२७ औँ पटक सगरमाथाको चुचुरोमा कामिरिता, तोडे आफ्नै विश्वकीर्तिमान

Share to:

रासंसा/काठमाण्काडौ, ज्येष्ठ ३,

मुलुकमा कीर्तिमानी आरोही कामिरिता शेर्पाले २७ औं पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर आफ्नै विश्वकीर्तिमान तोडेका छन‍् । वसन्त ऋतुको यो यामको जारी आरोहणमा आज बिहान ८:३० मा सगरमाथाको चुचुरोमा पुगेर शेर्पाले यसअघि २६ पटकको रेकर्ड तोडेका हुन्। पर्यटन विभागका निर्देशक युवराज खतिवडाले कामीरिता शेर्पाले सगरमाथा आरोहणमा विश्वकीर्तिमान बनाएको बताए । उनका अनुसार करिब एक सय आरोही सगरमाथाको चुचुरोमा पुगिसकेका छन् भने आज थप एक सय आरोही चुचुरोमा पुग्ने अनुमान छ । सेभेन समिट ट्रेक्स प्रालिबाट आरोहणमा गएका कामीरिताले आफ्नै विश्वकीर्तिमान तोडेर विश्वलाई सुरक्षित आरोहणको सन्देश दिएका छन‍् । सगरमाथाको आधार शिविरमा रहेका इमाजिन नेपाल ट्रेक्स एण्ड एक्सिपीडिसन कम्पनीका प्रबन्ध निर्देशक मिङ्मा ग्याल्जेन शेर्पाका अनुसार कामिरिताको विश्वकीर्तिमान कायमसँगै यो याममा हालसम्म एक सयभन्दा बढी आरोहीले सगरमाथा आरोहण गरिसकेका छन् । झण्डै एक सय आरोही यतिखेर सगरमाथाको हिलारी स्टेपभन्दा माथितिर लामबद्ध छन् । उनीहरु आज साँझसम्म चुचुरोमा पुग्ने जनाइएको छ । “कामिरिताले विश्वकीर्तिमान बनाउनुभएको छ, आरोहण धमाधम भइरहेको छ, सञ्चार सम्पर्क राम्ररी नभएका कारणले सबै आरोही समूहको एकिन जानकारी आइसकेको छैन, आज बेलुकासम्म धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्छन् भन्ने छ,साँझसम्म ‘गुड न्यूज’ आउला”, निर्देशक खतिवडाले भने। कामिरिताले सन् २०२२ को वसन्त आरोहणमा रोप फिक्सिङका क्रममा २६औँ पटक सगरमाथाको आरोहण गरी यसअघिको आफ्नै कीर्तिमान तोडेका हुन् । खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५३ वर्षीय कामिरिताले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठ पटक चोयु, ती पटक मनास्लु, एक पटक ल्होत्से, केटु आरोहण एक गरी ३९ पटक विश्वका अग्ला हिमालको आरोहण गरिसकेका छन्। कामिरिताले सगरमाथाको २७औँ पटक आरोहण गरेर विश्वलाई सकारात्मक सन्देश दिएको उनले बताए । “कामिरिता शेर्पाले सगरमाथाको २७ पटक आरोहण गरेर विश्वलाई सन्देश दिनुभएको छ”, उनले भने, “सगरमाथाको जति धेरै आरोहण भयो त्यति नै राम्रो सन्देश जान्छ, यसले आरोहण र आरोहीलाई हौसला मिलेको छ ।” सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामिरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ । यही याममा पासाङ दावा शेर्पाले २६ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएका थिए। सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो । यसैगरी यति समूहका अध्यक्ष लाक्पा सोनाम शेर्पाले सगरमाथाको आरोहण गरेका छन् । शेर्पा आज बिहान सगरमाथाको चुचुरोमा पुग्नुभएको थामसेर्कु ट्रेकिङ कम्पनीले जनाएको छ । यस वर्षको वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेबाट सुरु भएको थियो । सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीले पाएको थियो । वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ४४ आरोही समूहका चार सय ७८ आरोहीले आरोहण अनुमति लिएका हुन् । सगरमाथा आरोहणको ७०वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो ।

Like