कुन–कुन मुद्दामा कस्तो सजायको माग गर्दै नक्कली भुटानी प्रकरणमा भीआईपीदेखि बिचौलिया गरी ३० विरुद्ध मुद्दा दायर

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ ११,

मुलुकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको भन्दै दुई पूर्वमन्त्री, एक वहालवाला सचिवसहित ३० जनाविरुद्ध बुधबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दा चलाएर उनीहरूले करोडौं रकम असुल गरेको प्रहरी अनुसन्धानमा उल्लेख छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा दायर गरिएकाहरूबाट २८ करोड बराबरको बिगो माग गरिएको छ। दुई दिनअघि प्रहरीले बुझाएको प्रतिवेदनलाई आधार मानेर जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा बुधबार मुद्दा दायर गरेको हो। मुलुकको न्यायिक इतिहासमा पहिलो पटक पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र बहालवाला सचिव टेकनारायण पाण्डेलगायत ३० जनाविरुद्ध राज्यविरुद्धको कसुरसहित चार अभियोगमा मुद्दा दायर गरिएको हो। ३० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा २२४ पृष्ठको अभियोगपत्र दायर गरिएको छ। आरोपितमध्ये १४ जना अझै फरार छन्। जिल्ला अदालतमा अभियुक्तको बयानपछि थुनछेकको बहस हुने जनाएको छ। त्यसपछि अभियुक्तहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने वा नपठाउने सम्बन्धमा आदेश हुने छ। संगठित अपराधमा मुद्दा चलाउने ६० दिन हदम्यादका कारण अदालतमा पेस भए पनि अन्य व्यक्तिमाथिको अनुसन्धान जारी रहने प्रहरीले जनाएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा दायर गरिएकाहरूबाट २८ करोड बराबरको बिगो माग गरिएको छ। दुई दिनअघि प्रहरीले बुझाएको प्रतिवेदनलाई आधार मानेर जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा बुधबार मुद्दा दायर गरेको हो। काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता महेशप्रसाद खत्रीका अनुसार ठगी, संगठित अपराध, सरकारी कागजात किर्ते र राज्यविरुद्धको कसुरमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो। मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३२ बमोजिम अभियोग पत्र दायर गरिएको छ। नेपालबार एसोसिएसनकी महासचिव अञ्जिता खनालले सम्भवतः पहिलोपटक राज्यविरुद्धको अभियोग लागेको बताइन्। ‘अभियोग लाग्दैमा दोषी ठहर भइहाल्ने होइन। तर, कसुरको गाम्भीयर्ता हेर्दा देश र जनताप्रति ठूलो घात हो,’ अधिवक्ता खनालले भनिन्, ‘जनमतको चरम दुरुपयोग हो। राष्ट्र र जनताविरुद्धको गम्भीर अपराध हो।’ नक्कली भुटानी शरणार्थीका रूपमा अमेरिका जाने सपना साकार पार्न डिलबहादुर कुसारीले बिचौलियाको बैंक खातामा पटक–पटक रकम डिपोजिट गरे। छोरा महेन्द्रसहित अमेरिका जाने तयारीमा रहेका कुसारीले बिचौलिया सन्देश शर्मालाई काठमाडौं नयाँ बानेश्वमा हातैमा ५ लाख दिएका थिए। त्यसपछि स्वास्थ्य परीक्षण गर्ने भन्दै पुनः रकम माग गरियो। तर, अमेरिका जाने सपना पूरा नभएपछि आफूमाथि ठगी भएको महसुस गरे। कसैको श्रीमती त कसैको भान्जीलाईसमेत उपयोग गर्दै रकम लिएको देखिएको छ। भुटानी शरणार्थीको रूपमा अमेरिका पठाउने प्रलोभन दिएको रकम बुझाएकाहरू बताउँछन्। अमेरिका नपठाई करोडौं रकम असुलेर ठगी गरेपछि बल्ल उनीहरूले प्रहरी समक्ष जाहेरी दिए। वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका डम्बरबहादुर खत्री अमेरिका जाने