आज प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत लिँदै
रासंसा/काठमाण्डौ, चैत्र ६,
मुलुकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक आज विश्वासको मत लिँदैछन्। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने बारेमा संसद्लाई जानकारी गराएका हुन्। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने बारेमा संसद्लाई जानकारी गराएका हुन्। गत पुस १० गते प्रधानमन्त्री बनेका दाहालले पुस २६ मा विश्वासको मत लिएका थिए। त्यतिबेला उनलाई राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक/एक जना सांसदबाहेक सबै दलले विश्वासको मत दिएका थिए। तर, राष्ट्रपति निर्वाचनमा एमाले नेतृत्वको गठबन्धन तोडेर प्रचण्डले कांग्रेसलाई साथ दिएपछि एमालेले फागुन १५ गते समर्थन फिर्ता लिँदै सरकार छाडेको थियो। राप्रपा त्यसको दुई दिनअघि सरकारबाट बाहिरिएको थियो। प्रधानमन्त्री प्रचण्डले सोमबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यसूची संसदले प्रकाशन गरेको छ। यता १० दलीय गठबन्धनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने समझदारी गरेका छन्। नयाँ गठबन्धनमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी र आम जनता पार्टी छन्।