैपर्छ भन्ने हुँदैन,’ उनले भनिन् । तराईमा अधिकतम न्यूनतम तापक्रम र अधिकतम उच्च तापक्रमबीचको फरक धेरै नहुने तर पहाडमा धेरै नै फरक पर्ने भएकाले तराईमा तातो हावाको लहर चल्ने गरेको विज्ञहरू बताउँछन् । तापक्रम थ्रेसहोल्डभन्दा लगातार तीन दिन नाघ्दा लुको अवस्था सिर्जना हुने कँडेलले जानकारी दिइन् । मौसम विज्ञान विभागले लुलाई तीन प्रकारमा वर्गीकरण गरेको छ । लगातार ३ दिनसम्म तातो, धेरै तातो र अत्यधिक तातो दिनलाई क्रमशः ‘माइल्ड लु’, ‘मोडरेट लु’ र ‘लु’ को अवस्था मानिने उनले बताइन् । माइल्ड लुको अवस्था हुँदा सावधानी अपनाउनुपर्ने र मोडरेट लुको अवस्था हुँदा तयारी अवस्थामा बस्नुपर्ने उनले बताइन् । यस्तो अवस्थामा घाममा नजाने र पानी धेरै पिउनुपर्ने उनले सुझाव दिइन् । लु भएको अवस्थामा चिसो भएको ठाउँमा गइहाल्नुपर्ने वा घरभित्र बस्नुपर्ने उनको सुझाव छ । तापक्रम बढी हुँदा र वायुमण्डलमा आर्द्रता (पानीको बाफ) बढी हुँदा स्वास्थ्यमा धेरै असर पर्न सक्ने जोखिम हुन्छ । तापक्रम बढी र आर्द्रता कम हुँदा भने शरीरमा धेरै पसिना आउँछ । पसिना आउँदा शरीरको तापक्रम घट्छ र समस्या कम हुन्छ । पसिना नआएको खण्डमा असर गर्ने विज्ञहरू बताउँछन् । मानिसका लागि २६ डिग्री तापक्रम उपयुक्त मानिन्छ । त्योभन्दा बढी तापक्रम हुँदा शरीरमा त्यसको असर देखिने विज्ञहरू बताउँछन् । संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन गर्मी चर्किएसँगै अस्पतालहरूमा विभिन्न किसिमका बिरामी आउने गरेको बताउँछन् । उनले तापक्रम बढ्दा प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव पार्ने बताए । डिहाइड्रेसन हुँदा शरीरमा पानीको मात्रा कम हुने र पक्षघातसमेत हुने सम्भावना रहेको उनको भनाइ छ । ‘श्वासप्रश्वाससँग सम्बन्धित, मुटु रोगी, मधुमेही तथा दीर्घरोगीहरूको स्वास्थ्यलाई औसत बनाउन प्रयोग हुने औषधिको प्रभाव पनि गर्मी बढ्दा घट्छ,’ डा.पुनले भने, ‘यो बेला अस्पतालमा धेरै बिरामी आउनुहुन्छ ।’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का प्रमुख अनुसन्धानकर्ता डा. मेघनाथ धिमाल तापक्रम बढ्दा मानव स्वास्थ्यसँगै वातावरणमा समेत प्रभाव पार्ने बताउँछन् । ‘तापक्रम बढ्दा वनस्पति र वन्यजन्तुलाई पनि असर गर्छ, कतिपय अवस्थामा रोगव्याधिको संक्रमणको जोखिम पनि हुने गर्छ,’ उनले भने । संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन गर्मी चर्किएसँगै अस्पतालहरूमा विभिन्न किसिमका बिरामी आउने गरेको बताउँछन् । उनले तापक्रम बढ्दा प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव पार्ने बताए । डिहाइड्रेसन हुँदा शरीरमा पानीको मात्रा कम हुने र पक्षघातसमेत हुने सम्भावना रहेको उनको भनाइ छ । ‘श्वासप्रश्वाससँग सम्बन्धित, मुटु रोगी, मधुमेही तथा दीर्घरोगीहरूको स्वास्थ्यलाई औसत बनाउन प्रयोग हुने औषधिको प्रभाव पनि गर्मी बढ्दा घट्छ,’ डा.पुनले भने, ‘यो बेला अस्पतालमा धेरै बिरामी आउनुहुन्छ ।’ गर्मी बढ्दा अप्रत्यक्ष रूपमा पानीको माग ह्वात्तै बढ्छ । त्यस्तो अवस्थामा बजारमा मागअनुसार आपूर्ति नहुँदा गुणस्तरहीन पानी खपत हुन सक्छ । डा. पुन भन्छन्, ‘जीउ पखाल्न, लुगा धुन पानी चाहियो, यो बेला मागअनुसारको सन्तुलन हुन नसक्दा गुणस्तरहीन पानीको प्रयोग बढ्न सक्छ । झाडापखाला, टाइफाइड र भाइरलका बिरामी आउने गर्छन् ।’ गर्मी बढेसँगै अज्ञात रोगहरू पनि देखापर्ने उनले बताए । पानीबाट त्यस्ता रोग बढ्ने भएकाले गर्मीका बेला पानीको गुणस्तरमा ख्याल गर्नॅपर्ने विज्ञहरूको भनाइ छ । यसैबीच मौसम विज्ञान विभागले तापक्रम बढ्दै जाँदा शरीरलाई असर गर्ने भएकाले ख्याल गर्न आग्रह गरेको छ । धेरै गर्मी हुँदा स्वास्थ्य असहज हुनुका साथै थकाइ लाग्ने, कमजोरी हुने, तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, बान्ता आउन सक्ने विभागले जनाएको छ । विभागले एक बुलेटिन निकाल्दै तातो हावा तथा लुबाट बच्नका लागि घरभित्र वा चिसो स्थानमा रहन आग्रह गरेको छ । बाहिरी वातावरणमा नजान साथै हल्का सुतीको कपडा लगाएर, टाउको छोपेर वा टोपी लगाएर मात्रै बाहिर निस्कन विभागले आग्रह गरेको छ । यस्तै, पानी, सर्बतलगायतका झोलिलो पदार्थ प्रशस्त पिउनुपर्ने विभागको सुझाव छ ।