बाढी प्रभावित क्षेत्रका किसान चैते धान रोप्न व्यस्त
रासंसा/कैलाली बैशाख ३,
मुलुकमा कैलालीको भजनीका किसानलाई असारको झैं व्यस्तता छ। उनीहरू सपरिवार दिनभर खेतमा धान रोप्नमै व्यस्त हुन्छन्। कोही बिउ उखेलिरहेका हुन्छन्, कोही खेत जोतिरहेका हुन्छन्, कोही छुपुछुपु धान रोपिरहेका हुन्छन्। कैलालीको भजनीका किसानलाई असारको झैं व्यस्तता छ। उनीहरू सपरिवार दिनभर खेतमा धान रोप्नमै व्यस्त हुन्छन्। जिल्लाको बाढी प्रभावित क्षेत्रका किसान चैते धानतर्फ आकर्षित छन्। उनीहरूले यो बेलामा धान उत्पादन गर्न नसके भोकै बस्नुपर्छ। असारमा रोपेको धान बाढीले बगाउने गर्छ। त्यसकारण धेरैजसो किसान अहिले नै धान रोपेर असारमा खेत बाँझो छोड्छन्। भजनी नगरपालिका-५ का बहादुर डगौराको एघार जनाको संयुक्त परिवार छ। उनीहरूको जीविकोपार्जन कृषि उत्पादनकै भरमा चल्छ। उनको झण्डै तीन बिघाभन्दा बढी जमिन कान्द्रा नदीले बगाइसकेको छ। बचेको जमिनमा समेत बर्सेनि हुने डुबानले उत्पादन हुँदैन। ‘आफ्नो डेढ बिघासहित अरूको ठेक्का र अधियाँ गरी दश विघामा चैते धान लगाइ रहेका छौं’ उनले भने ‘वर्षामा लगाउने हो भने बाढीले लगानी समेत उठ्दैन, गहुँ लगाउँदा जंगली जनावरले खाइदिन्छ, त्यही भएर चैते धान लगाइरहेका छौं।’ बाढीका कारण कहिले फल्नै आँटेको धान बाली बालुवाको थुप्रोले पुरिन्छ त कहिले बगाएर लैजान्छ। यही समस्याबाट गुज्रिरहेका डगौराका लागि चैते धान आम्दानीको मुख्य श्रोत बनेको छ। उनी विगत १० वर्षदेखि चैते धान लगाउँछन्। बाढीका कारण कहिले फल्नै आँटेको धान बाली बालुवाको थुप्रोले पुरिन्छ त कहिले बगाएर लैजान्छ। भजनी नगरपालिका-८ की पार्वती चौधरीको परिवार समेत विगत ६ वर्षदेखि चैते धान लगाउँदै आएको छ। कान्द्रा, मोहना र पथरैया नदीले घेरिएको उनको खेतीयोग्य जमिन वर्षामा तलाऊ बन्छ। ‘वर्षामा हामीले रोप्न छोडेको त ६ वर्ष भइसक्यो, लगाएर पनि काम हुँदैन, मल, बिउ, मेहनत सबै बाढीले बगाउँछ’ उनले भनिन् ‘४ विघामा फागुनमै चैते धान लगाउँछौं, असारमा भित्र्याउँछौं, वर्षामा खाली छोड्छौं, असोजमा तोरी लगाउँछौं, यसरी नै हाम्रो परिवार धानेका छौं।’ डगौराले आफ्नो परिवारको मुख्य आम्दानी नै चैते धान भएको बताए। उनले चैते धानबाट राम्रो आम्दानी हुने भए पनि बर्सेनि बढ्दै गएको डिजेल र मलखादको मूल्यले खेती लगाउन मुस्किल भइरहेको गुनासो गरे। ‘पानीका लागि डिजल चाहियो, मलखाद पनि बेमौसम भएको हुनाले पाइँदैन’ उनले भने ‘यदि पानी र मलखादमा सहयोग हुने हो भने बाढी प्रभावित क्षेत्रका किसानका लागि चैते धान बरदान नै हुन्छ।’ डगौरा र चौधरी मात्रै होइनन् बाढी प्रभावित भजनी नगरपालिकाको वडा नं. ३ र ८ का कृषकहरूको मुख्य आम्दानीको श्रोत नै चैते धान बनेको छ। नगरपालिकाको वडा नं. १, २, ५, ६ समेत गरी भजनीमा मात्रै ६ शय बढी हेक्टरमा चैते धान खेती हुँदै आएको छ। भजनी नगरपालिकाका कृषि तथा पशु सेवा शाखा प्रमुख भेटनरी अधिकृत हरिलाल जैशीले बाढी प्रभावित क्षेत्र हुनाले चैते धान किसानका लागि आम्दानीको श्रोत बनिरहेको बताए। कृषि ज्ञान केन्द्र कैलालीका अनुसार जिल्लाभरि यस वर्ष १ हजार १ सय हेक्टरमा चैते धान खेती लगाइएको छ। जसमध्ये ६ शय हेक्टर भजनी नगरपालिकामा मात्रै छ। कृषि ज्ञान केन्द्र कैलालीका अनुसार जिल्लाभरि यस वर्ष १ हजार १ सय हेक्टरमा चैते धान खेती लगाइएको छ। जसमध्ये ६ शय हेक्टर भजनी नगरपालिकामा मात्रै छ। उनले बाढी प्रभावित क्षेत्रका किसानका लागि मुख्य आम्दानीको श्रोत बनिरहेको चैते धान खेती बिस्तारमा नगरपालिकाले योजना बनाइरहेको बताए। ‘हाम्रो नगरपालिकामा ११ हजार हेक्टर कृषियोग्य जमिन छ, वर्षायाममा झण्डै ३ हजार जमिन बाढीको समस्याका कारण बाँझो रहन्छ’ उनले भने ‘यसमध्ये अहिले ६ सय हेक्टरभन्दा बढी जमिनमा चैते धान खेती भइरहेको छ।’ ‘कृषकका लागि डिजेल र मलखाद तथा बिऊमा अनुदान दिने हो भने चैते धानखेती विस्तार गर्न सकिन्छ’ उनले भने ‘नगरपालिकाले समेत चैते धान खेती बिस्तारका लागि योजना बनाइरहेको छ।’ चैते धान खेती बिस्तारका लागि कृषि ज्ञान केन्द्र कैलाली, विभिन्न स्थानीय सरकार र रानी, जमरा, कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रमले समेत सहयोग गर्दै आइरहेको छ। चैते धान खेती बिस्तारका लागि कृषि ज्ञान केन्द्र कैलाली, विभिन्न स्थानीय सरकार र रानी, जमरा, कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रमले समेत सहयोग गर्दै आइरहेको छ। जिल्लाको भजनी, टीकापुर, घोडाघोडी नगरपालिका र कैलारी, जोशीपुर, जानकी र बर्दगोरिया गाउँपालिकामा चैते धान लगाइन्छ। त्यसमध्ये वर्षामा डुबान हुने क्षेत्रमा चैते धान खेती भइरहेको कृषि ज्ञान केन्द्रका बाली विकास अधिकृत रामनारायण चौधरीले बताए। सिँचाइ सुविधा पुर्याउन सके चैते धान खेतीको उत्पादन प्रतिहेक्टर ६० क्विन्टलसम्म रहेको बाली विकास अधिकृत चौधरीले बताए। ‘बाढीले डुबान हुने क्षेत्रलाई चैते धानमा बढी प्रोत्साहन गर्ने गरिएको छ’ उनले भने, ‘भजनी कैलालीको सबैभन्दा बढी चैते धान लगाउने पालिका हो। बर्सातमा बाढीले जलमग्न हुने भएकाले चैते धान विकल्पका रूपमा गर्ने गरिएको छ।’ ‘चैते धान खेतीले खाद्यान्न उत्पादनसँगै चामल आयात प्रतिस्थापन गर्नमा सहयोग पुर्याइरहेको छ’ उनले भने ‘चैते धानको उत्पादनसँगै बजार सहज भएकाले पछिल्ला वर्षमा चैते धान खेती गर्ने किसान बढ्दै गएका छन्।’ चिउरा उत्पादनका लागि राम्रो मानिने हुनाले चैते धान बिक्री गर्न समस्या नरहेको किसानहरू बताउँछन्। बाढी प्रभावित क्षेत्रका किसानका लागि आम्दानीको मुख्य श्रोत बन्दै गएको चैते धान खेती विस्तारका लागि स्थानीय सरकारले पहल गर्नुपर्ने किसानहरूको माग छ।