मन्त्री किराँतीले पूर्व मन्त्री पाण्डेलाई फोन गर्दै भने कम्पनी ‘पुल अलपत्र छोडेर सम्पर्कविहीन भएर कता ?
रासंसा/काठमाण्डौ, फाल्गुण २१,
मुलुकमा दक्षिणी भोजपुरको लाइफलाइन मानिएको उदयपुरको मैनामैनी र भोजपुरको चुहार जोड्ने दुधकोशी नदीमाथि मोटरेवल पुलको शिलान्यास हुँदा स्थानीय औधी खुसी थिए। तोकिएको समयमा काम सम्पन्न नगरे पनि कम्पनीलाई फेरि एक वर्ष म्याद थपियो, तर आधा वर्ष बितिसक्दा पनि फिल्डमा निर्माणको काम अघि बढेको छैन। अहिले भोजपुरका जनतामा निराशा र आक्रोश मात्र छैन, ठेकेदार नै सम्पर्कविहीन भइदिँदा निर्वाचित जनप्रतिनिधिहरू जनतालाई जवाफ दिन नसक्ने अवस्थामा छन्। यो पुल प्रदेश सरकार अन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयबाट ठेक्का लागेको हो। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको पुल तेस्रो वर्ष लागिसक्दा पनि नबन्दा स्थानीयको खुसी निराशामा परिणत भएको छ। उदयपुर र भोजपुर दुईतिर पिलर थोरै मात्र उठाएर ठेकेदार कम्पनी गायब छ। मोटरबोटबाट सप्तकोशी तरेर पुल अनुगमन गर्न जादै मन्त्री सुदन किरातीसहितको टोली।
प्रदेश सरकारले बजेट विनियोजन गरेपछि पुलको ठेक्का काठमाण्डौंको कालिका प्यासिफिक जेभिले पारेको थियो। कालिका प्यासिफिक जेभी राप्रपाका सांसद तथा हालै सरकारबाट हटेका मन्त्री विक्रम पाण्डेको कम्पनी हो। सरकारको मन्त्रीसमेत भइसकेका पाण्डेको कम्पनीले कस्तो काम गर्छ भन्ने उदाहरण यो पुललाई हेरे हुन्छ। पुलको शिलान्यास तत्कालीन कोशी प्रदेशका मुख्यमन्त्री शेरधन राईले गरेका थिए। यो पुलको लागी भ्याटसहित २१ करोड २३ लाख १२ हजार ४०७ रुपैयाँको ठेक्का सम्झौता भएको थियो। पुलको ठेक्का सम्झौता २०७७ असोज २१ गते भएको थियो भने २०७९ कार्तिक ४ सम्म काम सम्पन्न गर्ने अवधि थियो। चौतर्फी दबाब पछि दुई साताअघि फागुन १० गते निर्देशनालयले ठेकेदार कम्पनीलाई बोलाएको थियो। प्रतिनिधि आएर एक साताभित्र फागुन १७ देखि काम सुरु गर्ने प्रतिबद्धता जनाएको थियो। तर, आइतबार भोजपुरबाट निर्वाचित सांसद एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ययान मन्त्री सुदन किराँती स्थलगत अनुगमनमा चुहार पुग्दा पुल निर्माणको काम भएको थिएन। निर्देशनालयका प्रमुख जितेन्द्रकुमार कर्ण, इन्जिनियर लक्ष्मीप्रसाद सापकोटालाई लिएर चतराबाट मोटर बाटो हुँदै मन्त्री किराँती अनुगमनमा पुगेका थिए। मन्त्री किरातीले निर्माण कम्पनी पूर्वमन्त्री विक्रम पाण्डेको भएको थाह पाएपछि तत्काल पाण्डेलाई फोन गरेर पुल निर्माणको काम तत्काल सुचारु गर्न आग्रह गरे। ‘यो पुल नबनेसम्म भोजपुरको आर्थिक विकास हुन सक्दैन, अहिले धेरै क्षति व्यहोरिरहेको छ, ’मन्त्री किरातीले भने, ‘यो हाम्रो लाइफलाइन हो। सबैले आआफ्नो ठाउँबाट पहल गरौँ। म केन्द्रमा कस्छुँ। विक्रम पाण्डेलाई बोलाएको छु, म कुरा गर्छु। यही वर्षभित्र बनाइसक्ने गरी काम अघिबढ्नुपर्छ।’ भोजपुरको हतुवागढी गाउँपालिकाकी उपाध्यक्ष सुनिता किरातीले पुल निर्माण नहुँदा कृषकहरूको उब्जनी बजारसम्म पुर्याउन नसकेर कुहिएर खेर गइरहेको बताइन्। स्थानीय जनताले पुल नबनेकै कारण जनप्रतिनिधिहरूलाई बाटो छेकेर आक्रोश पोख्ने गरेको भन्दै उनले गम्भीरतापूर्वक लिएर काम गर्न पनि आग्रह गरिन्। ‘यो पुल जसरी हुन्छ, बन्नु नै पर्छ, ’उनले भनिन्। यातायात पूर्वाधार निर्देशनालयका प्रमुख जितेन्द्रकुमार कर्णले पुलको आवश्यकता र महत्त्व सबैले आत्मसात् गरे पनि निर्माण कम्पनीबाट ढिलासुस्ती भइरहेको बताए। मन्त्रीले पनि विक्रम पाण्डेलाई फोन गरेको र तत्कालै पुनः निर्देशनालयबाट पनि पत्राचार गरेर निर्माण सुचारु गर्न पहल गर्ने उनले बताए। ‘मन्त्री ज्यु आफैले पूर्व मन्त्री विक्रम पाण्डेलाई फोन गर्नुभएको छ। हामीले पनि पहल गरिरहेका छौँ, फेरि पत्राचार गरे। शीघ्रताको साथ काम सक्न पहल गछौं,’उनले भने। हतुवागढीका रमेश हतुवाली चैत र वैशाखभित्र ठेकेदारले निर्माण सामग्री नलगेमा कार्तिक पछि मात्र सहज हुने बताउँछन्। जेठ पछि वर्षा सुरु हुने र बाटो हिलामय भएर सामग्री ढुवानी हुनै नसक्ने उनले बताए। ‘जेठपछि वर्षाले बाटो हिलो हुन्छ, र सामान ढुवानी हुन सक्दैन। कार्तिक पछि मात्र बाटो खुल्छ, यसरी त ६ महिनामा कसरी पुल बन्छ ?’उनले भने। यो पुल निर्माण हुँदा खोटाङको चिसापानी, भोजपुरको सदरमुकामबाट दिङ्ला हुँदै सङ्खुवासभा पनि जोडिने उनले बताए।