सबै जहाज श्री एयरलाइन्सका ग्राउन्डेड
रासंसा/काठमाण्डौ, फाल्गुण २६,
मुलुकमा भैरहवाको उडानमा जहाजको दायाँ इन्जिनमा आगो लागेको संकेत देखापरेको घटनापछि नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाजलाई अनिश्चितकालका लागि ग्राउन्डेड गरिदिएको छ । यो अवधिमा प्राधिकरणमाहत रहेको फ्लाइट सेफ्टी स्ट्यार्न्डड विभागले उसका सबै विमान उडानयोग्य रहे वा नरहेको प्राविधिक जाँच तथा निरीक्षण गर्ने छ । ‘श्रीका सबै विमानको सुक्ष्म प्राविधिक निरीक्षण हुनेछ । सन्तोषजनक पाइएपछि मात्रै उडानमा फर्काइने छ,’ सहप्रवक्ता भुलले कान्तिपुरसँग भने । प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, प्राधिकरणको यो निर्णयले श्रीले शुक्रबारदेखि कुनै पनि सेक्टरमा उडान गर्न पाउने छैन । योसँग चारवटा सीआरजे र चारवटा ड्यास क्यू–४०० गरी ८ वटा जहाज छन् । यसले काठमाडौंसहित देशभरका नौंवटा सुगम विमानस्थलबाट सेवा प्रदान गर्दै आइरहेको छ । बिहीबार ७८ जना यात्रु बोकेर भैरहवा जाँदै गरेको श्रीको विमानको दायाँ इन्जिनमा आगलागी भएको संकेत ककपिटमा देखिएपछि उक्त विमानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गराइएको थियो । उक्त विमान काठमाडौंमा अवतरण गराइएपछि प्राविधिकहरुको निगरानीमा राखिएको थियो भने त्यसलाई जाँच गर्ने श्रीका दुई प्राविधिकलाई प्राधिकरणले दिउँसै निलम्बन गरेको थियो । यो घटना छानबिन गर्न पाइलट राजेन्द्रमान शाक्यको नेतृत्वमा नागरिक उड्डयन प्राधिकरणले समिति बनाइसकेको छ । समितिलाई शुक्रबारसम्म प्रतिवेदन बुझाउन भनिएको छ । प्राधिकरण मातहत रहेको सेफ्टी स्ट्यान्डर्ड विभागका एक इन्जिनियरले विमानको इन्जिन नै फेर्नुपर्ने बताए । ‘आगोको संकेत देखिएपछि पाइलटले ककपिटबाट आगो नियन्त्रण गर्ने फायर एस्टिङ्गुइसर चलाएका थिए,’ उनले भने, ‘फायर एस्टिङ्गुइसर चलाएपछि त्यही इन्जिनमा विमान उडान मिल्दैन, बदल्नैपर्छ ।’ बिहीबार बिहान काठमाडौंबाट उडेको केहीबेरमै इन्जिनमा फायर वार्निङ (आगोको संकेत) देखिएपछि चालक दलले ९ नोभेम्बर–अल्फा नोभेम्बर रोमियो विमानको दायाँ इन्जिन बन्द गरेर एउटा इन्जिनकै भरमा आपतकालीन अवतरण गराएका थिए । एसएचए–८२१ उडान नम्बरको विमान काठमाडौंबाट ९:३८ मा भैरहवाका लागि उडेको थियो । उपत्यका छाडेर धार्के आसपासको आकाशमा पुगेलगत्तै दायाँ इन्जिनमा आगोको संकेत देखिएपछि ९:५५ मा काठमाडौं अवतरण गराइएको थियो । यसैबीच, नेपालगन्जबाट अघिल्लो बिहीबार बाजुराका लागि उडेको तारा एयरको ९ नोभेम्बर–अल्फा किलो लिमा ट्वीनअटर अवतरणका क्रममा ढोका खुलेको घटनामा संलग्न चालक दलका सदस्यलाई पनि प्राधिकरणले छानबिनका लागि ग्राउन्डेड गरेको छ । विमान जाँचका क्रममा ढोकामा समस्या नदेखिएपछि विमानलाई भने नियमित उडानमा राखिएको छ । घटनाको दोस्रो दिन शुक्रबार प्राधिकरणको सेफ्टी स्ट्यान्डर्ड विभाग र तारा एयरका इन्जिनियरहरू कोल्टी पुगेका थिए । उनीहरूले जाँचपडताल गरेपछि मात्रै विमानलाई उडान अनुमति दिइएको थियो ।