प्रलोभनमा लोभिए। उनले पनि पटक–पटक गरी १५ लाख बुझाए। यी केही दृष्टान्त हुन्। बिचौलियाहरूले प्रलोभन र झुक्यानमा पारेको रकम बुझाउनेहरूको दाबी छ। उनीहरूबाट प्रतिव्यक्ति कम्तीमा ९ लाखसम्म लिएको पाइएको छ। उनीहरूले वैदेशिक रोजगारीमा जाने सोंच बनाएका, निर्माण व्यवसायको काममा संलग्न भएकालाई लक्षित गरेको प्रहरी अनुसन्धानमा पाइएको छ। दाङका सन्देश शर्मा, मोरङका केशव दुलाल र सागर राई, ललितपुरका सानु भण्डारी, धीरेन राई, राजेश अर्याल मुख्य बिचौलिया रहेको पाइएको छ। दुलाल र भण्डारीले एकआपसमा मामा भान्जाको साइनोले बोलाउने गर्थे। उनीहरूले तत्कालीन प्रधानमन्त्रीलाई समेत चिनेको दाबी गर्दै बिचौलियाले रकम असुलेको जाहेरीमा उल्लेख छ। बिचौलियाको रूपमा सन्देश शर्मा, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई समेतले श्रम मन्त्रालय, गृह मन्त्रालय र सरकारका विभिन्न निकायबाट भुटानी शरणार्थीको रूपमा भएका निर्णयहरू हवाट्स एपबाट पठाएको जाहेरीवालालो उल्लेख गरेका छन्। जाहेरीमा कानुनबमोजिम कारबाहीको माग गर्दै भनिएको छ, ‘रकम लिएर अमेरिका समेत नपठाई रकमसमेत फिर्ता नगरी ठगी गरेको हुँदा कानुनबमोजिम कारबाही गरी पाउँ।’बिचौलियाहरूले पूर्वका झापा, मोरङ र पश्चिम दाङका व्यक्तिहरूबाट रकम असुलेको पाइएको छ। नेपाली नागरिकता त्यागेर भुटानी शरणार्थी रूपमा अमेरिका जान पाइने प्रलोभन दिएर प्रतिव्यक्ति कम्तीमा ९ लाख लिएको प्रहरी अनुसन्धानमा पाइएको छ। बिचौलियाहरूले कुमार खड्काबाट ११ लाख, प्रदीप फुयाँलबाट ९ लाख र मिलन श्रेष्ठबाट १० लाख रकम लिएको जाहेरीमा उल्लेख छ। त्यस्तै बिचौलिया सन्देश शर्माले २० लाख लिएर ठगी गरेको रवीन्द्र कार्कीले जनाएका छन्। जाहेरीकर्ता गजेन्द्र बुढाथोकीले आफूलगायत चिनजानका ६० जनालाई विश्वासमा लिएर बिचौलियाले ९ करोड ७८ लाख रुपैयाँ लिएको दाबी गरेका छन्। त्यस्तै राजकुमार रेग्मीले आफूसहित २० जनाबाट ३ करोड ८५ लाख रुपैयाँ असुलेको जिकिर गरेका छन्। रोशन खरेल र गोकुल भट्टराईले १ करोड ६२ लाख रकम लिएर ठगी गरेको जनाएका छन्। सुमन दाहाललाई केशव दुलाल र सानु भण्डारीले रकम असुलेको पाइएको छ। उनले आफू र अन्य चिनजानका व्यक्तिबाट १ करोड १४ लाख लिएको जनाएका छन्। दिलीप गौतमबाट २२ लाख रकम बिचौलियाले लिएका थिए। खगेन्द्र थेवेसहित उनकी श्रीमती र बहिनीलाई समेत प्रलोभनमा पारेर विभिन्न मितिमा ३० लाख लिइएको छ। भुवन सिंह लिम्बुबाट १० लाख लिइएको छ। नेपाली कांग्रेसका पूर्वसभासद् आङटावा शेर्पाबाट ठगिनु परेको पेम्बा शेर्पाले जनाएका छन्। सरकारी विशेष कोटा आएकाले अमेरिका जाने मौका रहेको प्रलोभन शेर्पाले दिएका थिए। आङटावाले पेम्बाका साथै लमडोमा, जिमा, तेन्जीपुटी, सोनीलगायतसँग रकम लिएको अभियोग छ। प्रहरीमा जाहेरी दिएकाहरूले आफूहरू झुक्यान र प्रलोभनमा परको उल्लेख गर्दै बिचौलियाहरूले प्रधानमन्त्री समेतलाई रकम दिनु पर्ने बताएको जाहेरीमा जनाएका छन्। विचौलियाहरूले नेपाल हज समितिको निसान गाडीको समेत प्रयोग गरेको पाइएको छ। २०७५ सालमा भेषराज शर्माले भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई आफ्नो काका भएको उल्लेख गरी ह्याण्डस फ्रिमा कुरा सुनाएपछि विश्वास गर्नु परेको प्रेमराज पन्थीले उल्लेख गरेका छन्। ‘टेकनाथ रिजाल भनेको यूएनसँग लिङ्क भएको ठूलो मान्छे हो। अमेरिका जान कुनै समस्या हुँदैन,’ बिचौलिया भेषराज शर्मा लम्सालको भनाइ उदृत गर्दै पन्थीले जाहेरीमा भनेका छन्, ‘म, मेरो पूरै परिवार, ससुरालीतर्फका सबै जना समेतको गरी ५०÷५५ जनाको र अन्य ३५०÷४०० जनाको फरक (नक्कली) नामबाट भुटान ह्युमन राइटस अर्गनाइजेसनको सदस्यता कार्ड बनाएको हो।’ बिचौलिया केशव दुलालको कोठामा कार्ड बनाउने गरिएको थियो। दुलालले सुकेधारामा कोठा लिएका थिए। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा दायर गरिएका १६ जना प्रहरी नियन्त्रणमा छन्। जसमा टोपबहादुर रायमाझी, बालकृष्ण खाँण, डा. इन्द्रजित राई, टेकनारायण पाण्डे, केशवप्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मा, रामशरण केसी, शमशेर मिया, टंककुमार गुरुङ, सागर राई, सन्दीप रायमाझी, नरेन्द्र केसी, बिक्रम भन्ने गोविन्द चौधरी, आङटावा शेर्पा, टेकनाथ रिजाल छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्धा दायर भएका १४ जना अझै फरार छन्। जसमा पूर्वगृहमन्त्री रामबहादुर थापाका पुत्र प्रतीक थापा, पनि छन। यस्तै, केशव तुलाधर, लक्ष्मी महर्जन, धिरेन राई, मोहन राज राई, दिपा हुमागाई, सुनिल बुढाथोकी, विनिता सावदेन लिम्बु, निरञ्जनकुमार खरेल, हरिभक्त महर्जन, अशोक पोखरेल, राजेश अर्याल, निरज राई र आशिष बुढाथोकीविरुद्ध ठगीको मुद्दा चलाइएको छ। नक्कली भुटानी प्रकरणमा संलग्नको आरोप लगाइएका माथि मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) र (२) बमोजिम ठगी कसुर गरेको पुष्टि भएको अभियोगपत्रमा जिकिर गरिएको छ। सोहीअनुसार उक्त कसुरमा प्रतिवादीहरूलाई सोही संहिताको दफा गरी २४९ को उपदफा (३) को खण्ड (ग) बमोजिम सात वर्षसम्म कैद र ७० हजार रुपैयाँ सजाय माग दाबी गरिएको छ। यस्तै, एकीकृत कसुरतर्फ पनि थप सजाय मागदाबी भएको छ। मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ मा एकीकृत कसूर बापत थप सजाय हुने व्यवस्था रहेको छ। जसअनुसार कुनै व्यक्तिले एउटै वारदातमा एकभन्दा बढी कसुर गरेमा त्यस्तो व्यक्ति एकीकृत कसुर गरेको मानिनेछ। उपदफा (१) बमोजिमको एकीकृत कसुर गर्ने कसुरदारलाई सजाय गर्दा सबैभन्दा बढी सजाय हुने कसूर बापतको सजाय र त्यसपछीको अधिकतम सजाय हुने अर्को कसुर बापतको सजायको आधा सजाय थप गरी सजाय गर्न पर्ने उल्लेख छ। उनीहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा ५१ को उपदफा (१) र (२) को खण्ड (क) बमोजिम राज्य विरुद्धको कसुर गरेको पुष्टि हुन आएको भन्दै सजाय मागदाबी गरिएको छ। राष्ट्रहित प्रतिकूल काम गर्नेलाई ५ वर्षको कैद र ५० हजार जरिवानाको व्यवस्था छ। यस्तै दफा २७६ मा कीर्ते मुद्दामा ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ। यस्तै संगठित अपराधमा तीन वर्षभन्दा बढी कैद हुने व्यवस्था छ। यस्तै आपराधिक समूह स्थापना गर्न नहुने कसुरमा ५ वर्षसम्म कैद वा ५ लाख रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ। यो प्रकरणमा चारवटा मुद्दा दायर भएकाले अभियोग पुष्टि भएमा साढे २० वर्षसम्म कैद सजाय हुनसक्ने देखिएको छ।
मुद्दा दायर गरिएकाहरू
१, टोपबहादुर रायमाझी २, बालकृष्ण खाँण ३, केशवप्रसाद दुलाल ४, सानु भण्डारी ५, सागर राई ६, सन्देश शर्मा
७, टंकबहादुर गुरुङ ८, इन्द्रजित राई ९, सन्दीप रायमाझी १०, टेकनारायण पाण्डे ११, नरेन्द्र केसी १२, गोविन्दकुमार चौधरी
१३, रामशरण केसी १४, आङटावा शेर्पा १५, शमशेर मिया १६, टेकनाथ रिजाल १७, लक्ष्मी महर्जन १८, केशव तुलाधर
