सीमा विवादमा धरान र इटहरी उपमहानगरपालिका
रासंसा/सुनसरी, बैशाख १३,
मुलुकमा इटहरी उपमहानगरपालिकाको क्षेत्राधिकारभित्र धरानका मेयर हर्क साम्पाङले सीमा बोर्ड राख्न लगाएपछिको विवाद थप चर्किदै गएको छ। आइतबार दिउँसो मेयर साम्पाङले कर्मचारीलाई बोर्ड राख्न निर्देशन दिएपछि इटहरीको क्षेत्राधिकारभित्र राखिएको बोर्ड युवा संघ इटहरीले उखेलेको थियो। जिल्ला प्रशासनलाई पठाएको माग पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भूमि व्यवस्था एवम् सहकारी मन्त्रालय, धरान उपमहानगरपालिका, इलाका प्रशासन कार्यालय धरान र इलाका प्रहरी कार्यालय इटहरीलाई पठाइएको छ। युवा संघले बोर्ड उलेखेपछि मेयर साम्पाङले कारबाही गर्न उजुरी दिने प्रतिक्रिया सामाजिक सञ्जालमा व्यक्त गरेपछि बोर्ड हटाएको विषयमा कोही कसैलाई कारबाही नगर्न इटहरी उपमहानगरपालिकाले माग गरेको छ। मेयर हेमकर्ण पौडेलले मंगलबार जिल्ला प्रशासन कार्यालय सुनसरीलाई माग पत्रमार्फत बोर्ड हटाएको विषयमा युवा संघ इटहरीमा आवद्ध कोही कसैलाई कारबाही नगर्न माग गरेका छन्। ‘कारबाही गरिएमा त्यसबाट उत्पन्न हुने परिस्थितिको सामाना धरानका मेयर साम्पाङ र कारबाही गर्ने निकाले बेर्होनुपर्नेछ,’ मागपत्रमा भनिएको छ। सीमा विवादलाई वार्तामार्फत समाधान गर्न इटहरीका मेयर पौडेलले धरानका मेयर साम्पाङलाई आग्रह पनि गरेका छन्।