मलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै इन्द्रजीतले ठगे – सानु भण्डारी
रासंसा/काठमाण्डौ, ज्येष्ठ ९,
मुलुकमा नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य योजनाकार मध्ये एक भनिएका सानु भण्डारीले नै आफूलाई डा. इन्द्रजीत राईले अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको बयान दिएका छन् । अधिकार प्राप्त सरकारी अधिकारी समक्षको बयानमा भण्डारीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार रहेका राईले आफूलाई अमेरिका पठाइदिन्छु भन्दै रकम लिएको तर काम नगरेको बताएका हुन् । बयानमा भण्डारीले पटकपटक कसैलाई पनि अमेरिका पठाइदिने भन्दै कसैसँग कुरा नगरेको, कसैलाई रकम नदिएको तथा कसैसँग रकम नलिएको जिकिर गरेका हुन् । गजेन्द्र बुढाथोकी र राम कुमार रेग्मीलाई चिनेको छैन, मैले निजहरूलाई अमेरिका पठाई दिने भनी कुराकानी समेत गरेको छैन, जाहेरीमा उल्लेख भएको विषयवस्तुको सम्बन्धमा मलाई जानकारी भएन। जाहेरी दरखास्तमा नाम उल्लेख गरेका ६१ जान व्यक्तिहरू सँग मेरो चिनजान र सम्पर्क छैन । निजहरूसँग मेरो सो विषयमा कुनै कुराकानी भएको छैन र मैले निजहरूलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिने भनी रकम लिएको छैन। निजहरूको नाममा जारी भएको शरणार्थी परिचय पत्रको प्रतिलिपिहरू, मुख्य सचिव शंकरदास वैरागीको दस्तखत भएको गृह मन्त्रालयबाट जारी भएको भुटानी शरणार्थी सम्बन्धी समस्या र समाधानका उपायहरूको सबन्धमा भन्ने विषयको पत्रको प्रतिलिपि को-कसले कहाँ बनाएका हुन, उक्त परिचय पत्र आधिकारिक हुन होइनन भन्ने सम्बन्धमा मलाई कुनै जानकारी भएन। जाहेरवाला राम कुमार रेग्मी तथा निजको चिनजान र सम्पर्कमा आएका निजका आफन्त र जाहेरी दरखास्तमा नाम उल्लेख भएका श्रवण सो विषयमा मलाई थाहा भएन । मलाई समेत भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिने भनी म बाट डा. इन्द्रजित राई समेतले रकम लिई काम समेत नगरी ठगी गरेको हुँदा म आफै पीडित भएको छु। जाहेरवाला गजेन्द्र बुढाथोकी र निजले जाहेरी दरखास्त नाम उल्लेख गरेका महेश कार्की समेतसँग मेरो चिनजान र सम्पर्क छैन । म सँगै पक्राउमा परी हिरासतमा रहेका प्रतिवादी केशव प्रसाद दुलाल र प्रतिवादी सन्देश शर्मा बीचमा लेनदेनको कारोबार भएको हुँदा म केशव दुलालसँग हिँड्ने भएको कारण कुराकानीको क्रममा मेरो समेत नाम उल्लेख गरेको हुनु पर्छ। मैले जाहेरवालाले दाबी गरे बमोजिमको ठगी सम्बन्धी कसुर नगरेको हुँदा मलाई सजाय हुनु पर्ने होइन, मैले कसुरबाट सफाइ पाउनु पर्छ ।