१९, हरिभत्ताm महर्जन २०, अशोक पोखरेल २१, धीरेन राई २२, दीपा हुमागाईं २३, निरज राई २४, राजेश अर्याल
२५, मोहनराज राई २६, आशिष बुढाथोकी २७, विनिता सावदेन लिम्बु २८, निरञ्जनकुमार खरेल २९, सुनिल बुढाथोकी
३०, प्रतीक थापा
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरू कोही अरूको थप्लोमा दोष थोपर्दै छन् भने कोही आरोपबाट पन्छिन, केही नजाने जस्तो गरी बयान दिइरहेका छन्। प्रहरी अनुसन्धान र दिएका बयानले यस्तै देखाउँछ। अनुसन्धानमा तानिएका सरकारका पूर्वमन्त्रीदेखि उच्च तहका कर्मचारीहरू यो प्रकरणबाट कसरी शुद्ध भइन्छ भनेर बयानमा कुरा चपाइचपाइ बोलिरहेको अनुसन्धानमा संलग्न उच्च प्रहरी अधिकारी बताउँछन्। पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राईले दिएका बयान यस्ता छन्।
बालकृष्ण खाँण : टेकबहादुर पाण्डेलाई नेपाल सरकारको सचिव भएपछि चिनेको हुँ। नरेन्द्र केसी मेरो निजी सचिव थिए। टोपबहादुर रायमाझीसँग चिनजान छ। भुटानी शरणार्थीसम्बन्धी स्थायी र दीर्घकालीन समस्याको समाधानको उपायहरू पहिल्याउन बनेको बालकृष्ण पन्थी संयोजकत्वको कार्यदलले दिएको प्रतिवेदनउपर छलफल भएको हो। निर्णयहरू कार्यान्वयन गर्न मन्त्रिपरिषद् समक्ष पेस भएको हो। कागजातहरू के–के पेस भए मलाई सम्झना भएन। नेपाल सरकार कार्य सम्पादन नियमावलीले मन्त्री, सचिव र अन्य पदाधिकारीलाई कार्यक्षेत्र तोकेको छ। मन्त्रीले आफ्ना अधिकार सचिवलाई समेत प्रत्यायोजन गरिएको हुन्छ। तसर्थ मन्त्रालयको अभिलेखहरूको सुरक्षा गर्ने जिम्मेवारीसमेत तोकिएको छ। एउटै प्रतिवेदनको एउटै विषयमा फरक व्यहोरा हुन सक्दैन। भुटानी शरणार्थीको नाममा नेपालीहरूलाई मिसाइ भुटानी शरणार्थी बनाइ तेस्रो देश पठाइदिन्छौं भनी रकम लिएको भन्ने आरोपमा मेरो संलग्नता छैन।
टोपबहादुर रायमाझी : केशव दुलालसँग सुजाता कोइरालाको घरमा जाने आउने क्रममा चिनजान भएको हो। सानु भण्डारीसँग पनि मेरो फोन सम्पर्क भई कुराकानी भएको हुन सक्छ। तर, भुटानी शरणार्थीको विषयमा कहिले कुराकानी भएको थिएन। टेक नारायण पाण्डे मेरो जिल्लावासी भएको र नेपाल सरकारको सचिव भएको हुँदा चिनजान भएको हो। इन्द्रजित राई पार्टीको कामको सिलसिलामा चिनजान भएको हो। बालकृष्ण खाँणलाई विद्यार्थी राजनीति गर्ने क्रममा चिनेको हुँ। मैले इन्द्रजितलाई चिनाइदिएको भन्ने कुरा सरासर गलत हो। इन्द्रजित राई र सानु भण्डारीबीचको लेनदेन विषयहरूमा उहाँहरूले जान्ने कुरा हो। मलाई जानकारी छैन। मैले कुनै रकम लिएको छैन। मेरो छोरा पक्राउ परी हतकडी लगाएको खबर सुनेकाले आफूलाई पनि पक्राउ गरी हतकडी लगाउँछन् भन्ने लागेकाले मन बिग्रिएको हुँदा केही अवधि सम्पर्कविहीन भएको थिएँ। सोही क्रममा प्रहरीले खोजतलास गर्ने क्रममा पक्राउ परेको हुँ। कदम रोकिएको मात्र हो। आफैं सम्पर्कमा आउने थिएँ।
डा. इन्द्रजित राई : गृह मन्त्रालयमा सल्लाहकार पदमा कार्यरत रहँदा सयौं मानिसको दिनमा फोन आउने गरेकोमा को–कोसँग कुरा हुन्थ्यो मलाई याद भएन। सानु भण्डारीसँग पनि मेरो फोन सम्पर्क भई कुराकानी भएको हुनसक्छ। तर, भुटानी शरणार्थीको विषयका कहिले कुराकानी भएको थिएन। केशवप्रसाद दुलाल, सानु भण्डारीबीच आर्थिक लेनदेनको विषयमा कहिले झगडा भएको थिएन र छैन। निजहरू मेरो अफिसमा एक÷दुईपटक आउँदा सामान्य भेटघाट र विभिन्न विषयमा छलफल हुने गरेको थियो।

Like