राष्ट्रिय स्वतन्त्र पार्टीको रंग अझै स्पष्ट छैन – अध्यक्ष लिङ्देन

Share to:

रासंसा/कपिलवस्तु, बैशाख १६,

मुलुकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टीको अझै रंग स्पष्ट नभएको बताएका छन्। शनिबार राप्रपाको लुम्बिनी प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न कपिलवस्तु आएका उनले पत्रकारसँग कुरा गर्दै सो कुरा बताएका हुन। वैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपाले उप-निर्वाचनमा राम्रो मतान्तरले २ सिट जितेर राम्रो नतिजा ल्याए पनि अझै उसको रंग भने स्पष्ट हुन नसकेको उनले बताए। राप्रपासहितका कांग्रेस, एमाले, माओवादी जस्ता पार्टीहरुको रङ प्रष्ट भइसकेको तर रास्वपाको रङ प्रष्ट भईनसकेको उनको भनाई छ। हालै सम्पन्न उपनिर्वाचनमा रास्वपाको सफलतालाई राप्रपाले सकारात्मक रुपमा लिएको बताउँदै उनले भने, ‘रास्वपाले २ वटा सिटमा राम्रो मतान्तरसहित जित हात पार्‍यो, यसले आमजनता परिवर्तनको पक्षमा जान थाल्यो भन्ने कुरालाई प्रमाणित गरेको छ।’ उनले रास्वपासंग डराउनुपर्ने स्थितिमा राप्रपा नभएको दाबी गरे। ‘कांग्रेस, एमाले, माओवादी, राप्रपा के हो, रङ प्रष्ट छ,’ उनले भने, ‘त्यसलाई मन पराउने नपराउने छान्ने अधिकार जनतामा छ, तर रास्वपाको रङ प्रष्ट छैन।’ उनले उपनिर्वाचनको मत परिणामले मतदाता विकल्पतर्फ र व्यक्ति केन्द्रित हुदैं गएको भन्ने देखिएको बताए। उनले राप्रपाका मूल एजेन्डालाई केही वर्ष भित्रै कांग्रेस, एमालेसहितका प्रमुख राजनीतिक दलले लिएर अघि बढ्ने परिस्थितिको सिर्जना गर्ने दाबी गरे। उनले आगामी २०८४ मा हुने चुनावबाट संघीय सांसदमा हालको प्रतिनिधित्व १४ औं गुणा बढ्ने र सोही अनुरूपमा काम गर्न पार्टी नेता, कार्यकर्तालाई निर्देशन समेत दिए। अध्यक्ष लिङ्देनले छोटो समय सरकारमा रहँदा ४ वर्षदेखि हुन नसकेको विद्युत् सम्झौता खुल्ला गरेको बताउँदै तमोर, बुढीगण्डकी, दुधकोशी जस्ता जलाशययुक्त आयोजनाहरु बन्ने सुनिश्चितता गरेको दाबी गरे।

Like