हिउँको तह सगरमाथामा ह्रास

Share to:

रासंसा/सोलुखुम्बु, बैशाख २७,

मुलुकमा सगरमाथाका विभिन्न स्थानमा जडान गरिएका स्वचालित मौसम–मापन यन्त्रले सगरमाथाको उच्च भागको हिउँ तथा बरफ नपग्लीकन सिधै वाष्पीकरण (उध्र्वपातन) हुने गरेको र यसले तीव्र रूपमा हिउँको तहमा ह्रास आउनसक्ने देखाएका छन्। विश्वकै सबैभन्दा अग्लो सगरमाथामा तीव्र गतिमा प्रवाह हुने चिसो हावा र न्यून आद्र्रताले नयाँ हिउँ नपरेको अवस्थामा हिउँदयाममा यसको उचाइ ९० सेन्टिमिटरसम्मले घट्नसक्ने एक अध्ययनको प्रारम्भिक प्रतिवेदनले देखाएको हो। यो प्रक्रिया लामो समयसम्म जारी रहे सगरमाथाको उचाइमासमेत परिवर्तन हुन सक्ने देखिएको छ। विश्वकै सबैभन्दा अग्लो सगरमाथामा तीव्र गतिमा प्रवाह हुने चिसो हावा र न्यून आद्र्रताले नयाँ हिउँ नपरेको अवस्थामा हिउँदयाममा यसको उचाइ ९० सेन्टिमिटरसम्मले घट्नसक्ने एक अध्ययनले देखाएको छ। यो प्रक्रिया लामो समयसम्म जारी रहे सगरमाथाको उचाइसमेत परिवर्तन हुन सक्छ। सगरमाथाको ८ हजार ४३० मिटर उचाइमा रहेको बाल्कोनी, ७ हजार ९४५ मिटर उचाइमा रहेको साउथ कोललगायत अन्य स्थानमा स्थापना गरिएका मौसम–मापन यन्त्रबाट प्राप्त हिउँदयामका तथ्यांकको पहिलोपटक गरिएको समीक्षात्मक अध्ययनले यस्तो नतिजा देखाएको हो। मौसम र जलवायुको क्षेत्रमा काम गर्दै आएको बेलायतको रोयल मेटेरोलोजिकल सोसाइटीद्वारा प्रकाशित वैज्ञानिक जर्नल ‘वेदर’मा नेपाली वैज्ञानिक तेन्जिङ छोग्याल शेर्पाले नेतृत्व गरेको शोधकर्ताहरूको समूहले तयार पारेको प्रतिवेदन प्रकाशित भएको छ। प्रतिवेदनअनुसार सगरमाथा शिखरमा हावाको घण्टागत सरदर चिसोपना सबैभन्दा बढी माइनस ८३ डिग्री सेल्सियस र दैनिक रूपमा सबैभन्दा कम माइनस ७७ डिग्री सेल्सियससम्म झर्ने देखिएको छ। अध्ययनले सगरमाथाको उच्च भूभागमा प्रवाह हुने तीव्र चिसो हावा र न्यून सापेक्षिक आद्र्रताका कारण हिउँद याममासमेत प्रतिदिन २.५ मिलिमिटर पानीबराबरको हिउँको तह उर्ध्वपातनमार्फत नष्ट हुने र यसले अन्ततः शिखरमा हिउँ थुप्रो कम हुँदै जाने देखाएको छ। सन् २०१९ को मे २३ देखि सन् २०२१ को जुन ३० सम्मको अवधिमा उर्ध्वपातनमार्फत ५३९ मिलिमिटर पानीबराबरको हिउँ पग्लिएको अध्ययनले देखाएको छ। याे सोही अवधिमा सतहमा हिउँ पग्लिने प्रक्रियामार्फत हुने हिउँको ह्रासको अनुपातमा ९ गुणाले बढी छ। टाकुरोमा ताजा हिउँ नपरेको अवस्थामा यस्तो हुनसक्ने अध्ययनले देखाएको छ। ‘हिउँको सम्भावित क्षयीकरण र यसले सगरमाथाको उचाइमा पार्नसक्ने प्रभावका आधारमा हरेक वर्ष हिउँ थपिने र बिलाएर जाने विषयमा थप अध्ययन हुनुपर्ने देखिएको छ,’ प्रतिवेदनमा लेखिएको छ। हिउँमा कमी आउँदा भविष्यमा सगरमाथाको उचाइमा पर्न सक्ने प्रभावलाई आकलन गर्न सकिने भएकाले यो अध्ययनको प्रतीकात्मक अर्थ रहेको अध्ययनकर्ताको दाबी छ। विगत २ वर्षका शरद र हिउँद यामका १५० दिनको तथ्यांकका आधारमा उध्र्वपातन प्रक्रियामार्फत यो अवधिमा ०.