‘१० दिन लगातार अनुपस्थित भए सांसद पद खाली हुँदैन?

Share to:

रासंसा/काठमाण्डौ, चैत्र १६,

मुलुकमा प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले एमाले सांसद लक्ष्मी महतो कोइरी संसद्को बैठकमा लगातार अनुपस्थित रहेको भन्दै सांसद पद खारेजीको माग गरेका छन्। ‘संविधानमा लगातार १० वटा बैठकमा अनुपस्थित रहेमा सांसद पद खारेज हुने व्यवस्था छ तर १७ वटा बैठक बस्दा पनि फौजदारी अपराधमा फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी उपस्थित भएको देखिँदैन,’ उनले भने, ‘महोत्तरीबाट निर्वाचित लक्ष्मी महतो कोइरी हराइरहेको सूचना छ। सभामुखलाई जानकारी छ कि छैन जानकारी पाउँ।’ संविधानको धारा ८९ मा सांसदको स्थान रिक्तताको व्यवस्था रहेको छ। सो धाराको खण्ड (घ) मा निज सम्बन्धित सदनलाई सूचना नदिई लगातार दशवटा बैठकमा अनुपस्थित रहेमा सांसद सदस्यको स्थान रिक्त हुनेछ। खतिवडाले अगाडि भने, ‘१० वटा बैठकमा अनुपस्थित भए सांसद पद खारेज हुन्छ भनेको सुनेको थिएँ, एकजना सांसद सभामुखलाई जानकारी दिएर हो कि, जानकारी नदिइकन हो, धेरै पटकदेखि संसदमा देखिएको छैन।’मधेस आन्दोलनका क्रममा प्रहरी नायव निरीक्षक थमन बिकको हत्या अभियोग लागेका कोइरी फरार अभियुक्त हुन्। उनले फरार रहेकै अवस्थामा महोत्तरी–१ बाट यसपटको प्रतिनिधिसभामा निर्वाचित भएका हुन्। उनलाई संसद सचिवालय लेखा शाखाबाट सांसदको पारिश्रमिक भने उपलब्ध भएको छैन।

Like