महिला आर्थिक क्षेत्रमा ‘सशक्त’
रासंसा/काठमाण्डौ, चैत्र १२,
मुलुकमा प्रधानमन्त्री पुष्पकमल दाहालले महिलाहरू पछिल्लो सयममा आर्थिक क्षेत्रमा सशक्त हुँदै गएकोे बताएका छन्। नेपाल उद्योग परिसंघको महिला नेतृत्व शिखर सम्मेलनको शनिबार उद्घाटनका अवसरमा बोल्दै दाहालले महिला हर क्षेत्रमा सक्रियतासाथ अघि बढेको सुनाए। सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, माल्दिस, जर्मनीलगायत मुलुकका राजनीति, आर्थिक, सामाजिक, वातावरणलगायतका क्षेत्रमा स्थापित, रुपान्तरणकारी एवं प्रभावशाली व्यक्तित्वको सहभागिता छ। दुई दिन चल्ने सम्मेलनले कोभिड १९ का कारण महिलामा परेको असर, त्यसका विषयमा छलफल र समाधान खोज्ने छ। सम्मेलनमा लैङ्गिक समानताका विषयसहित महिला नेतृत्वबीच विचार आदानप्रदान गर्ने, साझा रणनीति बनाउने, महिलाका सफलता सुनाउने, महिलालाई प्रोत्साहित गर्ने र एकअर्काबाट सिक्ने अवसर प्राप्त हुने जनाइएको छ। सम्मेलनमा सामाजिक र सूचना प्रविधि क्षेत्रमा उच्च योगदान पुर्याएका म्यागी डोइन र सोनिका मानन्धरलाई इन्स्पायरिङ ओमन अफ द इयरबाट सम्मान गरिएको छ। सम्मेलदनमा उद्यमशीलता प्रबद्र्धनका लागि महिला उद्यमीहरूबाट उत्पादित स्वदेशी वस्तुको प्रदर्शनी समेत गरिएको छ। नेतृत्वमा महिला, अर्थतन्त्रमा महिलाको योगदान, र परिवर्तनका संवाहक महिला विषयमा छुट्टा छुट्टै सत्रमा छलफल भइरहेको छ। सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, माल्दिस, जर्मनीलगायत मुलुकका राजनीति, आर्थिक, सामाजिक, वातावरणलगायतका क्षेत्रमा स्थापित, रुपान्तरणकारी एवं प्रभावशाली व्यक्तित्वको सहभागिता छ। उद्योगी तथा प्रतिनिधिसभा सदस्य विनोद चौधरीले महिला नेतृत्वलाई चुनौतीसँगै अवसर पनि रहेको बताए। क्षमता प्रदर्शन गर्न महिला सक्षम भएको उनले सुनाए। दीगो विकासका लागि आर्थिक रुपमा महिला सहभागिता बढ्नुपर्ने बताए। महिलाको नेतृत्व क्षमता बढाउन समय अनुसारको प्रशिक्षण र शिक्षाको आवश्यकता रहेको उनको भनाइ छ। सरकारले ३३ प्रतिशत महिलाको सहभागिता उल्लेख गरे पनि व्यवहारकमा कार्यान्वयन हुन नसकेको उनले सुनाए। नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जा नीतिले महिलालाई उद्यमी बन्न सहयोग पुर्याएको बताए। उनीहरू उद्यमशील हुन सक्षम भएको अध्यक्ष अग्रवालले जनाए।