२८ मिटर पानीबराबरको हिउँ बिलाएको छ। यी तथ्यांकलाई सगरमाथाको चुचुरोमा समेत लागु गर्दा र हिउँको सतही घनत्व ३०० देखि ५०० किलोग्राम प्रतिघनमिटर भएको आकलन गर्दा यो अवधिमा उचाइ ५० सेन्टिमिटरदेखि ९० सेन्टिमिटरले घटेको हुनसक्ने अध्ययनको आकलन छ। सन् २०१९ को मेमा नेसनल जोग्राफिक्स र रोलेक्स माउन्ट एभरेस्ट एक्सपेडिसनले नेपालको जल तथा मौसम विभाग तथा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको जल तथा मौसम विज्ञान केन्द्रीय विभागसँगको सहकार्यमा सगरमाथाको विभिन्न उचाइमा पहिलोपटक ५ वटा स्वचालित मौसम मापन यन्त्र स्थापना गरेका हुन्। तीमध्ये साउथ कोलको उपकरणले बिग्रनुअघि अर्थात् सन् २०२२ को डिसेम्बरसम्मको मौसमी विवरण दिएको थियो। बाल्कोनीमा राखिएको उपकरणमार्फत सन् २०१९ को हिउँदयामको मात्र मौसमी तथ्यांक उपलब्ध भएको थियो। सन् २०१९ को मेमा नेसनल जोग्राफिक्स र रोलेक्स माउन्ट एभरेस्ट एक्सपेडिसनले नेपालको जल तथा मौसम विभाग तथा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको जल तथा मौसम विज्ञान केन्द्रीय विभागसँगको सहकार्यमा सगरमाथाको विभिन्न उचाइमा पहिलोपटक ५ वटा स्वचालित मौसम मापन यन्त्र स्थापना गरेका हुन्। बाल्कोनीमा राखिएको उपकरणलाई २०२२ को मेमा ८,८१० मिटर उचाइमा स्थानान्तरण गरिएको थियो। स्थानान्तरण गरिएको २ महिनापछि यो उपकरणले तथ्यांक पठाउन छाडेको थियो। यो उपकरण स्टेसन विश्वकै उच्च स्थानमा अवस्थित स्वचालित मौसम मापन केन्द्रको रूपमा गिनिज विश्व रेकर्डमा दर्ता छ। यी क्षेत्रमा हावाको गति मापन गर्न एनिमोटिर, विकीरण मापन गर्न नेट रेडियोमिटर तथा भूउपग्रहीय ट्रान्समिसनका लागि थोराया सेटेलाइट मोडेमलगायत संयन्त्र जडान गरिएको छ। यी केन्द्रमा जडित उपकरणमार्फत सगरमाथाको उच्चतम बिन्दुमा फेरबदल भइरहने तापक्रम, हावाको वेग, सापेक्षिक आद्र्रता, विकीरण तथा घाम लाग्ने समयबारे वास्तविक समय (रियल टाइम) का मौसमी तथ्यांक संकलन गरिएको थियो। श्रेष्ठले विश्वको एक चौथाइ जनसंख्या हिमालय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर रहने हुँदा यी तथ्यांकले जलवायु परिवर्तनले जलस्रोतमा पारिरहेको प्रभावलाई बुझ्न पनि सजिलो हुने बताए। जल तथा मौसम विभागका महानिर्देशक कमलराम जोशी ४/५ वर्षसम्मको तथ्यांक समीक्षा गरेर जलवायु परिवर्तनले यो क्षेत्रमा पारेको प्रभावबारे थप जानकारी पाउन सकिने बताउँछन्। यी स्टेसनलाई सन् २०२५ सम्म चालु अवस्थामा राख्न नेसनल ज्योग्राफीसँग थप सम्झौता भइसकेको जोशी बताउँछन्। बिग्रेका स्टेसन मर्मतका लागि हाल टोली स्थलगत भ्रमणमा रहेको जानकारी उनले दिए। अध्ययनमा सहभागी त्रिभुवन विश्वविद्यालय अन्तर्गतको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका उपप्राध्यापक डा. दिवस श्रेष्ठ अध्ययनका क्रममा ३ वर्षका तथ्यांकको समीक्षा भएकाले यसको नतिजा महत्वपूर्ण रहेको बताउँछन्। अध्ययन नतिजाले जलवायु परिवर्तनका कारण सगरमाथाको उचाइमा आउनसक्ने फेरबदल, चुचुरोको मौसम पूर्वानुमान गर्न सहयोग गर्ने, पर्वतारोहीको सुरक्षालाई सहयोग गर्ने तथा वायुमण्डलको माथिल्लो ट्रोपोसफेयरमा हुने मौसमी परिवर्तनका विषयमा महत्वपूर्ण जानकारी दिने श्रेष्ठ बताउँछन्। पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवभन्दा बाहिर हिन्दकुश हिमालय क्षेत्रमा सबैभन्दा धेरै हिउँ रहेको मानिन्छ। यति धेरै आयतनमा रहेको हिउँमा हाल भइरहेको र भविष्यमा हुनसक्ने क्षयीकरणले यो क्षेत्रमा स्वच्छ पानीको आपूर्तिलाई प्रभावित पार्ने तथा जलवायुजन्य जोखिम निम्तिन सक्ने मानिएको छ।

Like